नवलपुर - । चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रम जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । वाल्मीकि आश्रम पुग्न पदमार्ग निर्माण भएर सञ्चालनमा आएसँगै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेकोे हो । यहाँ राम भगवानले सीतामातालाई वनबासका लागि महर्षी वाल्मीकि ऋषिको आश्रममा छाडेको, भगवान रामका छोराहरु लवकुशको जन्म भएको र सीतामाता पातालमा भासिएको विश्वास गरिन्छ ।
नारायणी नदीमा नवलपुरको त्रिवेणीधाम र वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुलको निर्माण सकिएको दुई वर्षपछि लबकुश झोलुङ्गे पुलदेखि पवित्र धार्मिकस्थल वाल्मीकि आश्रमसम्म जान स्थानीयको पहलमा पदमार्ग निर्माण गरिएको हो । भारतले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा ६ मा रहेको झोलुङ्गे पुलदेखि वाल्मीकि आश्रमसम्म पुग्ने पहुँच मार्ग निर्माणका लागि आवश्यक पर्ने मेसिनरी सामान लैजान बाटो प्रयोग गर्न नदिएपछि स्थानीयले जनश्रमदान गरेर पहुँच मार्ग बनाउन सुरु गरेका थिए ।
पहुँच मार्ग निर्माणका लागि वागमती प्रदेश सरकारले गत आर्थिक वर्षमा २० लाख रुपियाँ विनियोजन गरेको थियो । सो बजेटबाट झोलुङ्गे पुलको पूर्वी मुखदेखि वाल्मिकी आश्रमसम्म पहुँच मार्ग र पुलको पूर्वी मुखमा सेनाको चेकपोस्ट बनाउने गरी ओम निर्माण कम्पनीले सम्झौता गरेर चितवन राष्ट्रिय निकुञ्जबाट कार्यादेशसमेत लिएको थियो । तर पहुँच मार्ग र सेनाको चेकपोस्टका लागि जेसिबीको प्रयोग गर्नुपर्ने भए पनि जेसिबी लैजान वाल्मीकी टाइगर रिजर्भको वन क्षेत्रको बाटो प्रयोग गर्न भारतले अनुमति नदिँदा बजेट फ्रीज भएको थियो भने अन्तिम चरणमा पुगेको टेण्डर पनि रद्द भएको थियो ।
जसका कारण त्रिवेणीका स्थानीय श्रमदान गरी पदमार्ग निर्माणमा जुटेका थिए । लबकुश झोलुङ्गे पुल वि. सं. २०७० मा सम्झौता भएर २०७९ मा सम्पन्न भएको थियो । तर वाल्मीकि आश्रममा पुग्ने पहुँच मार्ग नहुँदा पुल सञ्चालनमा आएको थिएन । करिब ३ किलोमिटर लामो पदमार्ग निर्माण भएसँगै नेपालकै भूमि भएर वाल्मीकि आश्रम पुग्न सहज भएको गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नचार्यले बताउछन ।
वाल्मीकि आश्रममा पुग्न धार्मिक पर्यटकका लागि पद मार्गले सहज भएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धामक्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालको भनाइ छ । पहुँच मार्गको निर्माण सकिएपछि सोमबार त्रिवेणी गजेन्द्रमोक्ष दिव्य धामक्षेत्र विकास समितिको आयोजनामा गजेन्द्रमोक्ष दिव्य धामदेखि वाल्मीकि आश्रमसम्म पदयात्रा गरिएको थियो । पद यात्रामा प्रदेश सभा सदस्य, पूर्व सांसद, विभिन्न स्थानीय तहका जनप्रतिनिधि, गजेन्द्रमोक्ष दिव्य धामक्षेत्र विकास समितिका पदाधिकारी, जिल्लाका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, धार्मिक अभियन्ता, पत्रकारसहित स्थानीयको बाक्लो उपस्थित रहेको थियो ।
भौगोलिक हिसाबले चितवनको माडी नगरपालिका –१ मा रहेको वाल्मीकि आश्रम चितवनको सडक सञ्जालसँग जोडिएको छैन । आश्रम पुग्ने जोकोहीले पनि हिउँदमा डुङ्गा र वर्षायाममा पूर्व–पश्चिम राजमार्गको बर्दघाट बजारबाट २८ किलोमिटर दक्षिणमा रहेको त्रिवेणीमा नारायणी नदीमाथि बनेको गण्डक बाँध कटेर भारत विहार राज्यको वाल्मिकी नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जंगल पार गरेर वाल्मिकी आश्रम पुग्नुपर्ने बाध्यता थियो ।
स्रोत : गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






