.jpg)
प्राकृतिक सुन्दरताको आनन्द लिनका लागि धेरैजसोको रोजाईमा पर्ने प्रमुख गन्तव्य सुदूरपूर्वमा रहेको जिल्ला ताप्लेजुङ पनि हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फुङ्फुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो । नेपालका प्रमुख शक्तिपीठमध्ये यहाँस्थित पाथीभरा मन्दिर पनि एक हो । समुन्द्री सतहबाट तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरामा वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् ।
हामीले ताप्लेजुङ जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकीकरण गरेर कोशी प्रदेशले आयोजना गर्न लागेको भ्रमण वर्ष २०८२ का लागि तय गरेको स्लोगन ‘८२ का ८२ गन्तव्य’ मा यसरी समावेश गरेका छौँ ।
तिम्बुङ पोखरी
सिदिङ्वा गाउँपालिकाअन्तर्गत पर्ने धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको क्षेत्र हो । चार हजार चार सय ८१ मिटरको उचाइमा रहेको यस पोखरी चार सय ६६ मिटर उत्तर९दक्षिण लम्बाई र एक सय ४५ मिटर पूर्व९पश्चिम चौडाई रहेको जानकारहरू बताउँछन् ।
विशेषगरी नागपञ्चमी र जनैपूर्णिमाको दिन धेरै पर्यटक यहाँ पुग्ने गर्छन् । हिउँ पर्ने समयमा भने यहाँ पुग्न कठिन छ । वैशाखदेखि असोज, कात्तिकसम्म यो पोखरीमा जान सकिन्छ । यस पोखरीमा कहिलेकाहीँ पानीको छाल उठेर ठोक्किएको अवस्थामा बन्दुक पड्किएको जस्तै आवाज आउने गरेको बताइन्छ ।
मनसुनी समयमा प्राकृतिक सोन्दर्यतामा रमाउन चाहने धेरै मानिस बर्सेनी यो पोखरीमा पुगेर फर्किन्छन् । हिमाली क्षेत्रको चट्टाने डाँडाकाँडा पार गर्दै गई सकेपछि ठाउठाउँमा ढकमक्क फुलेका हिमाली फूलले मन नै फुरुङ्ग भएर आउँछ । केन्जो (रेनुम नोविल) माइकोपिला, पदमचाललगायतका फूलहरूले भरिने त्यस क्षेत्रमा पुगेपछि फूलैफूलको बगैँचामा घुमेको आभास हुने गर्छ ।
यो पोखरीमा पुग्नलाई पाँचथर वा ताप्लेजुङका दुई वटा फरक रुट रहेका छन् । जताबाट गए पनि दुई दिनसम्मको यात्रा गर्नुपर्छ । पाँचथरको फलैँचा हुँदै र ताप्लेजुङको सिरीजङ्घा स्थित खेवाङ हुँदै त्यसतर्फ जान सकिन्छ । पाँचथर तर्फबाट जाँदा कालीखोलासम्म र ताप्लेजुङतर्फ सिरीजङ्घाको खेवाङसम्म सबारी साधनमा पुगिन्छ । सोभन्दा माथि एक दिनको पैदल यात्रा गर्नुपर्छ । यहाँबाट कञ्चनजङ्घा, कुम्भकर्ण र भारतको सिक्किम, दार्जलिङलगायतका ठाउँसमेत देख्न सकिन्छ ।
फुङ्फुङे झरना
फुङ्फुङे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गलको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङ्फुङे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोडले तल झरेको झरनाको आवाज नै फुङ्फुङ् हुने हुँदा नामकरण पनि फुङ्फुङे भएको बताइन्छ । ताप्लेजुङ सदरमुकामबाट नजीकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङ्फुङे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो ।
झरनाले प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्र नभई पर्यटकीय र धार्मिक महत्त्व बोकेको छ । झरनालाई शक्तिको प्रतीक मानेर झरनाको फेदी नजीकै फुङ्फुङे देवीको पूजास्थल पनि राखिएको छ । यहाँ देवीको पूजा गर्न भक्तजन जाने गर्दछन् । झरनाको अवलोकन गर्ने पर्यटक झरनाको फेदीमा रहेको देवीथानमा पूजापाठ गरेर फर्कने गर्दछन् ।
सिङ्जेमा ताल
ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रूपमा, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । जैविक विविधता र प्राकृतिक मनोरम दृश्यावलोकनले भरिपूर्ण यस तालले जिल्लाका पर्यटकलाई विशेष आकर्षण प्रदान गरेको छ । तालका बारेमा सामाजिक सञ्जालमा प्रचार हुनथालेपछि सिङ्जेमा तालले जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थान बनाउँदै गएको हो ।
सिङ्जेमा ताल फक्ताङ्लुङ९ ७, ओलाङचुङ्गोला क्षेत्रमा पर्दछ । यो ताल ओलाङचुङ्गोलाको बस्तीबाट एक दिनको पैदल दूरीमा अवस्थित छ, समुद्री सतहदेखि चार हजार सात सय मिटर उचाइमा रहेको यस तालको क्षेत्रफल र गहिराइको मापन भने अझै हुन सकेको छैन । प्राकृतिक रूपमा मनोरम भए पनि, यस ताललाई स्थानीयले धार्मिक महत्त्वको रूपमा पनि लिने गरेका छन् । तालमा भाकलगरी पूजा गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वासले स्थानीयलाई तालप्रति धार्मिक आस्थाले आकर्षित गरेको छ ।
यस्तै भेडीगोठ बस्दा तालबाट निस्केको भेडाले बगालको सबै भेडा तालमा पसेर हरायो भन्ने किम्बदन्ती पनि सुनिन्छ । यसले तालको धार्मिक महत्त्वलाई थप बलियो बनाएको छ । तालको परम्परागत धार्मिक आस्थाअनुसार, यहाँ पूजा गर्न आउने व्यक्तिले भाकलस्वरूप गरगहना, घडी, औँठी, चुरालगायत वस्तु चढाउने गर्छन् । सिङ्जेमा तालमा जाँदा स्थानीय परम्पराअनुसार चोखो मुखमा जाने र आफूसँग भएको वस्तु चढाउने चलन छ ।
कुम्भकर्ण
एउटा कुम खसेको जस्तो तर शिर उच्च देखिने फरक आकृतिको कुम्भकर्ण हिमाल ताप्लेजुङ जिल्लाको फक्ताङ्लुङ गाउँपालिकामा पर्छ । यस हिमालको पहिलो आरोहण भने सन् १९६२ मा फ्रान्सका नागरिकले गरेको पाइन्छ । नेपालको १५ औँ र विश्वको ३२ औँ अग्लो यो हिमाल हेर्दा आकर्षक देखिए पनि आरोहणका लागि निकै अप्ठेरो रहेको शेर्पाहरू बताउँछन् । डोरी टाङ्नकै लागि कठिन भएको उनीहरूको बुझाइ छ । आरोहणका लागि सरकारबाट अनुमती लिएर गएका आरोहण टोलीलाई किरात धर्मावलम्बीले केही दिन रोकेका थिए । आफूहरूको धार्मिक स्थल भएकाले आरोहण गर्न नमिल्ने भन्दै रोकेको ओङ्मुले बताइन् । छलफलपछि उनीहरूले अवरोध नगर्ने जनाए । त्यसपछि क्याम्प साइड बनाउने, डोरी टाङ्ने काम सुरु भएको थियो । यो हिमाललाई किरात धर्मावलम्बीले पवित्र धार्मिकस्थल मान्छन् ।
राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले तपस्या गरेको र पवित्र भूमि भएकाले दर्शनका लागि यहाँ बर्सेनि सयौं किरात धर्मावलम्बी जाने गरेका छन् । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङलगायत देशका विभिन्न स्थान र हङकङ, बेलायत लगायतका देशमा रहेका किरात धर्मावलम्बी पूजाका लागि आउने गरेका छन् । अधिकांश हिँडेरै जान्छन् भने कतिपयले हेलिकोप्टर चार्टर गरेर जाने गरेका छन् । विशेष गरी किरात धर्मगुरु आत्मानन्द लिङदेनको प्रवचनबाट प्रभावित भएकाहरू प्रत्येक वर्ष जाने गरेका छन् ।
पहिला इलामको लारुम्बाबाटै पैदल जाने तीर्थयात्री अहिले फक्ताङलुङ गाउँपालिकाको तापेथोकसम्म गाडीमा गएर त्यसपछि पैदल जाने गरेका छन् । यो हिमाल फक्ताङलुङ गाउँपालिका९६ लेलेपको खम्बाछेन छेउमा पर्छ । किरातीहरूले नामकरण गरेको आधारमा गाउँपालिकाको नाम पनि रहेको छ ।
कञ्चनजङ्घा
कञ्चनजङ्घा सगरमाथापछिको दोस्रो र विश्वको तेस्रो अग्लो शिखर हो । कञ्चनजङ्घाको मुख्य पर्वतसमूहमा जम्मा पाँच शिखर छन्, जसमा सबैभन्दा अग्लो शिखर ‘कञ्चनजङ्घा मेन’ हो । सन् १८५२ सम्म कञ्चनजङ्घालाई नै संसारको सबैभन्दा अग्लो शिखर मानिन्थ्यो । बेलायती सर्वेक्षक जार्ज एभरेस्टको नेतृत्वमा भएको ग्रेट ट्रिगोनोमेट्रिक सर्वे अफ इन्डियामार्फत सगरमाथा कञ्चनजङ्घाभन्दा २६२ मिटर ९८६० फिट० अग्लो रहेको पत्ता लागेको हो ।
