काठमाडौँ । पर्यटन याम आएसंगै दसैँ सकिए लगत्तै मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर धार्मिक पर्यटकले भरिभराउ भएको छ । मुक्तिनाथमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकहरु धेरै संख्यामा घुम्न आएका छन् ।

मौसम सफा भएकाले यसपालि मुक्तिनाथ मन्दिर दर्शन गर्ने तीर्थालु भक्तजनको सङ्ख्या बढेको हो । दैनिक रुपमा करिब ४ हजारदेखि पाँचहजारको सङ्ख्यामा धार्मिक पर्यटक मुक्तिनाथ आएको मुक्तिनाथ क्षेत्र विकास समितिले जनाएको छ ।
अहिले दसैँ तिहार बिदा भएकाले विद्यालय तथा क्याम्पसका विद्यार्थीहरु पनि उल्लेख्य मात्रामा मन्दिर दर्शन गर्न आएका छन् । देशका प्रयाजसो जिल्लाबाट भक्तजनहरु मुक्तिनाथमा पूजाआराधना र दर्शन गर्न आएका छन् । बुधबार बिहानैदेखि मुक्तिनाथ मन्दिर परिसरमा तीर्थालु भक्तजनहरुको निकै भीड लागेको छ । बिहान ७ बजेदेखि बेलुकासम्म नै भक्तजनको भीड लाग्ने गरेको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताए।

उनले भने, ‘‘दसैँपछिका दिनहरुमा बिहान ७ देखि साँझ ५ बजेसम्म नै भक्तजनको भीड हुन्छ । हिजो आज मौसम सफा भएकाले भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ ।’’ मुक्तिनाथ मन्दिर परिसरमा रहेका एकसय आठ धारा र दुईवटा कुण्डमा भक्तजनले स्नान गर्दछन् ।
मन्दिरदेखि तल रानीपौवामा करिब ४० वटा सुविधासम्पन्न होटल छन् । धार्मिक पर्यटकका कारण धेरैजसो होटलहरु भरिभराउ भएको होटल अन्नपूर्ण इनका सञ्चालक ध्रुव सुवेदीले बताए । "कार्तिक मंसिर महिनामा पर्यटक धेरै आउने भएकाले यो समय यहाँका होटलहरु भरिभराउ नै हुन्छ" उनले बताए ।
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय दश मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ ।

प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आएका छन् । मुस्ताङको जोमसोम, ठिनी, कागबेनी र माथिल्लो मुस्ताङको ऐतिहासिक बस्ती लोमान्थाङमा पनि पर्यटकको सङ्ख्या वृद्धि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ
- राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः गगन थापा
- रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित
- रास्वपाको उदय अस्थिर राजनीति र भूराजनीतिक चलखेलको परिणाम हो : एमाले
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो



ट्रेन्डिङ
खबरमुकाम






