Dark

अभिनय र गायनमा जमेकी इब्सल सन्ज्याल

कञ्चनपुर  । ‘न्याउला चडिय हिउँचुली लागेका घाम झल्ल धेकियाको, न्याउला चडिय साईका भाग मैले पर्नु कर्म लेखियाको’

  ‘न्याउला चडिय हिउँचुली लागेका घाम झल्ल धेकियाको, न्याउला चडिय साईका भाग मैले पर्नु कर्म लेखियाको’
    ‘न्याउला चडिय.........

नेपाली सांगीतिक क्षेत्रमा सानै उमेरमा जमेकी गायिका इब्सल सन्ज्यालको यो गीत सुदूरपश्चिम र कर्णाली क्षेत्रमा चर्चामा छ। गायनमा मात्रै नभई अभिनयमा पनि त्यत्तिकै दख्खल राख्ने उनी पछिल्लो समय प्रत्यक्ष दोहोरी गीत गाएर चर्चामा छिन्। उनको ‘फ्यान फलोइङ’ पनि निकै राम्रो भइसकेको छ।

बाल्यकालदेखि नै नृत्यमा औधी चाहना राख्ने उनले सुदूरपश्चिमको ठाडी भाका ‘पापी बुढीगङ्गा’ बाट कला क्षेत्रमा डेब्यु गरेकी थिइन्। ‘गायनभन्दा पनि अभिनयमा मेरो रुचि थियो एकपटक गाएर हेरौँ भन्ने लाग्यो’, सन्ज्यालले भनिन्, ‘गायनमा लागेपछि राम्रो प्रतिक्रिया आयो श्रोता, दर्शकले रुचाउनुभयो।’ उनको जन्म २०६१ सालमा बाजुरा जिल्लामा भए पनि त्यसपछिको बाल्यकाल कालिकोटको पचालझरना गाउँपालिकामा बित्यो।

उनका लागि सामाजिक सञ्जाल टिकटक आफ्नो प्रतिभा देखाउने माध्यम बन्यो। जसले गर्दा सानै उमेरमा चर्चामा आइन्। यहाँको सांस्कृतिक पहिचानसहित देउडा गाएको भिडियो सामाजिक सञ्जाल टिकटकमा राख्न थालेपछि उनी चर्चामा आएकी हुन्। ‘सुरुआतमा मैले झल्को लाली ओठको, बाटो खुल्यो मोटर खुल्यो जुम्ला कालिकोटको गीत गाएँ’, उनले भनिन्, ‘त्यो गीतले मलाई चर्चामा ल्यायो।’ त्यसपछि गायनमा र अभिनयमा माग हुन थालेको उनले बताइन्।

पछिल्लो समय देउडा र लोक दोहोरी गीत गायनसँगसँगै अभिनयमा समेत लागेको उनको भनाइ छ। पछिल्लो समय उनी प्रत्यक्ष दोहोरी कार्यक्रममा युवापुस्तामाझ निकै लोकप्रिय बनेकी छन्। उनले नेपालका ख्यातिप्राप्त लोक दोहोरी गायकहरूसँग दोहोरी गीत गाइसकेकी छन्।

देउडा र लोकदोहोरी दुवैलाई सँगै अघि लैजान चाहेको सन्ज्यालले बताइन्। ‘मैले प्रत्यक्ष दोहोरी त दुई सय बढी गाइसकेको छु’, उनले भनिन्, ‘अहिलेसम्म १५ वटा जति गीत रेकर्डिङ भइसकेका छन्।’ उनले देउडा गीतमार्फत आफ्नो ठाउँको कला, संस्कृति चिनाउने गरी कला क्षेत्रमा लागेको बताइन्। पछिल्लो समय उनका ऐँसेलु, न्याउला चडिय, सुइना, मुटुको टुक्रा, मालु पात र झुपडी लगायतका गीतमा स्वर तथा अभिनय गरेकी छिन्। ‘सुदूरपश्चिमका दर्जन बढी देउडा गीतमा अभिनय गरिसकेकी छु, प्रत्यक्ष दोहोरीमा दुई सय बढी गीत गाएको छु’, सन्ज्यालले भनिन्।

आफ्नो नृत्य र अभिनयप्रतिको रुचि र बुवाआमाको प्रेरणाले नै यो सांगीतिक क्षेत्रमा अघि बढिरहेको उनको भनाइ छ। पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रम र मेला महोत्सवमासमेत माग हुन थालेको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै