धादिङ । जिल्लाको उत्तरी क्षेत्र गंगाजमुना गाउँपालिका ६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास) र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवर्धनमा जुटेका छन् । गोरखा जिल्लाको आरुघाट गाउँपालिका ४ आर्खेत बजारबाट सुरु हुने धादिङको गंगाजमुना गाउँपालिकास्थित ‘गंगाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नम्बर ६ बसेरीमा भैँसेगाउँ छ ।
गुरुङ समुदायको बाहुल्यता रहेको भैँसेगाउँमा पर्यटन प्रवर्धन गर्न गंगाजमुना गाउँपालिकाले घरबास निर्माणको काम अगाडि बढाएको छ । गुरुङ जातिको एक सय ५० घरधुरी रहेको भैँसेगाउँमा बसोबास गर्ने धेरै स्थानीय नेपाल, भारत र बेलायती सेनामा कार्यरत छन् । आफ्नो जागिरे जीवनको अवकाशपछि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता बोकेका यहाँका गुरुङ समुदाय आफ्नो गाउँका विकासका लागि लागिपरेका छन् । गाउँपालिका(६ का वडा सदस्य एवम् भैँसेगाउँका स्थानीय धनबहादुर गुरुङले गाउँको पर्यटन विकासका लागि भैँसेगाउँ जुटेको बताए ।
भैँसेगाउँमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहिँ उत्पादित स्थानीय खानेकुरा ख्वाइन्छ । गंगाजमुना गाउँपालिका ६ मा एक हजार ७६ घरधुरी छन् । जसमध्ये झण्डै चार सय घरधुरी गुरुङ समुदायको छ । गुरुङबाहेक यस गाउँमा ब्राम्हण, क्षेत्री, घले, नेवार, राईसमेत बसोबास गर्छन् । समुन्द्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा अवस्थित आर्खेत बजारदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको तीनसुरे भ्यू प्वाइन्टसम्म यो वडा फैलिएको छ ।
प्राकृतिक सम्पदाले धनी रहेको यस वडामा सुन्दर हावापानी, जल, जङ्गल, बाक्लो बस्ती, खेतीयोग्य जमिन रहेको छ । गाउँपालिकाका पर्यटन विकास संयोजक एवम् वडा नम्बर ६ का वडाध्यक्ष रमेश ढकाल घरबास र पुरानो चौँरी घोडा नाचमार्फत भैँसे गाउँ पर्यटन प्रवद्र्धनमा जुटिरहेको बताउँछन् । ‘गंगाजमुना तीनसुरे पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको अग्र्यानिक खाद्यान्न र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि भैँसे गाउँ घरबास निर्माण गरेका हौँ”, पर्यटन संयोजक ढकालले भने ।
भैँसे गाउँमा नेपालकै सबैभन्दा पुरानो माने गुम्बासमेत छ । नेपालकै दोस्रो लामो झोलुंगे पुलले यस वडालाई छोएको छ । उक्त पुलको लम्बाइ चार सय २० मिटर र उचाइ तीन सय ५० मिटर रहेको छ । बसेरी फार्म हाउससमेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो । यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ । यस गाउँपालिकाभित्र भैँसे गाउँमा मात्र नाचिँदै आएको परम्परागत नाच ‘चौँरी घोडा नाच’ यहाँको आकर्षक नाच हो । तिब्बत र नेपालको युद्धपछि तिब्बतलाई नेपालले पराजित गरेपछि उक्त नाच नाच्न थालिएको इतिहास छ ।
उक्त नाच धादिङको रुविभ्यालीपछि भैँसे गाउँमा नाचिँदै आएको छ । उक्त नाचको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको गाउँपालिकाका वडासदस्य नवराज ढकालले जानकारी दिए । भैँसे होमस्टेदेखि गंगाजमुना तीनसुरे पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुगिन्छ । बन्दी डाँडाबाट अदुचेत खर्क, नांगे चौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेन खर्क हुँदै समुन्द्र सतहदेखि दुई हजार नौ सय २० मिटर उचाइमा रहेको ‘तीनसुर भ्यू टावर’ पुग्न सकिन्छ । गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यहाँ भएका प्रकृति र संस्कृति सम्पदालाई जोगाउँदै सिङ्गो गंगाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले काम गरिरहेको बताए । ‘गंगाजमुनाले अगाडि बढाएको पाँच वटा गौरवको आयोजनामध्ये तीन वटा आयोजना पर्यटन क्षेत्रका छन्, गंगाजमुनाले पर्यटन क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ”, उनले भने ।
गंगाजमुनाले वडा नम्बर ६ मा रहेको भैँसेगाउँ र वडा नम्बर ३ मा रहेको अम्बोटे गाउँमा होमस्टे सञ्चालन गरिरहेको छ । होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य भएको उनको भनाइ छ । यस गाउँपालिकाले चालू आर्थिक वर्षमा गाउँपालिकाभित्रको समग्र पर्यटन क्षेत्रको विकासका लागि एक करोडभन्दा बढी रकम विनियोजन गरेको छ । गंगाजमुना गाउँपालिकामा ब्राह्मणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाटुनाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृति अनुभव गर्न पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







