अनिल पोख्रेल
अधिकृत, नेपाल सरकार
विश्वकै ठूलो नोबेल पुरस्कारका निम्ति योगदान गर्ने अनेकौं छन् । अहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि लिन चाहेको यो पुरस्कारका बारेमा केही रोचक तथ्य यस्ता छन् ।
संस्थापक– स्विडेनका अलफ्रेड बर्नहार्ड नोबेल हुन् जसले डाइनामाइट अर्थात् विस्फोटक पदार्थ बारुदको आविष्कार गरेका थिए ।
स्थापना साल– सन् १८९५ मा अलफ्रेड बर्नहार्ड नोबेलले एक इच्छा पत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका थिए ।
अलफ्रेड बर्नहार्ड नोबेलको निधन– सन् १८९६ को डिसेम्बर १० ।
पुरस्कारका विधाहरू– भौतिक शास्त्र, रसायन शास्त्र, शरीर क्रिया विज्ञान (फिजियोलोजी) वा चिकित्साशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र गरी जम्मा ६ विधा ।
प्रथमपटक पुरस्कार दिइएको साल– भौतिक शास्त्र, रसायन शास्त्र, शरीर क्रिया विज्ञान (फिजियोलजी) वा चिकित्सा शास्त्र, साहित्य र शान्ति तर्फ सन् १९०१ मा । अर्थशास्त्रतर्फ भने सन् १९६९ देखि दिन थालिएको हो ।
हरेक वर्ष डिसेम्बर १० को दिन पुरस्कार वितरण गरिँदै आएको छ । भौतिक शास्त्र, रसायन शास्त्र, शरीर क्रिया विज्ञान (फिजियोलजी) वा चिकित्साशास्त्र, साहित्य र अर्थशास्त्र तर्फका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा दिइन्छ भने शान्ति तर्फको पुरस्कार भने नर्वेको राजधानी ओस्लोमा दिइन्छ ।
हालको प्रति विधा पुरस्कार राशि ९० लाख स्विडिस क्रोन रहेको छ जुन अमेरिकी डलर ९ लाख ३३ हजार ४ सय ८० बराबर हुन आउँछ ।
रुसी साहित्यकार बोरिस पास्तरनाकले सन् १९५८ को साहित्यको नोबेल पुरस्कार प्राप्त गरेका थिए तर तत्कालीन सोभियत सङ्घ प्रशासनले उनलाई सो पुरस्कार अस्वीकार गर्न दबाब दियो । उनी पुरस्कार प्राप्त नगरी मरे र पछि उनको पुरस्कार र मेडल उनका छोरालाई ९ डिसेम्बर १९८९ मा दिइयो ।
फ्रान्सेली साहित्यकार जाँ पल सार्त्र १९६४ को साहित्यको नोबेल पुरस्कार लिन अस्वीकार गरेका थिए । उनको भनाइ थियो– “एउटा लेखकले कहिले पनि आफूलाई संस्थामा परिवर्तन हुन दिनुहुँदैन, चाहे त्यो जतिसुकै सम्मानित किन नहोस् ।”
त्यस्तै गरी भियतनामका राजनेता लि डक थोले सन् १९७३ को नोबेल शान्ति पुरस्कार अस्वीकार गरेका थिए । उनलाई पेरिस शान्ति सम्झौताका लागि अमेरिकाका हेनरी किसिन्जरसँग सो पुरस्कार दिइएको थियो तर उनले भियतनाममा वास्तविक शान्ति छैन भनी पुरस्कार अस्वीकार गरेका थिए। उनलाई विजेता घोषणा गरेको चार महिनापछि भियतनाममा युद्ध सुरु भएको थियो ।
१९३८ देखि १९४८ सम्म पाँचपटक नामाङ्कित गरिए तापनि महात्मा गान्धीले नोबेल पुरस्कार कहिल्यै पाएनन् । महात्मा गान्धीलाई नोबेल शान्ति पुरस्कार नदिनु ठूलो भुल थियो भनी वर्षौंपछि नोबेल समितिले सार्वजनिक रूपमा पछुतो व्यक्त गरेको थियो ।
साहित्यका क्षेत्रमा नोबेल पुरस्कार सबैभन्दा विवादित बनेको छ । लियो टोल्सटोय, हेनरिक इब्सन, मार्क ट्वेनजस्ता साहित्यिक हस्तीहरूले नोबेल पुरस्कार पाएनन् । लिओ टोल्सटोयलाई १९०२ देखि १९०६ सम्म लगातार नामाङ्कन गरियो तर उनले पुरस्कार पाएनन् ।
भारतीय लेखक आर.के. नारायणनलाई धेरैपटक नामाङ्कित गरिएता पनि उनले नोबेल पुरस्कार पाएनन् ।
रसायनशास्त्री दमित्री मेन्डेलिभले तत्त्वहरूको पहिलो पेरियोडिक तालिका निर्माण गरेता पनि उनले कहिल्यै नोबेल पुरस्कार पाएनन् ।
सन् १९७६ को अर्थशास्त्रको पुरस्कार अमेरिकी अर्थशास्त्री अल्फ्रेड फ्रिडम्यानलाई दिइएको थियो । यस पुरस्कार प्रति विश्वस्तरमा विरोध जनाइएको थियो किनकि फ्रिडम्यानको सम्बन्ध चिलीका तानाशाह अगस्टो पिनोसोसँग थियो ।
२००९ को शान्ति पुरस्कार प्राप्त गर्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाको हकमा पनि विवाद भएको थियो । नोबेल समितिको यो निर्णय अत्यन्त अपरिपक्व र पक्षपाती भएको आरोप लागेको थियो । उनी आफैँले पनि यो पुरस्कार पाउँदा “आश्चर्यचकित” भएको खुलासा गरेका थिए तर अस्वीकार भने गरेनन्।
१९९४ को शान्ति पुरस्कार यासिर अराफात, सिमोन पेरेज र आइज्याक रबिनलाई मध्यपूर्वमा शान्ति प्रक्रियामा योगदान दिएका कारण दिइएको थियो । कारे क्रिस्टियानसेनले अराफातलाई दिइएकामा आपत्ति जनाउँदै नोबेल समितिबाट राजीनामा समेत दिएका थिए ।
१९९१ को नोबेल शान्ति पुरस्कार बर्माकी नेत्री आङसाङ् सुकीलाई प्रदान गरिएको थियो । पछि बर्माबाट रोहिङ्ग्या मुसलमानलाई खेदेपछि उनले प्राप्त गरेको पुरस्कारविरुद्ध ठूलो विरोध उब्जिएको थियो ।
१९८९ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने दलाई लामा थिए । यसको विरोध चीनले गरेको थियो ।
‘बोसोन’ को अवधारणा सम्बन्धित काम गर्ने अनेक वैज्ञानिकहरूलाई भौतिकशास्त्रको नोबेल पुरस्कार दिइयो तर ‘बोसोन’, अर्थात् बोस आइन्स्टाइन स्टाटिस्टिक्स र बोस आइन्स्टाइन कन्डेन्सेटका जन्मदातामध्येका प्रमुख सत्येन्द्रनाथ बोसलाई पुरस्कार दिइएन ।
सन् २०१० को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट एड्वाड्र्सलाई दिइयो तर क्याथोलिक चर्चले यसको कडा विरोध गरेको थियो । उनलाई कृत्रिम गर्भाधान (इनभिट्रो फर्टिलाइजेसन)को प्रविधि विकास गरेकामा सो पुरस्कार दिइएको थियो।
हालसम्म सबैभन्दा बढी नोबेल पुरस्कार पाउने देश अमेरिका हो भने त्यसपछि जर्मनी, बेलायत र फ्रान्स पर्छन् ।
हालसम्म चार जनाले दुईपटक नोबेल पुरस्कार पाइसकेका छन् । तर, म्यारी क्युरी मात्र एक महिला हुन् जसले दुईपटक नोबेल पुरस्कार जितिन् । पहिलो सन् १९०३ मा फिजिक्स (रेडियोएक्टिभिटी)मा र अर्को सन् १९११ मा केमेस्ट्री (पोलिडिनम वा रेडियमको खोज)मा उनले पुरस्कार पाएकी हुन् । क्युरीको परिवारले आजसम्म पाँचवटा नोबेल पुरस्कार पाइसकेको छ । त्यसैले उनको परिवारलाई ‘नोबेल मेसिन’ को नामले चिनिन्छ ।
हालसम्म केवल दुई जनाले मात्र ‘नोबेल र ओस्कार’ दुवै पुरस्कार हात पारेका छन् । तीमध्ये पहिलो जर्ज बर्नाड शा हुन् भने दोस्रो बब डाइलन हुन् । शालाई सन् १९२५ मा साहित्यमा नोबेल पुरस्कार दिइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयः नौ विधेयक संसदमा पेस गर्ने
- राष्ट्रपति पौडेलसँग रास्वपा सभापति लामिछानेको भेटवार्ता
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

ट्रेन्डिङ
खबरमुकाम







