काठमाडौँ । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा आज स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ । नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गर्नुभएको टोली र चीनबाट सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ नेतृत्वको टोलीबीच स्वास्थ्य बीमा, स्वास्थ्य बीमा प्रणाली, स्वास्थ्य बीमा सम्बन्धी नीति तथा संरचना र स्वास्थ्य सुरक्षण लगायतका विषयमा छलफल भएको हो ।
कार्यक्रममा स्वास्थ्य बीमाको दिगोपन सुनिश्चित गर्ने उपाय, भुक्तानी प्रणालीमा सुधार, बीमाले प्रदान गर्ने रक्षावरण, निजीक्षेत्रद्वारा सञ्चालित स्वास्थ्य बीमा योजना, नागरिकहरूलाई सहज र सुलभ सेवा प्रदान गर्ने विधि, स्वास्थ्य सुरक्षामा सार्वजनिक र निजीक्षेत्रको सहकार्य, सेवा प्राप्तिमा पारदर्शिता, बीमाप्रतिको विश्वास अभिवृद्धि र डिजिटल प्रविधिको प्रयोग मार्फत स्वास्थ्य बीमाको प्रभावकारिता अभिवृद्धि लगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङले सिचुवान प्रान्तमा स्वास्थ्य सुरक्षालाई तीन भागमा बर्गीकरण गरी पहिलो चरणमा बेसिक हेल्थ केयर सुविधा, दोस्रोमा थप प्रिमियम तिर्दा घातक रोगको उपचार सुविधा र तेस्रो चरणमा मेडिकल एसिस्टेन्सको व्यवस्था रहेको जानकारी दिए ।
उपमहानिर्देशक झाङले संस्थाको आर्थिक अवस्था अनुसार नागरिकलाई दिइने सुविधा थप गर्ने गरिएको उल्लेख गर्दै सरकारी स्वास्थ्य सुरक्षा योजनाले जोखिम नव्यहोर्ने रोगको उपचारका लागि नागरिकले स्वास्थ्य बीमा खरिद गर्ने गरेको र सरकारी स्वास्थ्य सुरक्षा तथा आधारभूत सेवा अन्तर्गत नियमित प्रयोग हुने औषधि तथा आधारभूत मेडिकल सेवा प्रदान गर्ने गरिएको बताए । साथै, उनले गलत तथा फर्जी दाबी रोक्न आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै गलत दाबी गर्ने स्वास्थ्य संस्थालाई उच्च जरिवानाका साथै कडा कारबाहीको व्यवस्था गरिएको उल्लेख गरे ।
उपमहानिर्देशक झाङले सरकारी स्वास्थ्य सुरक्षा अन्तर्गत संस्थाको वित्तीय अवस्था तथा सरकारले गर्ने आर्थिक सहायताका आधारमा सेवा थप गर्ने गरिएको र निजीक्षेत्रका बीमा कम्पनीले बिक्री गर्ने बीमामा धेरै सुविधाहरू रहेको जानकारी दिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सरकारी स्वास्थ्य सुरक्षा योजना र निजीक्षेत्रका स्वास्थ्य बीमाबीच रहेका फरक र सरकारी स्वास्थ्य सुरक्षा प्रणालीको दिगोपनका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
अध्यक्ष ओझाले नेपालमा स्वास्थ्य बीमा सम्बन्धी नीति तर्जूमा गर्दा सिचुवान प्रान्तको अनुभवलाई प्राधिकरणले आत्मसाथ गर्ने बताए । कार्यक्रममा नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशील देव सुवेदी तथा छेङ्दुस्थित नेपालका महावाणिज्यदूत सुरेश राउत सहभागी थिए ।
यसैगरी, चीनबाट चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनका उपमहानिर्देशक झाङ हेफेङ, प्लानिङ, फाइनान्स एण्ड रेगुलेशन डिभिजन प्रमुख ली याजुन, बेनेफिट एण्ड सेक्युरिटी डिभिजन प्रमुख ली रुई, मेडिकल एण्ड फर्मास्युटिकल सर्भिसेस् म्यानेजमेन्ट डिभिजन प्रमुख वाङ यिगो, अपरेशनल गाइडेन्स डिभिजन प्रमुख लियो जेङ्कुई र मेडिकल एण्ड फर्मास्युटिकल प्राइसेस एण्ड विडिङ प्रोक्युरमेन्ट डिभिजनका उपप्रमुख जियोङ वेङविङको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







