Dark

मुग्लिन पोखरा सडक : पश्चिम खण्डमा काम अगाडि बढेपछि स्थानीयवासी खुसी

 दमौली । मुग्लिन पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डमा कामले गति लिएपछि स्थानीयवासी खुसी भएका छन् । तनहुँको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा काममा प्रगति नभएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले दुई पटक स्थलगत निरीक्षण गरेका थिए । 

काममा प्रगति नभएपछि ठेक्का तोड्नेसम्मको तयारीपछि निर्माण व्यवसायीले कामलाई तीव्रता दिएका हुन् । उक्त खण्डमा कामले गति लिएपछि स्थानीयवासी आशावादी बनेका छन् । धुलो र हिलाम्य सडकले यात्रा गर्न कष्टकर भइरहेको अवस्थामा कालोपत्रको काम अगाडि बढेपछि सहज हुने आशा पलाएको स्थानीयवासी विमल प्रधानले बताए ।

म्याग्दे गाउँपालिका–२ जामुनेका प्रधानले जामुने बजारमा सडक कालोपत्रको काम भइरहेको जानकारी दिँदै उनले भने, “यो खण्डमा काम निकै सुस्त थियो । जसकारण यात्रा गर्न निकै कष्ट बेहोर्नुपरेको छ । अहिले कालोपत्रको काम अगाडि बढ्दा केही राहत हुनेमा खुसी छौं ।” धुलो र हिलोलेले आजित भएका स्थानीयवासी कालोपत्र सुरु भएपछि हर्षित भएको म्याग्दे गाउँपालिका–३ धयरेका  अनिल क्षेत्रीले बताए ।

उनले भने, “सडक विस्तारको काम सुरु भएको लामो समयपछि कालोपत्रको काम अगाडि बढ्दा स्थानीयवासी खुसी छन् । धुलो, हिलो र खाल्डाखुल्डी सडकले आजित बनाएको थियो ।”  पश्चिम खण्डमा हालसम्म एक दशमलव पाँच किमि खण्ड कालोपत्र भएको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको जामुनेदेखि पोखरासम्मको खण्डमा हालसम्म काम सुरु भएको दस दिनमा डेड किमि सडक कालोपत्र भएको छ । ”

पश्चिम खण्डमा गत माघ १२ गतेदेखि पहिलो पटक कालोपत्रको काम सुरु भएको थियो । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले तीन ठाउँमा कालोपत्रको काम गरिरहेको आयोजनाका इञ्जिनीयर हेम श्रेष्ठले जानकारी दिए । उनका अनुसार म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र हलेदीमा कालोपत्र भएको छ ।

सोही ठाउँमा थप कालोपत्रका लागि काम भइरहेकाले हाल एकतर्फी कालोपत्रका लागि काम अगाडि बढेको छ । काम रोकिदैन निरन्तर हुन्छ । मुग्लिन पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट कालोपत्र सुरु गरिएको थियो ।

पश्चिम खण्डका इञ्जिनीयर एवं सूचना अधिकारी नारायण पौडेलका अनुसार फेबु्रअरीको अन्तिमसम्म एकतर्फी रुपमा पाँच किलोमिटर खण्ड कालोपत्र गर्ने लक्ष्य छ । पहिलो चरणमा एकतर्फी मात्रै कालोपत्र हुने र एकतर्फीको काम अगाडि बढेपछि दुईतर्फी नै कालोपत्र गरिने उहाँले जानकारी दिनुभयो । सडक आयोजनाले अस्फाल्ट प्रविधिबाट कालोपत्रको कामलाई अगाडि बढाएको हो । यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति  छ । 

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । पश्चिम खण्डमा हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ ।

यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । यता पूर्वी खण्डमा भने १९ दशमलव पाँच किलोमिटर सडकखण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म उक्त दूरीमा कालोपत्र सकिएको हो । मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए ।

त्यसमध्ये ७.२ किलोमिटर खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ । पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको छ । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम समेत सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल बन्दैछ । 

पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । एकचालिस दशमलव४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै