झर्झराउँदो झरना । पहाडको बीच भागबाट झर्दै गरेको पानी । वरिपरि हरियाली साथै फेदमा सुन्दर पोखरी । सत्तरी मिटरभन्दा माथिबाट झरेको झरना हेर्न पर्यटकको घुइँचो लाग्छ । यो झरनाले सबैलाई लोभ्याएको छ । झरनाको फेद पुगुँपुँगु लाग्ने । झरनासँग सेल्फी खिच्नेको बाक्लै उपस्थिति रहन्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात पनि कम हुँदैन ।
डुम्रे–बेँसीसहर सडक छेउ तथा मस्र्याङ्दी नदी नजिकै रहेको बेँसीसहर नगरपालिका–१ दलालस्थित यो झरना पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला तीन सयभन्दा बढी पर्यटक आउने गरेका छन् । शुक्रबार, शनिबार र बिदाको समयमा यसको दोब्बर पर्यटक झरनाको आनन्द लिन आउने गरेका स्थानीय सुदीप पन्तले बताए ।
बेँसीसहर नगरपालिका–७ की अस्मिता थापाले भनिन्, ‘सडक छेउमै झरना रहेकाले यसको आनन्द लिन प्रायः कोहीले छुटाउँदैनन् ।’ झरनाको शीतलतासँगै सेल्फी खिच्दा मन आनन्दित हुने उनको भनाइ छ । त्यसैगरी अर्का पर्यटक शङ्कर श्रेष्ठले साथीभाइसँग झरनाको फोटो खिच्न र पौडी खेल्न रमाइलो हुने गरेको बताए।
झरना रहेको स्थल व्यवस्थित भने हुन सकेको छैन । पर्यटक ईश्वर सेढाइँले बाढीपहिरोका कारण सौन्दर्य नै परिवर्तन हुन थालेकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘यहाँ पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङको पनि राम्रो सम्भावना छु’ उनले भने।
झरनालाई व्यवस्थित गर्न बेँसीसहर नगरपालिकाले प्रयास गरिरहेको नगरप्रमुख गुमानसिंह अर्यालले बताए। उनले भने, ‘झरना रहेको स्थल व्यवस्थित गर्न रु नौ लाख विनियोजन गरेका छौँ।’
झरनामा मस्र्याङ्दी नदीको पानी तानेर पानी निरन्तर झार्ने, झरना तल पोखरी निर्माण गर्ने, पार्किङस्थल बनाउनेलगायत नगरपालिकाका योजना छन् ।
सो झरनामा क्यानोनिङ तथा र्याफ्टिङ पनि सञ्चालन गर्ने तयारी छ । चक्रिय अन्नपूर्ण पदमार्गको प्रवेशद्धार लमजुङ बेँसीसहर रहेकाले यो बाटो हुँदै जाने विदेशी पर्यटकसमेत आकर्षित हुने नगरपालिकाको अपेक्षा छ । गाईखुरे झरना बर्सेनि असारदेखि असोजसम्म झर्ने गर्दछ । बाह्रै महिना झरना झर्ने बनाउन लागिएको नगरप्रमुख अर्यालले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







