दमौली । तनहुँको आबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहरा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । राजमार्गको आबुखैरेनी गाउँपालिका २ मा अवस्थित उक्त ठाउँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ ।
राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीयस्थलका रूपमा विकास भएपछि यस ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन फूल रोपिएको छ । लायन्स क्लब अफ आबुखैरेनी सिटी र लियो क्लब अफ आबुखैरेनीले आज ऐनापहरामा निर्माणाधीन उद्यानमा विभिन्न प्रजातिका फूल रोपेको हो । लियो क्लब अफ आबुखैरेनी सिटीका उपाध्यक्ष नीरज श्रेष्ठले गाउँपालिकाले यस ठाउँलाई सुन्दर पर्यटकीयस्थल बनाउन लागिपरेको र उक्त अभियानमा आफूहरूले साथ दिएको बताए ।
उनले भने, “ऐनपहरामा गाउँपालिकाको लगानीमा उद्यान बन्दै छ । उद्यान क्षेत्रलाई हरियाली र सुन्दर बनाउन फूल रोपिएको हो ।” गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऐनापहरालाई गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बनाउने अभियानमा लागिएको बताए । उहाँका अनुसार गाउँपालिकाले यहाँ रहेका ढुङ्गामा आकृति खोपेपछि यस ठाउँमा घुम्न आउनेको सङ्ख्या बढेको छ । यहाँ दैनिक दुई सयभन्दा बढी पर्यटक घुम्नका लागि आउने गरेका छन् ।
चुमानले भने, “यसै रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाउन यो कामलाई अगाडि बढाइएको हो ।” झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ ।” पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ऐनापहरामा उद्यान निर्माणको कामलाई अगाडि बढाइएको चुमानले बताए । उहाँका अनुसार यहाँ उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ४० लाख बजेट विनियोजन गरिएको छ ।
चुमानले भने “ऐनापहरालाई तनहुँको मात्र नभई गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने सोच राखेका छौँ ।” गण्डकी प्रदेशको प्रवेशद्वारमा रहेको ऐनापहरामा मनमोहक झरना छ । कलकल बगेको पानी, हरियाली जङ्गल । खोँचबाट झरेको पानीले ऐनापहरा झरना पुग्ने जोकसैको पनि मन लोभ्याउँछ । थकित मुद्रामा यहाँ पुग्नेहरू आनन्दित भएर फर्किन्छन् । पृथ्वीराजमार्गबाट एक मिनेटको दूरीमा पुगिने ऐनापहरा झरना आकर्षक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको छ ।
राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलको रूपमा पनि ऐनापहरा झरना विकास भइरहेको छ । काठमाडौँ, चितवनबाट पोखरातर्फ आउने र पोखरातर्फ यात्रा गर्ने सर्वसाधारण सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन् । गाउँपालिकाले यस ठाउँमा स्काइ साइक्लिकिङ, सिसाको पुल बनाउने योजना अगाडि सारेको छ । सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ । गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्छ ।
तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ । यस ठाउँलाई व्यवस्थित गर्न डिपिआरअनुसार १० करोड बजेट आवश्यक पर्छ । डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम




