देउखुरी, रासस । घोराही उपमहानगरपालिका ५ धर्नामा रहेको धारपानीमा पर्यटकीय गतिविधि बढेको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेपछि यहाँ चहलपहल बढेको हो ।
धारापानी घुम्न आएका राजापुर नगरपालिका ३ मुरैयाका शिला आचार्यले साथीहरू माझ चर्चा चलेकाले घुम्न आएको बताए । “धारापानीको चर्चा धेरै सुनेकाले घुम्न आएको हुँ, यहाँ आउन पाउँदा निकै खुसी लागेको छ”, उनले भने । त्रिशूल, ऊँ पोखरी मन्दिरभित्र रहेको पार्क रमाउन पाउँदा आनन्द महसुस गरेको उनले सुनाए ।
धारापानीमै तुलसीपुर उपमहानगरपालिका १९ का सविन केसी पनि भेटिए । शनिबारको दिन साथीहरूसँग वनभोजका लागि धारापानी आएको उनले सुनाए ।
अरूले भनेको र सुनेकोभन्दा आफूले प्रत्यक्ष देख्न पाउँदा निकै फरक हुने भन्दै उनले यो क्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने बताए । पछिल्लो समय पार्कसहितको पोखरी निर्माणले यहाँको सौन्दर्य बढाएको छ । घोराही बजारदेखि नौ किलोमिटर दक्षिणमा पर्ने धारापानी मन्दिरमा निजी सवारी साधन, सार्वजनिक बस तथा अटोरिक्साबाट सजिल पुग्न सकिन्छ ।
सो स्थानसम्म पुग्ने सडक पक्की भएकाले स्थानीय र बाह्य पर्यटकको उपस्थितिले चहलपहल बढेको स्थानीयको भनाइ छ । धारपानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको त्रिशूल निर्माण गरिएको छ ।
पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउनेको सङ्ख्या बढ्न थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । दाङलगायत छिमेकी जिल्लाबाट पर्यटक आउने गरेको उनले सुनाए । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको उनको बुझाइ छ ।
“दाङ आउने अधिकांश मानिस धारापानी पुगेको जस्तो लाग्छ”, उनले भने, “वनभोजका लागि यहाँ बाहै महिना भिडभाड हुने गरेको छ ।” अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ बर पिपल जोडी, १०८ समीका वृक्ष, ऊँ कुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटकको मनै लोभ्याउँछ ।
मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले धामदेखि करिब दुई सय किलोमिटर दक्षिण डाँडामाथि सुनकोटमा भगवतीको मन्दिरसम्म पुग्नलाई चार हजार नौ सय ६३ सिँढी बनाउने काम सुरु भएको बताए । गेट निर्माण, पार्किङको व्यवस्था, सिमसार क्षेत्र, तलाउ, टापुलगायतका संरचना गुरुयोजना अनुसार बनेका छन् ।
गुरुयोजना दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए । सुनकोटमा देवीको मन्दिर तयार गरेर भइसकेको छ । धारापानी धामलाई धार्मिक ग्रामका रूपमा विकसित गर्नका लागि दुई वटा खाजा घर, १२ वटा पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले जानकारी दिए ।
कोसेली घर स्थापना
घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।
दाङमा उत्पादन हुने माटोको भाँडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की, सिमठारो चामलजस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए । आन्तरिक र बाह्र पर्यटकलाई स्थानीय उत्पादन चिनाउने र स्थानीयवासीले उत्पादन गरेको वस्तु बिक्री केन्द्र गर्ने माध्यम भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




