सुजन काफ्ले
दोलखाको शैलुङमा निर्माणाधीन अवस्थामा रहेको शैलुङ ग्रेटवाल पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको सो ग्रेटवाल घुम्न जानेको सङ्ख्याको वृद्धि हुँदै गएको छ ।
धार्मिक तथा पर्यटकीय स्थल शैलुङ जाँदा शैलुङ ग्रेटवालमा पनि पर्यटकहरू बाक्लिन थालेको हो । प्राकृतिक दृश्यावलोकन र सुन्दरताका कारण सो ग्रेटवाल अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले बताए । ग्रेटवाल हेर्न र शैलुङमा ध्यान, अध्ययन, अनुसन्धान तथा अवलोकन गर्न विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।
ग्रेटवालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको बताउँदै उनले शुक्रबार शनिबार र बिदाको दिन पर्यटकको सङ्ख्या उल्लेख्य रहने जानकारी दिए । नयाँ वर्षमा मात्रै करिब २० हजार पर्यटक ग्रेटवाल हुँदै शैलुङ डाँडासम्म पुगेको न्यौपानेको भनाइ छ ।
पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवर्द्धन गर्नका लागी मिनी ग्रेटवाल निमार्णको काम सुरु गरिएको थियो । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शैलुङ गाउँपालिकाको संयुक्त लगानीमा शैलुङ ग्रेटवाल निर्माण गरिएको हो । शैलुङ गाउँपालिकाको कालापानीदेखि डाँफेढुङ्गा ९ सय ५० मिटरसम्म निर्माणको डिपिआर तयार गरिए तापनि अहिले ५ सय मिटर मात्र ग्रेटवाल निर्माण भइरहेको गाउँपालिकाले जनाएको छ ।
ग्रेटवाल निर्माणको लागि सङ्घीय सरकारको ७० प्रतिशत र शैलुङ गाउँपालिकाको ३० प्रतिशत बजेट रहेको छ । प्रारम्भिक चरणमा ५ सय मिटर ग्रेटवाल निर्माणका लागि ४ करोड ९४ लाख १५ हजार ४ सय १८ रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
नेदरल्यान्डका पर्यटकहरूले समेत शैलुङ ग्रेटवाल अवलोकनसँगै शैलुङडाँडाको भ्रमण गरेका छन् । नेदरल्यान्डका नागरिकहरू हरेक वर्ष शैलुङ घुम्न आउने गरेको शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलालले बताए ।
सरकारले नेपालका सय वटा पर्यटकीय स्थलमा पर्यटन पूर्वाधार निर्माण गर्ने अभियान अन्तर्गत शैलुङमा ग्रेटवाल निर्माणको लागि प्रस्ताव गरिएको थियो । शैलुङ गाउँपालिकाका पूर्वअध्यक्ष भरत दुलालले सङ्घीय सरकारले पर्यटकीय गन्तव्य निर्माणका लागि सहयोग गर्ने भएपछि शैलुङलाई मुख्य पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ गाउँपालिकाले ग्रेटवाल निर्माणको प्रस्ताव गरेको दुलालले बताए । ग्रेटवाल निर्माण भएपछि शैलुङलगायत यस क्षेत्रमा पर्यटकको आकर्षण बढ्ने उनले बताए ।
ग्रेटवाल निमार्णलाई थप व्यवस्थित बनाउन आगामी वर्ष थप बजेट विनियोजन गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ । काठमाडौँबाट सिन्धुपाल्चोकको मुडे हुँदै मिनिग्रेटवाल हुँदै शैलुङ पुग्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




