नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा सूचना केन्द्र स्थापना तथा संचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापना तथा संचालनका सम्बन्धमा बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले बीमा क्षेत्र व्यापक रूपमा विस्तार हुँदै गएको सन्दर्भमा बीमा सम्बन्धी छरिएर रहेका सूचनाहरूलाई एकीकृत गर्न र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गर्न केन्द्र आवश्यक भएको बताउनुभयो ।
बीमा सूचना केन्द्रको स्थापनाबाट बीमक, बीमित लगायत सबैको हित हुने उल्लेख गर्नुहुँदै अध्यक्ष शर्माले बीमा क्षेत्रलाई बढी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सम्बद्ध सबैका सुझावहरू समेतका आधारमा कानून बमोजिम बीमा सूचना केन्द्र स्थापनाको कार्य छिट्टै अगाडि बढाउने जानकारी दिनुभयो ।
अध्यक्ष शर्माले बीमा सूचना केन्द्र स्थापना गर्दा केन्द्रको संरचना, मोडालिटि र संचालन आयाम कस्तो हुने भन्ने सम्बन्धमा व्यावहारिक राय सुझावहरू दिन बीमकहरूसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिव डा. बैकुण्ठ अर्यालले विज्ञका रूपमा बीमा सूचना केन्द्र स्थापना, संचालन र व्यवस्थापन सम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुहुँदै बीमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना, जानकारी र विश्लेषण उपलब्ध गराउन बीमा सूचना केन्द्रको स्थापना आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बीमक संघका अध्यक्ष बीरेन्द्र बैदवार र नेपाल जीवन बीमक संघका अध्यक्ष प्रवीण रमण पराजुलीले बीमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बीमा सूचना केन्द्र स्थापना गर्न सहभागीहरूबीच सहमति समेत भएको छ ।
साथै, छलफलका क्रममा आएका राय सुझावहरू समेटी प्रारम्भिक मस्यौदालाई परिमार्जन गरी बीमा सूचना केन्द्र स्थापना गर्ने कार्यलाई अगाडि बढाउने जानकारी पनि गराइएको छ ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरू तथा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पुष्पा कुँवरले गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






