त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालक दावा लामाको मृत्यु भएको छ । काभ्रेको पनौती निवासी २५ वर्षीय लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको हो । 

अस्पतालका बर्न प्लास्टिक सर्जन डा. शंकरमान राईका अनुसार लामाको सोमबार साँझ नै मृत्यु भएको हो । काठमाडौँ प्रहरी परिसरका एसपी पवन भट्टराईले पनि उनको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार लामाको साँझ करिब सवा ७ बजे मृत्यु भएको थियो ।

सोमबार दिउँसो करिब साढे १२ बजे त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिराखेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो । घटनाका क्रममा बसमा कुनै यात्रु भने थिएनन् ।

प्रहरीका अनुसार ट्राफिक प्रहरीसँग भएको सामान्य विवादपछि चालक लामाले आफैँ बसमा आगो लगाएको प्रारम्भिक विवरण छ । आगलागीमा परी उनी गम्भीर घाइते भएका थिए ।

घटनाको वास्तविक कारण तथा परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सात सदस्यीय छानबिन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेको संयोजकत्वमा गठित समितिलाई घटनाबारे अध्ययन गरी आवश्यक प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा प्रहरी वृत्त कालीमाटीका प्रहरी नायब उपरीक्षक नरेश सिंह, ट्राफिक प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काठमाडौँका प्रमुख अनुसन्धान अधिकृत सुरेश केसी, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका प्रतिनिधि धर्मराज रिमाल, नेपाल यातायात स्वतन्त्र मजदुरका प्रतिनिधि भीम ज्वाला राई तथा रिद्धिसिद्धि यातायात प्रालिका लव केसी सदस्य रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै