भरतपुर । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गरेको हो ।
विभागका प्रमुख पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारी थापाका अनुसार गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माण गरिएको छ । निर्माण कम्पनीले काम सम्पन्न गरेको भए पनि केही त्रुटि भेटिएपछि सुधारका लागि केही समय दिइएको उनले जानकारी दिइन् । यही माघभित्र पुनःनिर्माणको सबै काम सकिने उनले बताइन् ।
“पहिला गढीको जस्तो स्वरुप थियो, त्यस्तै पुनःनिर्माण गरेका छौँ”, थापाले भनिन्, “सुख्खा पर्खालमा चुन र इँटाको धुलो प्रयोग गरिएको छ ।” उनले ठूलो गढीसँगै सानो गढी र पञ्चकन्य मन्दिर रहेको भन्दै त्यसको पुनःनिर्माणका लागि बजेट प्रस्ताव गरिएको बताइन् । उनले सो क्षेत्रमा तीन वटा गुफा रहेको भन्दै त्यस क्षेत्रको बृहत् अध्ययन आवश्यक रहेको बताइन् ।
चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी राप्ती नगरपालिका–१३ मा पर्छ । नगरपालिकाका प्रमुख शमशेर लामाका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम गरिएको छ । त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिएको उनले बताए ।
“गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाएका छौँ”, प्रमुख लामाले भने । गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गर्ने उनले जानकारी दिए ।
“प्रारम्भिक कामका रुपमा जीर्णोद्धार गरिएको छ”, प्रमुख लामाले भने, “त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ ।” ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको उनको भनाइ थियो ।
“नियमित स्थलगतरुपमा निरीक्षण गरेका छौँ, यहाँ पर्यटनको प्रचुर सम्भावना छ”, नगरप्रमुख लामाले भने । उनले त्यस क्षेत्रमा रहेको कैलाश पर्वत (सोलीघोप्टे पहाड) मा तान्द्राङदेखि केबलकार निर्माणका लागि अध्ययनको तयारी भइरहेको जानकारी दिए ।
गढी पुनःनिर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष श्रेष्ठले पुरातत्व विभागमार्फत २०८० साल जेठ १६ गते सम्झौता गरेर काम गरिएको बताए । उनका अनुसार सम्झौताको म्याद पुस १५ मा सकिएको छ । “डेढ महिनाका लागि विभागबाट समय दिनुभएको छ”, उनले भने, “माघ महिनाभित्र सबै काम सम्पन्न गर्छौं ।” तीन सय २२ मिटर क्षेत्रफलमा फैलिएको गढी रु ३५ लाखमा बजेटमा पुनःनिर्माणको काम गरिएको उनले बताए ।
कान्द्राङगढीमा सेनकालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन् । लिखितरुपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन् । राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले कान्द्राङगढी संरक्षणको अभावमा जीर्ण बनेको भन्दै यसको संरक्षणमा जुटेको बताए । “यो पुर्खाले धेरै मेहनतका साथ निर्माण गरेको गढी हो, यसको महत्व भविष्यका सन्ततिका लागि झन बढ्नेछ”, उनले भने ।
गढीको सुरक्षाका लागि प्रहरीचौकी स्थापना गर्नुपर्ने बताउँदै वडाध्यक्ष प्रजाले त्यसका लागि पहल भइरहेको जानकारी दिए । “गढीको संरक्षण गर्दै यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ”, उनले भने, “घुम्न आउनेलाई खाने बस्ने ठाउँको व्यवस्था गर्ने योजना बनाएका छौँ ।”
स्थानीय इन्द्रबहादुर चेपाङले ५६ दिनदेखि नियमितरुपमा गढी पुनःनिर्माणमा खटिएको बताए । उनले ढुङ्गा र पानी बोकेर गढी निर्माण गरिरहेको बताए ।
राप्ती नगरपालिका–१३ हर्राबिसौनीस्थित राष्ट्रिय आधारभूत विद्यालय हर्राबिसौनीका शिक्षक ईश्वर रिजाल यो ठाउँ पहिलेको मुख्य भन्सार र आर्मी बस्ने ठाउँ रहेको बताए । “अङ्ग्रेजसँग युद्ध हुँदा लडेको ठाउँ हो यो”, उनले भने, “गढीको पुनःनिर्माणपछि यसलाई पर्यटकीयस्थल बनाउनुपर्छ ।” पानी नहुँदा पनि यस क्षेत्रमा तरकारीखेती राम्रो हुने भन्दै उहाँले यहाँका चेपाङ समुदायको जीवनस्तर सुधार्न गढीले सहयोग पु-याउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो



ट्रेन्डिङ
खबरमुकाम







