आफू कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्छ : कृष्णकुमार शाह

काठमाडाै‌ । कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक कृष्णकुमार शाहले कोशी प्रदेशमा जन्मिएकोमा गर्व लाग्ने बताएका छन् । आज सोल्टी काठमाडौँमा आयोजित अन्तरराष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टमा कोशी प्रदेशको प्रतिनिधिको रूपमा उनले यस्तो बताएका हुन् ।  म कहिलेकाहीँ कोशी प्रदेशमा जन्मिएकोमा गर्व गर्छु । किनभने म सुन्दर कोशिमा जन्मिएको हुँ । प्रदेश राजधानी विराटनगरदेखि सगरमाथासम्मै सांस्कृतिक र प्राकृतिक विविधता छन्, उनले भने । कोशी प्रदेशको भ्रमण गर्ने पर्यटकले अर्नाको राजधानी भनेर चिनिने कोशीटप्पु वन्यजन्तु आरक्षलगायतका  निकुञ्जमा वन्यजन्तु अवलोकन गर्न सक्छन् । मार्टमा मन्तव्य राख्दै शाहले भने, संसारको शीर सगरमाथा लगायत संसारका चौध सर्वोच्च शिखरमध्ये पाँचवटा कोशी प्रदेशमा छन्। त्यहाँको पर्वतिय पर्यटन संसारकै सबैभन्दा एड्भेञ्चरस् र उत्कृष्ट शिखर पर्यटन हो ।


उनले कोशी प्रदेश अन्य प्रदेशको तुलनामा सहज यातायात पहुँच भएको प्रदेश भएको दाबी समेत गरे । उनले भने, कोशी प्रदेशमा विराटनगर, फाप्लु, लुक्ला, सुकेटार लगायत एयरपोर्ट छन् । विभिन्न राजमार्गमार्फत पर्यटकले सबै पहाडी जिल्लाको सहज भ्रमण गर्न पाउँछन् । शाहले कोशी प्रदेश सांस्कृतिक विविधताका दृष्टिले समेत नेपालको समृद्धतम् प्रदेश भएको जिकिर गरे । उनले भने,  सम्भवतस् संस्कृतिमा नेपालकै सबैभन्दा धनी प्रदेश हो कोशी प्रदेश । यहाँ लिम्बू, राई, शेर्पा, तामाङ, राजवंशी, कोच आदि संस्कृति छन् जसले सांस्कृतिक विविधताको इन्द्रेणी छ । यी संस्कृतिले जगेर्ना गरिरहेका मौलिक नाचहरू साकेला, धाननाच लगायत जातजातिका नाचले हामी समृद्ध  छौँ ।


 

उनले रामको विवाहको प्रसङ्ग पनि कोट्याए । रामधुनीको सांस्कृतिक महत्व दर्शाउँदै उनले मर्यादा पुरुषोत्तम श्रीरामको जन्ती रामधुनीस्थित ऋषि विश्वमित्रको आश्रमबाट लगिएको दाबी गरे । रामधुनीबाट रामको जन्ती लगिएको थियो र आगामी दिनमा रामधुनीबाट जन्ती लैजानुपर्छ भन्ने हाम्रो दाबी रहेको छ । उनले संसारको पहिलो तीर्थ बराहक्षेत्र पनि कोशीप्रदेशमै रहेको हुनाले कोशी प्रदेशको पर्यटन सबै कोणबाट समृद्ध रहेको र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन जरुरी रहेको बताए । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालय अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्रावल मार्टको डेस्टिनेसन प्रायोजक समेत रहेको छ ।  मार्टमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ को सचिवालयले तयार पारेको डकुमेन्ट्री, मुकाम म्यागेजिन र तीनवटा करिडोरको गन्तव्यका बारेमा तयार पारिएका अङ्ग्रेजी र नेपाली दुवै भाषाका प्रचारसामग्री प्रदर्शन र वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै