चूरे फेदिबाट चिरिएको समथर बाटो । बाटो छेउका पातला बस्ती । तराई र पहाडका मिश्रण झल्कने घरहरु । अघि बढ्दै जाँदा नयाँ नयाँ दृश्य देखिन्छ । भर्खरका दृश्य भर्खरै विगत भइदिन्छ । रामधुनी चोकबाट दायाँ करिब एक किमी उकालो लागे डाँडा पुगिन्छ । हेटौँडा पुग्नेहरु छुटाउन नहुने गन्तव्य हो– हर्नामाडी कला प्रतिष्ठान, गुम्बा डाँडा ।
हेटौँडा बुद्ध चोकबाट करिब १७ किमी दक्षिण पूर्वमा रहेको यस स्थान त्यहाँका ढुङ्गाका कुँदिएका मूर्तिहरुका कारण प्रसिद्ध छ । ५ जना विदेशीसहित २३ जना मूर्तिकारहरुद्वारा कुँदिएको २३ वटा मूर्त÷अमूर्त मूर्तिहरु छन्, जसलाई हेरिरहूँ जस्तो लाग्छ ।

पूर्व हर्नामाडी गाविस वडा नं. ७ अवस्थित ५ दशमलव ६७ हेक्टरमा फैलिएको गुम्बा डाँडाको करिब ३ बिघा मूर्ति बगैँचाले ओगटेको छ । त्यहाँ करिब २३ मूर्ति छन् । यसमा नेपालसहित इटाली, फ्रान्स, जापान, कोरिया लगायतका देशका कलाकारका मूर्ति छन् । कार्यशालामा सहभागी कलाकार जापानका सुगिमोतो जुनिचिरो, इटलीका बेटिनो फ्रान्सेली, कोरियाका सिम जुङ सु, फ्रान्सकी लेतिचिया दी बजालरे, चीनकी ल्यू योङ लगायत नेपालका १८ जना मूर्तिकारहरु क्रमशः ओम खत्री, नागेन्द्र राजभण्डारी, सुदर्शनविक्रम राणा, नरेन्द्रप्रसाद भण्डारी, राजु पिठाकोटे, विष्णुप्रसाद श्रेष्ठ, वैकुण्ठमान श्रेष्ठ, शारदामान श्रेष्ठ, राजन काफ्ले, गोविन्द चौधरी, बुद्ध थारु, ओमभक्त भण्डारी, बाबुलाल वाइबा, गङ्गाधर सारु, पूर्णकाजी शाक्य, लक्ष्मण भुजेल, प्रकाश शाक्य, चन्द्रश्याम डङ्गोल र १० जना कलेजका विद्यार्थी सहयोगीहरु (असिस्टेन्ट) लगायत स्वयम्सेवक रहेका थिए । कलाकार बेटिनो मोरो फ्रान्सेलीले सभ्यताको सुरुआत अफ्रिकाबाट भएको भनेर विश्वकै पहिलो आमा बनाएका छन् । यो अवतार फिल्मको पात्रजस्तै लाग्छ । यस मूर्तिमा अधिकांशको आँखा परिरहेको हुन्छ ।

कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेल एवम्् कलाकार तारालाल श्रेष्ठकै पहलकदमीपश्चात् गुम्बा डाँडा ‘मूर्ति बगैँचा’ बन्न पुगेको हो । मूर्तिकलाको विकास र विस्तारकै लागि ०६९ सालमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले मङ्सिर ११ गतेदेखि २६ गतेसम्म यहाँ ‘प्रथम अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला’ सञ्चालन गरेको थियो । मूर्तिकला कार्यशाला स्थापना भइसकेपछि अहिले हर्नामाडीमा छुट्टै रौनक पनि छाएको छ । पर्यटकको घुइँचो लाग्ने गरेको छ । त्यहाँ आउने प्राय पर्यटकहरु कुँदिएका मूर्तिमा हेर्नमै व्यस्त देखिन्छन् । पर्यटकलाई नै लोभ्याएको त्यस मूर्तिकलाले त्यहाँका स्थानीय बासिन्दासमेत हर्षित छन् । अहिले स्थानीय बासिन्दा तथा समाजसेवीहरु हर्नामाडीलाई नै आर्ट भिलेज बनाउनुपर्छ भन्ने तर्फ लागि परिरहेका छन् ।
कसरी रह्यो गुम्बा डाँडा नाम ?
रम्तेलका अनुसार यो ठाउँमा पहिले गुम्बा डाँडा थिएन । सालका रुखले जङ्गल बनेको यस ठाउँमा पहिले बाक्लो बस्ती थियो । गाईका गोठहरु थिए । यसैकारण यस ठाउँलाई ‘गोठदमार’ भन्ने गरिन्थ्यो ।
चुरे क्षेत्रमा पर्ने यस पहाडमा पहिरोको जोखिम थियो, जोखिम निवारणका लागि ०३५ सालमा यहाँको बस्तीलाई चितवन सारियो । बस्ती सारेपछि यहाँ बिरुवा रोपिए । जिल्ला वन कार्यालयका तत्कालीन प्रमुख अमृतलाल जोशीको पहल तथा तत्कालीन स्थानीय समाजसेवीहरु सोमबहादुर बानियाँ, राधेश्याम खतिवडा, शिवबहादुर रिजाल, भीमलाल श्रेष्ठ, ईलामबहादुर भुजेल, ईमानबहादुर थापा, प्रेम बराल लगायतको पहलकदमीमा सल्ला र सिसौ लगाउने कार्यको सुरुवात भयो । ठाउँको नाम रहन पुग्यो– सल्लाघारी ।

