सरकारले आइतबारको बिदा फिर्ता नलिने

काठमाडौं । सरकारले आइतबार दिइँदै आएको साप्ताहिक बिदा फिर्ता नलिने भएको छ । सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा पत्रकारहरूसँगको छलफलमा आइतबारको बिदा निरन्तर रहने स्पष्ट पारेका हुन् ।

मन्त्री पोखरेलले आइतबार बिदा दिने निर्णयप्रति विभिन्न असन्तुष्टि देखिए पनि कतिपय निर्णय तत्काल लोकप्रिय नहुन सक्ने बताए । उनका अनुसार दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर सरकारले यो निर्णय गरेको हो ।

उनले आइतबारको बिदाका कारण तत्काल केही अप्ठेरो र असहज अवस्था देखिए पनि दीर्घकालीन रूपमा यसले सकारात्मक प्रभाव पार्ने दाबी गरे । हाल सरकारी कार्यालयसँगै बैंक तथा वित्तीय संस्था र केही कर्पोरेट क्षेत्रमा समेत आइतबारको बिदा कार्यान्वयन भइरहेको उनले बताए ।

मन्त्री पोखरेलले निजी क्षेत्रमा पनि आइतबारको बिदा कार्यान्वयनका लागि सरकारले पहल गर्ने जानकारी दिए । बालबालिकाको बिदाका कारण अभिभावकलाई समस्या भएको गुनासो आएको उल्लेख गर्दै उनले अब आइतबार बालबालिकालाई विद्यालय पठाउनेभन्दा अभिभावकलाई समेत बिदा दिने वातावरण बनाउन निजी क्षेत्रसँग अनुरोध र सहकार्य गरिने बताए ।

अन्तर्राष्ट्रिय श्रम बजारमा सातामा दुई दिन बिदा दिँदा कार्यसम्पादनमा सुधार आएको उदाहरण प्रस्तुत गर्दै मन्त्री पोखरेलले नेपालमा पनि त्यसैको सकारात्मक प्रभाव ल्याउन खोजिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै