म्याग्दी । मुस्ताङको लोमान्थाङ चक्रपथ स्तरोन्नति भएको छ। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ आयोजना कार्यक्रममार्फत लोमान्थाङ चक्रपथको १० दशमलव पाँच किलोमिटर स्तरोन्नति भएको हो। लोमान्थाङ गाउँपालिकाको १, २ र ५ नम्बर वडालाई जोड्ने यो सडक बेनी-जोमसोम-कोरला राष्ट्रिय राजमार्गको लोमान्थाङ–नेचुङ खण्डको वैकल्पिक हो।
गाउँपालिकाको केन्द्र लोमान्थाङदेखि ढिङ्गर–चुमजुङ–न्याम्डो हुँदै छोसेरको नेचुङ भन्सार जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल गरी स्तरोन्नति गरिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले जानकारी दिए।
‘पन्चानब्बे प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको यो सडकको ठेक्का टुङ्ग्याउने तयारी गरेका छौँ’, उनले भने, ‘प्राविधिक टोलीले नापजाँच सकेको छ। काम सकेको जानकारी गराएको निर्माण व्यवसायीले भुक्तानी मागेको भने छैन।’
इमाडोल कन्ट्रक्सनले विसं २०७६ साउन ६ गते ठेक्का सम्झौता गरेको यो योजना विसं २०७७ फागुन ७ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। पेस्कीबापत लगेको रु ९७ लाख फिर्ता गरेर जमानत जफत र कारबाही प्रक्रिया अघि बढाएपछि निर्माण व्यवसायीले गत जेठमा काममा फर्किएर पूर्णता दिएका हुन्। यो सडक निर्माण अवधि कोरोना महामारी, भौगोलिक विकटता र प्रतिकुल मौसमका कारण लम्बिएको निर्माण कम्पनीका प्रतिनिधि सुदीप खड्काले बताए।
सार्वजनिक खरिद ऐनको संशोधन भएपछि अन्तिम भुक्तानीका लागि विल पेस गर्ने उनले बताए। रु २१ करोड १७ लाखमा ठेक्का सम्झौता भएको सडकको भेरियसन अर्डर गर्ने क्रममा लागत बढेर रु २४ करोड पुगेको छ। हालसम्म रु १८ करोड भुक्तानी भइसकेको छ। सडकको घुम्ती, ग्रेड सुधार र नाली निर्माणका साथै आठ मिटरका दरले ग्राभेल भएको पूर्वाधार विकास कार्यालय मुस्ताङका सडक इञ्जिनियर दिलीप उप्रेतिले बताए।
राष्ट्रिय राजमार्गको विकल्पका साथै धेरै बस्तीलाई छुने भएकाले यो सडकलाई रणनीतिक महत्वको मानिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले बताए। स्थानीयवासी, पर्यटक र व्यवसायीलाई गाउँपालिकाको केन्द्र र कोरला नाका आवतजावतका साथै ढुवानी र निकासीमा सहज भएको छ।
लोमान्थाङदेखि पुवा हुँदै चक्रपथको किमलिङ जोड्ने तीन दशमलब पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी भएको छ। गतवर्ष गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा यो सडकको मार्ग खोलेको थियो। यसैगरी न्यानो-सम्जोङ-छोसेर-चेनुङ जोड्ने अर्को छ दशमलव पाँच किलोमिटर सडक स्तरोन्नतिको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







