काठमाडौं । रुस-युक्रेन युद्धमा परी तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो ।
ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार-५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ-६ सुनापती टोलका राज कुमार रोका र इलाम-५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै जना रुसी सेनामा कार्यरत थिए ।
मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो ।
उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन ।
सूचना गोप्य राख्ने प्रयास
यी तीन नेपालीहरुको मृत्यु हुनुअघि गोरखाका थपलिया थरका अर्का एक नेपालीको पनि गत असारमै मृत्यु भएको मिडिया रिपोर्ट सार्वजनिक भइरहेका छन् ।
असार २९ गते मृत्यु भएका भनिएका गोरखाका थपलिया र कात्तिक २९ गते मृत्यु भएका थप तीन जना गरी चारै जनाको विवरण दूतावासले आजसम्म सार्वजनिक गरेको छैन ।
गत असारमा मृत्यु भएका गोरखाका व्यक्तिको शव नेपाल पठाउन नमिल्ने भन्दै रुसमै समाधिस्थ गरिएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहे पनि सरकारी निकायबाट त्यसको पुष्टि हुन सकेको छैन ।
गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले पनि त्यसबारे प्रशासनलाई जानकारी नभएको बताए । ‘अहिलेसम्म त्यस्तो जानकारी छैन, त्यसको पुष्टि भएपछि मात्र भन्नसक्छु,’ उनले भने ।
रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको अपुष्ट सूचना प्राप्त हुनासाथ मस्कोस्थित नेपाली दूतावासलाई राखेको जिज्ञासाको जवाफ पनि दूतावासले दिएको छैन ।
रुसका लागि नेपाली राजदूत मिलन तुलाधर र दूतावासको वेबसाइटमा राखिएका कर्मचारीहरुको सम्पर्क नम्बरमा सम्पर्क गर्दा पनि सम्पर्क स्थापित हुन नसकेपछि दूतावासका दुईवटै इमेल ठेगानामा इमेल पठाएर जिज्ञासा राखिएको थियो ।
नेपालको सेना भर्तीसम्बन्धी सम्झौता भारत र बेलायतसँग मात्र भएकाले रुसी सेनामा भर्ती हुन नीतिगत र कानुनी रुपमा मिल्दैन । यद्यपि अध्ययन वा घुम्ने सिलसिलामा रुस पुगेकाहरु त्यहाँको सेनामा भर्ती भएको पाइएको छ । ‘रुसी सेनामा गोर्खाली’ लेखिएका भिडिओहरु सामाजिक सन्जालमा पनि देखिन्छन् ।
यद्यपि रुसी सेनामा नेपालीहरुको संख्या एकिन हुन सकेको छैन । यस विषयमा परराष्ट्र मन्त्रालय र मस्कोस्थित नेपाली दूतावासले पनि अनभिज्ञता प्रकट गरेका छन् ।
युक्रेनसँगको लडाइँमा रुसले भाडाका सैनिक वाग्नर समूहलाई खटाउने गरेको छ । युक्रेनसँगको लडाइँ सुरु भएपछि रुसले आकर्षक तलब सुविधा पाइने भन्दै भर्ना हुन आह्वान सहितको प्रचार सामग्री बनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






