पोखरा–भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको कूटनीतिक पहल आवश्यक : देशबन्धु बस्नेत

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत पर्यटन तथा हवाई यातायात समिति सभापति देशबन्धु बस्नेत (अजित)ले नेपालको पर्यटन क्षेत्रले हासिल गरेका अधिकांश उपलब्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महासंघको कार्यकारिणी समिति सदस्यको तीन वर्षे कार्यकाल सकिन लाग्दा उनले पर्यटन क्षेत्रको सुधारका लागि आफूले विभिन्न सरकारी निकायसँग निरन्तर समन्वय पहल गरेको बताएका हुन् ।

बस्नेतलाई २०८० जेठमा महासंघका अध्यक्ष चन्द्र ढकालले पर्यटन तथा हवाई यातायात समितिको सभापतिमा मनोनयन गरेका थिए । त्यसयता उनले पर्यटन क्षेत्रका समस्या, चुनौती समाधानका उपायबारे प्रधानमन्त्री कार्यालय, सम्बन्धित मन्त्रालय, विभाग तथा मातहतका निकायसँग पटकपटक छलफल गरेको जानकारी दिएका छन्  ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने विषयलाई महासंघमार्फत निरन्तर उठाउँदै आएको बताए । उनका अनुसार सरकारले ती विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न विभिन्न सहुलियत योजना ल्याए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन ।

अब नयाँ सरकारले यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न प्रभावकारी कूटनीतिक पहल गर्नेमा हामी आशावादी छौं,’ बस्नेतले भने ।

बस्नेतले पर्यटन ऐन संशोधन, होटल व्यवसायलाई उद्योगसरहको सुविधा प्रदान गर्ने व्यवस्था तथा हवाई टिकटमा लगाइएको भ्याटसम्बन्धी प्रावधान पुनरावलोकनका विषयमा पनि सरकारसँग निरन्तर आवाज उठाएको बताएका छन् । उनका अनुसार अघिल्लो सरकारले होटल व्यवसायलाई उद्योगसरहको मान्यता दिने निर्णय गरिसकेको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन अझै आवश्यक रहेको छ ।

उनले नेपाललाई युरोपेली मुलुकसँग सिधा हवाई सम्पर्कमार्फत जोड्नुपर्ने आवश्यकता औंल्याउँदै नेपाली आकाशलाई ईयूको कालोसूचीबाट हटाउन नेपाल नागरिक उड्डयन प्राधिकरण सहित सरकारको सार्थक पहल आवश्यक रहेको धारणा व्यक्त गरे ।

त्यसैगरी, नेपाल पर्यटन बोर्ड मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रभावकारी ब्राण्डिङ गर्न निजी क्षेत्रको समेत सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।

बस्नेतले आफ्नो कार्यकालमा सहयोग गर्ने महासंघका पदाधिकारी, उपसभापति तथा समिति सदस्यहरूलाई धन्यवाद व्यक्त गरेका छन् । उनले उपसभापति अच्युत शर्मा गुरागाइँ निलहरी बाँस्तोलासहित सदस्यहरू शिव अधिकारी, कुलप्रसाद न्यौपाने, सिर्जना श्रेष्ठ नेपाली, सचिन ढकाल, रमेश थापा विनायक शाहप्रति आभार व्यक्त गरेका हुन् ।

त्यस्तै, सल्लाहकारहरू शशिकान्त अग्रवाल, बिक्रम पाण्डे तथा हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा.धनञ्जय रेग्मीलाई पनि उनले महत्वपूर्ण सुझाव सहयोगका लागि धन्यवाद दिएका छन् ।

आगामी दिनमा पनि नेपालको निजी क्षेत्रको विकास विस्तारका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दै बस्नेतले उद्योगीव्यवसायीहरूको साथ, सहयोग समर्थन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै