काठमाडौँ । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले सांस्कृतिक मञ्चले बृहत सांस्कृतिक महोत्सव आयोजना गरेर संस्कृति जोगाउन ठूलो योगदान दिएको बताएका छन् । विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालले शुक्रवार राष्ट्रिय नाचघर जमल काठमाडौँमा आयोजना गरेको बृहत सांस्कृतिक महोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, भेषभुषामा विविधता रहेको बताउँदै लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने सांस्कृतिक कुराहरूलाई जोगाउन सबैजना लाग्नुपर्ने बताए । त्यस्तै उनले मुकाम मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘मुकाम’ म्यागेजिनको दशौँ अङ्क (आर्थिक–औद्योगिक पर्यटन सर्किट विशेषाङ्क) को विमोचन गर्दै सांस्कृतिक मञ्च नेपालले बृहत सांस्कृतिक महोत्सव आयोजना गरेर र मुकाम म्यागेजिनले विभिन्न ठाउँमा लुकेर रहेका संस्कृतिको प्रकाशन गरेर संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान दिएको बताए ।
उनले भने, ‘सांस्कृतिक झाँकी र नाच जोगाउन सांस्कृतिक मञ्च नेपालले सातै प्रदेशका प्रतिनिधि नृत्य काठमाडौँसम्म ल्याएर सांस्कृतिक महोत्सव आयोजना गर्नु र मुकामले म्यागेजिनका माध्यमबाट सातै प्रदेशमा लुकेर रहेका सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नु आफैँमा उदाहरणीय काम हो ।’
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सबै प्रदेशमा लुकेर रहेका र लोप हुने अवस्थामा पुगेका संस्कृतिको जगेर्ना गर्न सबै प्रदेश सरकारले नीति बनाएर अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा देशभरका सातै प्रदेशबाट आएका सहभागीहरूले लोपोन्मुख, रैथाने, स्थानीय मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए । सांस्कृतिक मञ्च नेपालका अध्यक्ष गणेश रिमालले पर्यटन नै देश विकासको आधार बन्न सक्ने कुरालाई जोड्न सकिने आधार भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘संस्कृतिबिना कुनै पनि कुराको विकास सम्भव छैन । यस्ता खाले कार्यक्रमले एकातिर रैथाने कुराको संरक्षण हुन्छ भने अर्कोतिर त्यसलाई जीविकोपार्जनसँग जोडेर पर्यटन विकासलाई अगाडि बढाउन सकिन्छ भन्ने देखाउन यो कार्यक्रम आयोजना गरिएको हो ।’
कार्यक्रममा दार्चुलाको हुड्केउली छलिया नाच, बझाङको भारीखेल, सोलुखुम्बुको तोशी नाच, जाजरकोटको चर्चित खाँडो नाच, जनकपुरमा देखाइने पमरिया र झरीझरी नाच, रूकुम पश्चिमको सिंगारू नाच, म्याग्दीको पुन समुदायमा चर्चित सोरठी नाच, धादिङको म्हेन्दोमाया नाच, रोल्पाको पैंसेरी नाच, मधेस प्रदेशमा प्रचलित होली नाच गरी १० वटा विभिन्न क्षेत्रका संस्कृति झल्किने नाचहरू प्रदर्शनी गरिएको थियो ।
अविरल झरीका बीच दिउँसो ३ बजे सुरु भएको कार्यक्रम राती ९ बजेसम्म लम्बिएको थियो । सांस्कृतिक मञ्च नेपालले आयोजना गरेको उक्त सांस्कृतिक महोत्सवको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कलगायत विभिन्न सरकारी तथा निजी सङ्घसंस्थाले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





