• वि.सं २०८२, कात्तिक १ शनिबार
  • Saturday, 18 October, 2025
  • युनिकोड
  • Live

कोशी प्रदेशको शान पदमार्गमा  आधारित पर्यटन

कोशी प्रदेशको पदमार्गमा आधारित  पर्यटन परियोजना सुरू भएको छ । कोशी प्रदेशमा स्वीस सरकार, सङ्घीय सरकार, प्रदेश स्थानीय र स्थानीय सरकारको संयुक्त लगानीमा सुरू भएको परियोजनाको कुल लागत २ अर्ब ४५ करोड ६१ लाख रूपैयाँ रहेको छ । ४ वर्षे परियोजनाको मुल लक्ष्य स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै नवीन तथा दिगो पर्यटनका माध्ययमबाट कोशी प्रदेशका जनताको आर्थिक उपार्जनमा वृद्धि गर्ने रहेको जनाइएको छ । परियोजनाले चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग र मुन्दुम पदमार्गअन्तर्गत ४ सय  किलोमिटर पदमार्गको निर्माण तथा पुनः निर्माण गर्ने लक्ष्य लिएको छ । परियोजनाले कोशी प्रदेश अन्तर्गतका २९ वटा स्थानीय तहलाई समेटेको छ ।

परियोजना कोशी प्रदेशका लागि मात्रै नभई नेपालकै लागि गेमचेन्जर हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए । स्वीस राजदूत डा. नियेल म्युवलीले कोशी प्रदेशमा पदपर्यटनको सम्भावना भएको र पर्यटनको माध्ययमबाट यहाँका न्यून आय भएका जनताको आयवृद्धि गर्न सकिने विश्वास व्यक्त गरिन् । कार्यक्रममा  कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, परियोजना सञ्चालन हुने २९ वटै स्थानिय तहका प्रमुख, उपप्रमुखलगायतको सहभागिता रहेको थियो ।  यहाँ हामी चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग र लालीगुराँस पदमार्गका बारेमा चर्चा गर्दैछौँ । मुन्दुम पदमार्गको बारेमा यसै म्यागेजिनको अर्को शीर्षकमा चर्चा गरिएको छ । 

फाल्गुनन्द पदमार्ग

पाँचथरको नयाँ तथा विकास गर्नुपर्ने गन्तव्यमा गुरु फाल्गुनन्द पदमार्ग ९लब्रेकुटी(गजुरमुखी धाम(लारुम्बा(चुक्कीनाम्बा० लाई समेटेको छ । राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले जन्म लिएको, ज्ञान प्राप्त गरेको र समाधि लिएको ऐतिहासिक स्थानहरूलाई धार्मिक मार्गमा समेटेर ‘फाल्गुनन्द पदमार्ग’ लाई १०० नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । 

‘फाल्गुनन्द पदमार्ग’को अवधारणामा झापाको अर्जुनधारा नगरपालिका, इलामको माई नगरपालिका, इलामकै माङ्सेबुङ गाउँपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकालाई समेट्छ । ‘फाल्गुनन्द पदमार्ग’ को प्रवेश विन्दु झापाको अर्जुनधारा नगरपालिकालाई बनाउन सकिने र इलामको माई नगरपालिकाको दानाबारी, माङ्सेबुङ गाउँपालिकाको लारुम्बा, रवि, राँके हुँदै पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित लेब्रेकुटी र सिलौटीलाई महत्त्वपूर्ण धार्मिक करिडरको रूपमा विकसित गर्न सकिन्छ । धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा पहिल्यैदेखि चिनिएको झापाको अर्जुनधारामा फाल्गुनन्दको पूर्णकदको शालिक, फाल्गुनन्द शान्ति वाटिका, किरात माङहिम लगायतका धार्मिक महत्त्वका स्थल निर्माण भइसकेका छन् ।

अर्जुनधारादेखि नै शालिक, मठमन्दिर र स्मारकहरू बनाउँदै लगियो भने लारुम्बा, सिलौटी र लेबे्रकुटी जाने धार्मिक पर्यटकहरूले तीर्थयात्राको सार्थक अनुभूति हुनेछ । अर्जुनधाराबाट ३५ किलोमिटर उत्तरमा लारुम्बा धार्मिक स्थल छ भने त्यहाँबाट रवि हुँदै पाँचथरको लब्रेकुटी र सिलौटी पुग्न करीव ६० किलोमिटर सडक मार्ग छिचोल्नु पर्दछ । झापाको दमक हुँदै इलामको रवि चिसापानी र पाँचथरको लेब्रेकुटी-सिलौटी जोड्ने सडकको नाम फाल्गुनन्द मार्ग प्रस्ताव गरिएको छ ।

चियाबारी पदमार्ग

सूर्योदय नगरपालिकाको फिक्कलदेखि अन्तुसम्म करिब २० किलोमिटर लामो ‘चियाबारी पदमार्ग’९टी ट्रेल० निर्माण गरिने भएको छ । सवि।सं। सरकारको हेल्भेटास कार्यक्रम अन्तर्गत ५५ प्रतिशत लगानी र नेपाल सरकारका विभिन्न निकायको ४५ प्रतिशत लगानीमा पदमार्ग निर्माण गर्न लागिएको हो ।

फिक्कल–अन्तु चियाबारी पदमार्ग निर्माणले अन्तुबाट देखिने सूर्योदय, सूर्यास्त र चिया बारीको सौन्दर्यमा पर्यटक रमाउन सक्ने विश्वास लिएको समेत पालि काले जनाएको छ । सवि।सं। सरकार र नेपाल सरकारबिचमा गत २०८१ वैशाख २७ गते नै पदमार्ग निर्माणका लागि सम्झौता भइसकेको छ । सन २०२४ देखि २०२८ सम्म परियोजना सञ्चालन हुने बताइएको छ ।


 

करसोङ पदमार्ग

आन्तरिक पर्यटकको आवतजावत बढेपछि झापाको बाहुनडाँगीबाट इलामको प्रसिद्ध धार्मिस्थल पाथीभरा हाँसपोखरी जोड्ने पदमार्ग निर्माण भएको छ । लेप्चा जातीको बसोबास रहेको इलामको रोङ गाउँपालिका क्षेत्रका पर्यटकीयस्थलको प्रवर्द्धन गर्न २९ किलोमिटर लामो पदमार्ग निर्माण गरेपछि रोङ गाउँपालिकामा पर्यापर्यटनको माध्यमबाट जनताको आयस्तरमा वृद्धिमा टेवा पुगेको छ । पदमार्गको नाम लेप्चा पनि जातिको भाषामै राखिएको छ । 

इलाम जिल्लामा मात्र बसोबास गर्दै आएका लेप्चा समुदायको भाषाबाट सो पदमार्गको नाम करसोङ (सुनाखरी) नामाकरण गरिएको छ । करसोङ पदमार्ग ४०० देखि एक हजार ८०० मिटरसम्मको उचाइमा रहेको छ । यो पदमार्गले इलामको रोङ गाउँपालिका र सूर्योदय नगरपालिकासहित झापाको मेचीनगर नगरपालिकाको बाहुनडाँगीलाई समेटेको छ । इलामको हाँसपोखरीबाट सुरु हुने पैदलमार्ग झापाको बाहुनडाँगीमा आएर टुङ्गिएको छ । पदमार्गको यात्रा क्रममा हाँसपोखरी, चिन्डेपानी, गुगल डाँडा, देउराली डाँडा, दैले, लामा डाँडा, झण्डी डाँडा पर्यटकीय क्षेत्र पुगिन्छ । त्यस्तै सत्तालसेन टाकुरा, गुरुधुम डाँडा, भिमसेन ढुङ्गा, मेची सिद्धि दोभान, इन्द्रेणी झरना, सलकपुर र चिसापानी पर्यटकीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

पदयात्राबाट क्रममा पर्यटकहरूले प्राकृतिक सुन्दरतासँगै सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्त झण्डीडाँडाबाट अवलोकन गर्न सकिन्छ । नेपाल भारत सीमा क्षेत्र नजीकै रहेको सलकपूरमा कृषि पर्यापर्यटनमा पर्यटक रमाउन सक्नेछन् । सलकपुरमा सिजनमा स्वादिलो सुन्तला र एभोकार्डो चाख्न पाउँछन् । यहाँ केराबाट बनाइएको परिकार पनि चाख्न पाइन्छ ।

रम्यङमा करिब तीन हजार ५०० लोपोन्मूख लेप्चा जातिको बसोबास रहेको हुँदा उनीहरूको सांस्कृतिक पहिचान पनि पर्यटकको आकर्षण बन्ने देखिएको छ । प्राकृतिक रूपमा पदमार्ग क्षेत्र नै सुन्दर रहेको छ । चरा चुरुङ्गीको बसोबाससमेत रहेको हुँदा चरा हेर्न पर्यटक आउने सम्भावना छ । पदमार्गको पुछारको क्षेत्र सलकपुर सुन्तला, अलैँची, एभोकार्डो र घरबासका लागि प्रख्यात छ । मेची नदीको नजीक रहेको सो क्षेत्रमा पाइने सुन्तला भारतको पश्चिम बङ्गालको राजधानी कोलकातामा समेत पुग्ने गरेको छ । सुन्तला खानकै लागि बर्सेनी यहाँ भारतीय बङ्गाली पर्यटक घरबासमा बस्ने गरी आउने गरेका छन् ।

लालीगुराँस पदमार्ग

लालीगुराँस पदमार्ग कोशी प्रदेशको नयाँ पहिचान गरिएको र प्रवर्धन गर्नुपर्ने पर्यटकीय गन्तव्य हो । यस पदामार्गले छुने क्षेत्रहरूमा तेह्रथुम जिल्लाका लालीगुराँस नगरपालिका, म्याङलुङ् नगरपालिका, फेदाप गाउँपालिका, सङ्खुवासभा जिल्लाका धर्मदेवी नगरपालिका, मादी नगरपालिका, चैनपुर नगरपालिका, पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका, सिलिचोङ गाउँपालिका, चिचिला गाउँपालिका र खाँदबारी नगरपालिका पर्दछन् । लालीगुराँस पदमार्गको लम्बाई करिव १५५ किलोमिटर रहेको छ ।

तीनजुरे मिल्के जलजले क्षेत्र, गुफा पोखरी, नुम बजार, तुम्लिङटार, ह्यात्रुङ झरना जस्ता पर्यटकीय गन्तव्यको अवलेकन गर्न सकिन्छ । यसबाहेक यो पदमार्ग क्षेत्रमा यात्रा गर्दा विभिन्न विशेषता भएका अन्य ठाउँहरु जस्तै चौकी बजार, मङ्गलबारे, माङ्सिमा, मत्स्यपोखरी, छ्याङकुटी, खाँदबारी बजार, जिरीखिम्ती बजारजस्ता क्षेत्रहरुको अवलोकनका साथै रैथाने खानको स्वाद लिन सकिन्छ । यस लालीगुराँस पदमार्गको विस्तृत सर्वेक्षण तथा लागत अनुमानको कार्य सम्पन्न भएपछि आगामी आर्थिक वर्षमा निर्माण कार्य शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै