• वि.सं २०८२, कात्तिक १ शनिबार
  • Saturday, 18 October, 2025
  • युनिकोड
  • Live

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रणनीति आवश्यक रहेको सरोकारवालाहरुको जोड

विराटनगर । विश्व पर्यटन दिवस–२०२५ को अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशअन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिको आयोजनामा ‘पर्यटनः संकटबाट सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । समितिका सभापति भविसकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हालैको राजनीतिक घटनाक्रमले पर्यटन क्षेत्रमा पारेको असर र यसको समाधानका उपायबारे बहस गरिएको थियो । श्रेष्ठले भदौ अन्तिम साता देशमा घटेको राजनीतिक घटनाले पर्यटकमा असुरक्षा बोध गराएको उल्लेख गर्दै संकट व्यवस्थापनका लागि स्पष्ट रणनीति अवलम्बन आवश्यक रहेको बताए ।

कार्यक्रममा होटल व्यवसायी महासंघका उपाध्यक्ष रविन गौतमले निजी लगानीमा रोजगारी सिर्जना गर्दै आएको पर्यटन व्यवसायमाथि आन्दोलित समूहले आक्रमण गर्नु निन्दनीय कार्य भएको टिप्पणी गरे । ‘सबल अर्थतन्त्र निर्माणमा पर्यटनको भूमिका महत्त्वपूर्ण छ, यसलाई अस्थिर बनाउने कार्य राष्ट्रिय हित विपरीत हो,’ गौतमले भने ।

अन्य पर्यटन व्यवसायीहरूले पनि पर्यटन क्षेत्रलाई यथाशीघ्र पुनःसक्रिय बनाउन ढिला नगर्न आग्रह गर्दै नेपाल सुरक्षित छ भन्ने सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा फैलाउनु जरुरी रहेको औँल्याए । उनीहरूले आगामी कोशी पर्यटन वर्ष–२०८२ लाई लक्षित गर्दै भारतका प्रमुख सहरहरूमा कोशी प्रदेशका पर्यटकीय गन्तव्य र पर्यटक सुरक्षासम्बन्धी सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

पर्यटन विज्ञ डा. प्रनिल नेपाल उपाध्यायले पर्यटन पुनस्र्थापनाको सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यासहरू प्रस्तुत गर्दै भने, ‘अहिले नै नेपाल सुरक्षित छ’ भन्ने स्पष्ट सन्देश प्रवाह गर्नुपर्छ ।’ हाल आएका पर्यटकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आकर्षक प्याकेजहरू निर्माण गर्न सके संकटलाई अवसरमा बदल्न सकिने उनले बताए ।

कार्यक्रममा अष्ट्रेलियाका पर्यटन संकट व्यवस्थापन विज्ञ डा। डेभिड विर म्यानसँग भिडियो संवादमार्फत अनुभव आदानप्रदान गरिएको थियो। उनले संकटका समयमा अन्तर्राष्ट्रिय समन्वय र विश्वास निर्माण रणनीतिको आवश्यकता औँल्याए ।

कार्यक्रममा पर्यटन क्षेत्रका अग्रज, व्यवसायी, नीति निर्माता र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले तत्काल पर्यटन पुनरुत्थानका लागि राज्य, निजी क्षेत्र र स्थानीय तहबीचको समन्वयलाई बलियो बनाउनु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै