कांग्रेसको १५ औं महाधिवेशन निष्पक्ष बनाउन साझा संयन्त्र बनाऔँ– प्रकाशशरण महत

नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्दै १५ औं महाधिवेशन निष्पक्ष बनाउन छोटो समयका लागि एउटा सहमतिको साझा संयन्त्र बनाउन प्रस्ताव गरेका छन्। आज पत्रकार सम्मेलन गर्दै महतले १४ औं महाधिवेशनबाट आएको कार्यसमिति र गत पुसमा भएको विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई जोड्न र यसबीचमा देखिएका मतभेद अन्त्य गर्न एउटा संयन्त्र बनाएर जान सकिने बताएका हुन् ।

पार्टीको बृहत्तर एकताका पक्षमा आफू रहेको बताएका महतले त्यसका लागि सभापति गगन थापाबाट पहल हुनुपर्ने बताए।

‘बृहत्तर एकताका लागि सभापति गगनजीबाट पहल हुनु जरूरी छ, फाट्टफुट्ट भेटघाटले मात्र त्यो पहल हुँदैन, दुवै पक्ष बस्नुपर्छ, हामीले कुनै पदको भागबन्डा खोजेका छैनौं, १५ औं महाधिवेशन निष्पक्ष हुन्छ भन्ने आधार र विश्वासको वातावरण तयार गर्नुपर्छ भन्नेमा छौं,’ महतले भने।

उनकाअनुसार पार्टीभित्र मुख्यगरी ३ वटा काम गर्न एउटा संयन्त्र आवश्यक देखिन्छ।

पहिलो हो, महाधिवेशन सुनिश्चितताको विषय। 

‘१५ औं महाधिवेशनको निष्पक्षता, पारदर्शीता, स्वामित्व र सहभागिता सुनिश्चित हुन जरूरी छ। त्यो हुनका लागि १४ औं महाधिवेशनबाट आएकाहरू र विशेष अधिवेशनबाट आएका साथीहरूका बीचमा एउटा समझदारी गर्न आवश्यक छ,’ उनले भने, ‘हामी महाधिवेशन निष्पक्ष गर्ने सुनिश्चित गर्छौं भनेर मात्र हुँदैन, त्यसको आधार र विश्वासको वातावरण हुनुपर्छ। हामीले महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता खोजेका हौं।’

विश्वासको वातावरण बनाउन पार्टीभित्रका दुवै पक्षबीच संवाद हुनुपर्नेमा उनले जोड दिए। ‘दुवै पक्ष बसेर दुई चार दिनमा एउटा समझदारी गरेर अधिवेशन सम्पन्न गर्ने साझा संयन्त्र बनाउनुपर्छ,’ उनले भने।

उनकाअनुसार पार्टीभित्र गर्नुपर्ने अर्को काम हो- क्रियाशील सदस्यता। 

गत पुससम्म नवीकरण तथा नयाँ वितरण गरेकाहरूलाई वैशाख १ देखि जेठ २८ गतेसम्म अद्यावधिक गर्न समय दिइएको छ। तर नेता पूर्णबहादुर खड्का र शेखर कोइराला पक्षका कतिपयले अद्यावधिक गरेका छैनन्। नेता महतले क्रियाशील सदस्यता टुंग्याउने विषयमा पनि दुवै पक्षबीच संवाद भई हल खोज्नुपर्नेमा जोड दिए। कांग्रेसमा महामन्त्री प्रदीप पौडेल नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति छ।

महतले विधान संशोधनसम्बन्धमा पनि पार्टीभित्र दुवै पक्षबीच छलफल भई सहमति हुनुपर्नेमा जोड दिए। महतले उठाएको यो तेस्रो विषय हो।

‘यी विषयहरू संवाद गरी निकास खोज्न पनि सानो संयन्त्र पार्टीभित्र आवश्यक छ। त्यो संयन्त्र १४ औं महाधिवेशनबाट आएको कार्यसमिति र विशेष महाधिवेशनबाट आएको कार्यसमिति समायोजन गर्ने वा सानो आकारको संयन्त्र बनाएर जाने हो,’ उनको प्रस्ताव छ, ‘यो संयन्त्र बनाएर महाधिवेशन निष्पक्ष हुन्छ भन्ने वातावरण बन्यो भने १५ औं महाधिवेशनबाट जो सभापति भए पनि सर्वस्वीकार्य हुने अवस्था रहन्छ। छोटो समयका लागि एउटा संयन्त्र बनाएर जान सकिन्छ।’

उनले क्रियाशील सदस्यता नवीकरण गरेका सबैलाई पार्टी केन्द्रले अद्यावधिक गरिदिए हुने पनि बताए। ‘मृत्यु भएका र अरू पार्टीमा गएकाहरूको विवरण जिल्लामार्फत् वडाहरूबाट मगाएर केन्द्रले डिजिटल वा अद्यावधिक गरे हुन्छ,’ उनले भने, ‘क्रियाशील अद्यावधिक गर्नै हुन्न भन्ने पक्षमा हामी छैनौं। तर वर्षौंदेखि पार्टीमा काम गरिरहेकाहरूको हकमा यो के हुन्छ, कतिपयले अद्यावधिक गरेका पनि छैनन्। अद्यावधिक नगरे महाधिवेशनमा भाग लिन पाइन्न भन्न हुँदैन किनभने गगनजी महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक रहँदा ती साथीहरूले नवीकरण गरिसकेका थिए।’

उनले पार्टीभित्र तत्काल बृहत एकताको प्रयास हुनुपर्ने बताए। ‘विश्वप्रकाशजीले मलाई पनि केही बुँदा ह्वाट्सएपमा पठाउनुभएको छ, हाम्रा कुरा उहाँहरूलाई थाहा पनि छ,’ उनले भने, ‘हामीले पार्टी एकता नचाहेको वा अलगिन खोजेको होइन।’

पार्टीभित्र मतभेद र अन्यौलको अवस्था सिर्जना हुँदा कतिपयले पार्टी छाडेको पनि महतको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै