पर्यटनको राजधानी पोखरामा पाहुनाको मुख्य गन्तव्य प्राकृतिक ताल, गुफा, डाँडाकाँडा र मठमन्दिर पर्छन् । पर्यटक पुग्ने थोरै मानव निर्मित सम्पदामा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पर्छ । हिमाल, पर्वतारोहण र पर्वतीय जीवनबारे अध्ययन केन्द्र बनेको सङ्ग्रहालयमा पछिल्लो आर्थिक वर्षमा ९८ देशका पर्यटक आएका छन् ।
सार्क, विदेशी र नेपालीको मात्र फरक फरक तथ्याङ्क राख्ने गरिएकोमा गएको कात्तिकदेखि विदेशीको राष्ट्रियता अनुसारको तथ्याङ्क राख्न थालिएको छ । चालु आवको साउनदेखि चैतसम्म सार्क देशका १५ हजार ७७२ जनाले सङ्ग्रहालय अवलोकन गरेका छन् ।
यसबाट ४१ लाख ३५ हजार ३४८ रुपियाँ आम्दानी भएको छ । यो नौ महिनामा आएका १८ हजार १९० जना विदेशीले सङ्ग्रहालयलाई ९५ लाख २९ हजार ८२८ रुपियाँ तिरेका छन् । यहाँ आउनेमा सबैभन्दा बढी जापानी छन् ।
कात्तिकदेखि चैतसम्म एक हजार ७६४ जना जापानी पर्यटक आएका छन् । सो अवधिमा एक हजार ७६ जना फ्रान्सेली, ७९३ जना चिनियाँ, ७६४ जना अमेरिकी, ५६५ जना बेलायती र ८१६ जना दक्षिण कोरियाका नागरिकले सङ्ग्रहालय हेरेका छन् ।
अघिल्लो वर्ष दुई करोड ९१ लाख १३ हजार सात सय रुपियाँ आम्दानी गरेको सङ्ग्रहालयले चालु आवमा दुई करोड नौ लाख ९४ हजार ४९१ रुपियाँ सङ्कलन गरेको छ । सङ्ग्रहालयका भावी योजना निर्माण र पर्यटकको सङ्ख्या बढाउन राष्ट्रियता अनुसारको तथ्याङ्कले सहयोग गर्ने कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् ।
उनले भनिन्, ‘यो सङ्ग्रहालय दुई दशकदेखि पर्वतीय गतिविधि, संस्कृति र जलवायु परिवर्तन बुझाउने अध्ययन केन्द्र बनेको छ । यस्तो तथ्याङ्कले हामीलाई भावी योजना, थप निर्माण र रणनीति तय गर्न पनि सघाउने अपेक्षा गरेका छौँ ।’
सङ्ग्रहालय नाफा आर्जनका लागि नभई ज्ञान बाँड्न केन्द्रित भएको सुनाउँदै उनले महिनामा कम्तीमा २० लाख रुपियाँ खर्च हुने उल्लेख गरिन् । सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले पोखरा–१७, रातोपैह्राको करिब एक सय रोपनीमा रहेको यो सङ्ग्रहालयलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न नेपाल पर्वतारोहण सङ्घको मात्र बुताले नपुग्ने बताए ।
उनले भने, ‘यसलाई अनुसन्धान केन्द्र बनाएर अझ धेरै पर्यटन र अनुसन्धातालाई आकर्षण गर्न सकिन्छ । यसका लागि राज्यले लगानी र बजारीकरण गरिदिनु पर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