कञ्चनजङ्घा नामको अर्थ स्थानीय तिब्बती भाषामा ‘महान हिमपातका पाँच खजाना’ भन्ने हुन्छ । कतिपय यस नाम पाँचवटा शिखरलाई जनाउँछ भन्छन् भने कतिपय पाँचवटा हिमनदी वा पर्वतभित्र लुकेका सम्पत्तिलाई सङ्केत गर्छ भन्छन् । जनविश्वासअनुसार कञ्चनजङ्घा पर्वत अमरत्व महिमा लुकाउने पवित्र स्थान हो । यहाँ कुनै गुप्त खजाना लुकेको छ, जुन धर्मपरायण मानिसलाई सङ्कटको बेला प्रकट हुनेछ र उनीहरूको रक्षा गर्नेछ भन्ने विश्वास रहेको छ । कञ्चनजङ्घाको यस रहस्यमय स्वरूपले पर्वतारोहीलाई मात्र नभइ अध्यात्म र रहस्यवादमा विश्वास गर्नेहरूलाई पनि आकर्षित गरेको हो ।
सर्वप्रथम कञ्चनजङ्घा आरोहणको प्रयास गर्दा प्रसिद्ध बेलायती ओकल्टिस्ट एलेस्टर क्राउलीसमेत यो अभियानमा सामेल थिए । यो पहिलो आरोहण असफल भयो । यी आरोहीको टोली करिब ६,५०० मिटर उचाइसम्म पुगेपछि फर्किएको थियो । पहिले कञ्चनजङ्घा महिलाहरूका लागि अपराजेय पर्वत मानिन्थ्यो । १९९० को दशकसम्म पनि कञ्चनजङ्घा आरोहण गर्ने सबै महिला पर्वतारोहीहरूको मृत्यु भएको थियो । जेनेट ह्यारिसनले सफलतापूर्वक कञ्चनजङ्घा शिखर चुमिन् तर अर्को वर्ष अर्को हिमाल आरोहणका क्रममा उनको निधन भयो । २००० को दशकमा धेरै महिला सफलतापूर्वक कञ्चनजङ्घा आरोहण गर्न सफल भएपछि भने ‘महिलाका लागि अपराजेय पर्वत’ भन्ने कुरा मिथकमा सीमित भयो ।
कञ्चनजङ्घा पर्वतारोहण समुदायमा संसारकै कठिन पर्वतमध्ये एक मानिन्छ । कतिपय आरोही यसलाई केटुपछि दोस्रो सबैभन्दा कठिन शिखर मान्छन् । कडा चट्टान, प्रतिकूल मौसम र हिमपहिरोको उच्च जोखिमले गर्दा कञ्चनजङ्घा आरोहण अत्यन्तै चुनौतीपूर्ण छ । धेरै पर्वतारोहीले सफलतापूर्वक शिखर चुमेपछि पनि फर्कने क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका छन् ।
दिकीछ्योलिङ गुम्बा
दिकीछ्योलिङ गुम्बा चीनको तिब्बतसँग सीमा जोडिएको हिमाली गाउँ ओलाङचुङ्गोलामा रहेको छ । ऐतिहासिक गुम्बामा करिब सयौँ वर्ष पुराना धार्मिक पुस्तक, ऐतिहासिक बुद्धका मूर्ति र अखण्ड बत्ती रहेको छ । धार्मिक रूपमा महत्त्वपूर्ण र ऐतिहासिक यस गुम्बामा देश विदेशका बौद्ध धर्मावलम्बी पुग्ने गरेका छन् ।
करिब तीन हजार दुई सय मिटरको उचाइमा रहेको ओलाङचुङ्गोलामा भोटे समुदायका मानिसको मात्र बसोबास छ । पहाडी तथा हिमाली क्षेत्रका प्राकृतिक दृश्यको अवलोकन गर्दै पुगिने ओलाङचुङ्गोलामा ५२ घर परिवारको बाक्लो बस्ती छ । यहाँ पुग्दा भोटे समुदायको भाषा, वेषभूषा र रहनसहनको समेत अवलोकन गर्न सकिन्छ । यस्तै मिक्वाखोला गाउँपालिका९५ पापुङको तोक्पेगोलास्थित सोदु पोखरी, भूत पोखरीसमेत आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेका छन् । यी पोखरीमा वैशाखदेखि असोजसम्म आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्छ । सदरमुकामदेखि सबारीसाधन र पैदल गरी दुई दिनको समयमा त्यहाँ पुग्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय; काठमाडौं शाखा
- जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
- एनआईसी एशिया बैंकका ग्राहक महानुभावलाई उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
- केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्बन्धमा
- थःने या (माथिल्लो टोलको जात्रा)
- सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य
- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
- दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू