• वि.सं २०८३, वैशाख १७ बिहीबार
  • Thursday, 30 April, 2026
  • युनिकोड
  • Live

मोरङको जेफाले पछिल्लो समय आन्तरिक पर्यटकको गन्तब्य बन्दै 

काठमाडौँ । धनकुटाको दक्षिण पूर्वी सीमासँग जोडिएको मोरङको केराबारी गाउँपालिका–२ सिंंहदेवस्थित जेफाले पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएको छ । चिया बगान, भ्यु टावर र चिसो मौसम भएकाले जेफालेले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो ।

मोरङ जिल्लाको एक मात्र चिया बगानले पनि त्यहाँ घुम्न पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ। सुगम जिल्ला मोरङको दुर्गम क्षेत्रमा पर्ने जेफाले डाँडो समुन्द्री सतहबाट एक हजार ९ सय ७० मिटर उचाइमा छ । यहाँ बाह्रैमास हावा चलिरहने र छिनछिनमै मौसम परिवर्तन हुने गर्छ । यहाँबाट पूर्वको १६ जिल्ला नाङ्गो आँखाले अवलोकन गर्न सकिन्छ ।

जेफाले डाँडाबाट सूर्योदय, सूर्यास्त, हिमाल, पहाड, तराईको दृश्यावलोकन गर्न सकिन्छ । जसका कारण पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको सिंहदेवीमा रहेको जेफाले नयाँ गन्तव्यका रुपमा विकास हुन थालेको छ । सरकार र स्थानीयको संयुक्त पहलमा जेफालेलाई पर्यटकीय केन्द्रमा विकास गर्न थालिएपछि जेफाले पूर्वी नेपालको घुम्न सकीने याँ गन्तव्यका रुपमा विकास भएको हो ।

उत्तरी मोरङको बिकट क्षेत्र मानिने जेफालेको अर्को बिशेषता भनेको छिनछिनमै हुने मौसम परिवर्तन हो । मोरङको कोशी हरैंचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्ने भएकाले पर्यटकहरुको मन लोभ्याउने गरेको छ । तर, जेफाले जाने सडक भने लामो समयदेखि निर्माणधीन अवस्थामा रहेकाले बर्षाको समय सवारी साधन चल्ने अवस्था छैन । 

मोरङ र धनकुटाको सीमानामा पर्ने जेफाले डाँडामा चारतले भ्यू टावर निर्माण गरिएको छ । भ्यू टावरबाट विश्वकै अग्लो हिमाल सगरमाथा, कञ्चनजंगा देख्न सकिन्छ । 

 जेफाले पुग्न धनकुटाको भेडेटार राजारानीबाट सम्वेवा चोक हुँदै पनि जान सकिन्छ । जेफाले क्षेत्रलाई पर्यटकयि गन्तव्यका रुपमा विकास गरी त्यहाँ पुग्ने पर्यटकलाई खान वस्नको सुविधा प्रदान गर्ने उद्देश्यले सिंहदेवीस्थित विहीबारेमा १० घरमा सामुदायिक होम्स्टे सञ्चालनमा छन् । जहाँ एकै पटकमा १ सय १० जना बास बस्न सक्छन् ।

जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्ज प्रदान गर्ने गरिएको छ ।
जेफाले घुम्न पुग्ने पाहुनाका लागि लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी बिशेष परिकार हुनेछ । बेलुकीको बासमा मगर जातिको हुर्रा नाच र लिम्वु जातिको धान नाचबाट सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष युवराज खड्काले बताए ।

खासगरी बर्षको ९ महिना तराईका विभिन्न जिल्लाबाट गर्मी छल्ने पर्यटकहरु जेफाले पुग्ने गरेका छन् । जसका कारण जेफालेमा आन्तरिक पर्यटकको आवागमन बाक्लो हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै