सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान नगरपालिका–१५ स्थित ‘हात्तीदह सिमसार’ क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ । विसं २०८० मा एक लाख २५ हजार आन्तरिक तथा बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।
हात्तीदह सिमसार तथा पर्यटकीय क्षेत्र संरक्षण तथा सञ्चालक समितिका अध्यक्ष रुद्रनारायण चौधरीले सिमसार क्षेत्र संरक्षण गरी पर्यटकीय क्षेत्र विकास गरेको छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको बताए ।
“छोटो समयमै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ । यसले हामीलाई उत्साहित बनाएको छ”, अध्यक्ष चौधरीले भने, “आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँछौँ ।”
डिभिजन वन कार्यालय, लहानको जैविक विविधता साथै पर्यापर्यटनका लागि सहयोग, लहान नगरपालिकाले सडक बाटोे निर्माण तथा मर्मत, दिवङ्गत नेता प्रदीप गिरीको सङ्घीय संसदीय विकास कोषबाट खानेपानी ट्याङ्की निर्माण, वडा नं १५ ले विद्युतीकरण र खानेपानी धारा जडान, बृहत् जलाधार व्यवस्थापन कार्यलय उदयपुर र राष्ट्रपति चुरे संरक्षण विकास कार्यालयले वनभोजस्थल निर्माण र पर्यापर्यटन प्रवद्र्धन गर्न सहयोग गरेपछि यस क्षेत्रको विकास सम्भव भएको अध्यक्ष चौधरीले जानकारी दिए ।
चुरे पर्वतको फेदमा हरियाली वनजङ्गल, बीचमा ‘बोटिङ’सहितको स्वच्छ र सफा पोखरी, उद्यान निर्माण, चिसो हावापानी र शान्त वातावरणले पर्यटकलाई आकर्षित गरेको छ । यसैगरी फूलको बगैँचा, बालबालिकाका लागि उद्यान, प्राणी उद्यान केन्द्रलगायत संरचना यहाँ निर्माण गरिएका छन् । करिब ५६ हेक्टरमा फैलिएको लहान–१५ ढोड्नास्थित ‘कोइरालो समुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको हो ।
आगामी दिनमा पर्यटकलाई थप आकर्षित गर्न साहसिक पर्यापर्यटन, सामुदायिक होमस्टे (घरबास) प्रवर्द्धन, घोडा सवारी, पोखरी माथि पुल निर्माण तथा सूचना केन्द्र स्थापना गर्ने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए । पर्यटकीय क्षेत्रको आन्तरिक आम्दानीबाट ३८ जनाले रोजगार पाएका छन् ।
नजिकै रहेको प्रसिद्ध राजदेवी मन्दिरलाई पनि जोडेर यस क्षेत्रको एकसाथ विकास गर्न स्थानीय तह लागिपरेको लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले बताए । सिमसार पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिएर थप पूर्वाधार निर्माणमा जोड दिइने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