०५२ सालमा त्यहाँ रिह्रो गुम्बाको स्थापना भयो । तत्कालीन उपभोक्ता वन समितिका अध्यक्ष मङ्गल सिंह लामा र सचिव बालकुमार श्रेष्ठ लगायतको टिमको पहलकदमीमा पर्यटक स्थलको लागि संरक्षण समिति बन्ने निर्णय भयो । त्यो बेला यहाँ सल्ला र सिसौसहित अन्य बोट बिरुवा समेत वृक्षारोपणका कार्यले गति लियो । २०६३ सालमा ‘सल्लाघारी पर्यापर्यटकीय पार्क’ स्थापना भयो । गणतन्त्र आइसकेपछि, वडाबाट सर्वदलीय सबैको पहलमा सल्लाघारीमा प्रतीक्षालयको व्यवस्थादेखि पार्क सुधार एवम्् व्यवस्थापन कार्य अघि बढे । त्यही नाममा २०६६ सालमा हर्क रम्तेलको नेतृत्वमा सल्लाघारी अघि बढ्यो र २०७३ साल हर्नामाडी कला प्रतिष्ठान, गुम्बा डाँडा भन्ने नाम स्थापना गरिएको । अहिले गुम्बा डाँडामा २०४० सालमा लगाइएको सल्ला र २०६३ सालमा लगाइएको बोटबिरुवाहरु धेरैजसो देख्न सकिन्छ ।
हाल गुम्बा डाँडा पिकनिक स्पटको रुपमा पनि तयार भएको छ । यहाँ पाँचवटा पिकनिक ‘स्पट’ रहेका छन् । साथै, हालसालै गुम्बा सम्बन्धी पहिचान झल्काउने २२ फिटको बुद्धको पूर्ण कदको मूर्ति स्थापना गरिएको छ । रिह्रो गुम्बा विकास समितिका अध्यक्ष मङ्गलसिंह लामा रहेका छन् ।
इतिहासः
गुम्बा डाँडासँग मकवानपुर जिल्लाको इतिहास समेत जोडिएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा मकवानपुर हात पारेपछि दिग्बन्धन सेन र उनका मन्त्री कनकसिंह बानियाँ मकवानपुर गढीबाट लखेटिए । उनीहरु बङ्गाल गएर आफ्नो राज्य फिर्ता गराउन मुगल सेनाहरुलाई आफ्ना ज्वाईंविरुद्ध लड्न ल्याएका थिए । यसरी बङ्गालका मुगल सैनिकहरु १८१९ पुस २७ गते हर्नामाडीको गुम्बा डाँडामा आएर गढी दरबारमा आक्रमण गरेको इतिहास पाइन्छ । हर्नामाडीको गुफाथानबाट मकवानपुर गढी दरबार पुग्ने सुरुङ छ भन्ने इतिहास छ । त्यसै सुरुङ भएर असार १५ मा शेनवंशी राजारानी हर्नामाडीको रानीखेतमा हिलो खेल्न आउँथे भन्ने किम्बदन्ती छ । जिल्लाको नामलाई जनाउने शब्द ‘मकवानपुर’ भनेर हर्नामाडीलाई नै चिनिने गरिन्छ । (१८ नम्बर वडा कार्यालयद्वारा प्रकाशित जानकारीमा आधारित) ।

हर्नामाडी एकीकृत पर्यटन विकास समितिले गुम्बा डाँडासहित गोरक्ष ताल र ऐतिहासिक महत्व बोकेको गुफाथानलाई बागमती प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना तयार पारेको छ । जस अन्तर्गत सुविधा सम्पन्न होटेल तथा रेस्टुरेन्टको निर्माण, मनोरञ्जनात्मक क्रियाकलाप सञ्चालन गर्नका लागि खुला क्षेत्रसहितको स्टेज, पर्याप्त सामग्रीसहितको बाल उद्यान, विपाश्वना केन्द्र तथा तपोवनको विकल्पको रुपमा विकास, नर्सरीसहितको पुष्प बगैँचा, गुम्बा डाँडादेखि गोरक्ष तालसम्मको फुट ट्रेल, गोरक्ष तालमा रेस्टुरेन्टसहितको नौका बिहार लगायतका छन् ।
अन्त्यमा, यस भेगको पर्यटकीय उद्देश्य पुरा गर्नका लागि पूर्वाधार निर्माण प्रथम तत्व रहेको छ । विश्राम स्थल, कुन देशको कलाकारले के बनाएको व्याख्या, सूचना, आकृतिका परिचय व्यवस्था गर्न आवश्यक देखिन्छ । सँगसँगै, कला उद्यान संरक्षण र हेरचाहलाई पनि बढोत्तरी दिनुपर्छ । गुम्बा डाँडालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसारका साथसाथै खाने बस्ने व्यवस्था पनि मिलाउनुपर्छ । पर्यटकीय नक्सा उपलब्ध गराउने एवम् भरपर्दाे यातायातको सहज सुविधा हुने हो भने तराइको गर्मी एवम् काठमाडौँको जाडो छल्ने सीमावर्ती पर्यटकहरु यहाँ ओइरिने निश्चित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको विषयमा सरकारले आवश्यक कदम चाल्ने
- हिरा रनपालले ल्याए ‘गुदरी काम्लो’ (भिडियो सहित)
- मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग
- शिक्षा कि श्रम ? आज विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै
- प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक
- नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली, आरजु, शाक्य र राई तानिने
- काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने
- विश्वकप २०२६ का खेलको अवैध प्रसारण रोक्न ३५ वेबसाइट र एपमाथि प्रतिबन्ध



ट्रेन्डिङ
खबरमुकाम





