सङ्गीता राई
धरान - सुनसरी । धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनविज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका २० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा अहिलेसम्म भएको थिएन । पहिलोपटक नेपाली कांग्रेस सुनसरी १ क्षेत्रीय समितिले हालै धरान उपमहानगरपालिका २० विष्णुपादुकाको वंशिलामा लालीगुराँस वृक्षरोपण कार्यक्रम आयोजना गर्दा त्यहाँ गुराँस फुल्ने गर्छ भन्ने कुराले धेरैलाई आश्चर्य बनाएको थियो । वंशिला र महाभारत डाँडा क्षेत्रमा छ सय २६ वटा गुराँसका बिरुवा रोपिएको थियो ।
वंशिला क्षेत्र डाँडा समुद्र सतहदेखि १४ सय मिटर माथिको उचाइमा रहेकाले यस ठाउँमा लालीगुराँस फुल्ने उपयुक्त हावापानी रहेको हुँदा वृक्षरोपण गरिएको नेपाली कांग्रेस सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताउछन । उनले भने, “धरानलाई लालीगुराँसको सहर भनेर स्थापित गर्ने उद्देश्यले लालीगुराँसको बिरुवा रोपण गरिएको हो ।” गुराँस र उच्च पहाडी क्षेत्रप्रति पर्यटकीय आकर्षणलाई धरानमै केन्द्रित गराउन वंशिलामा गुराँस संरक्षण र विकासको अभियान सुरु गरिएको बताउँदै तामाङले यो क्षेत्रको पर्यटकीय महत्व प्रचारप्रसारमा आएपछि यहाँको सडक पूर्वाधार र भौतिक विकासको ढोका खुल्ने छ भनेका छन ।’
गुराँसका बिरुवा रोप्ने कार्यक्रमका प्रमुख अतिथि कांग्रेसका नेता डा.शेखर कोइरालाले धरानको विकट क्षेत्रहरुमा विकासको लागि रचनात्मक कदमको जरुरी रहेको बताउछन । उनले लालीगुराँस लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै लालीगुराँस संरक्षण अभियानमा निरन्तर लाग्नुपर्नेमा जोड दिएका छन । मौसम सफा भएको समयमा यस क्षेत्रबाट मकालु र कञ्चनजङ्घा हिमालको दृश्य मज्जाले अवलोकन गर्न सकिने स्थानीय विक्रम तामाङ बताउछन । दृश्यालोकन गर्नेहरुका लागि महाभारत पर्वत शृङ्खला उत्तरका पहाडी जिल्लाहरु र दक्षिणतर्फ धरान बजारदेखि तलतिरका इटहरी, चारकोसे जङ्गल, सर्दु, खर्दु, भेडेटारलगायतका रमणीय ठाउँहरुको अवलोकन गर्न सकिन्छ । पहाडी क्षेत्रको चिसो वातावरणका साथै गुराँस फुलेको हेर्न पर्यटकहरु तेह्रथुमदेखि ताप्लेजुङसम्म ठूलै खर्च गरेर पुग्ने गरेका छन् ।
यस क्षेत्रमा रैथाने लालीगुराँसको जङ्गल रहेको धरान उपमहानगरपालिका २० वडा सदस्य देवेन्द्र राईले बताउछन । विष्णुपाउ सामुदायिक वनको वंशिलादेखि महाभारत डाँडा क्षेत्रको जङ्गलमा फागुन, चैत महिनामा गुराँस ढकमक्क फुल्ने गर्दछ । यहाँ पाइने लालीगुराँस तेह्रथुमको तिनजुरे मिल्केतिरको भन्दा फरक प्रजातिको रैथाने गुराँस भएको अनुमान गरिए पनि कुन प्रजातिको भन्ने विज्ञहरूबाट यकिन नभएको उनको भनाइ छ । गुराँसको जङ्गलसँगै अन्य प्रजातिका रुखहरु पनि भएकाले गुराँसको वन विस्तारै नासिँदै गएको स्थानीयवासी बताउँछन् । वडासदस्य राईले भन्छन “वर्षौपिच्छे लाग्ने डढेलोका कारण नयाँ गुराँस हुर्कन नपाउने पुराना रुख डढ्ने गरेकाले अरु बोट बिरुवा बढेको छ ।”
वंशिला, महाभारत डाँडा धरान उपमहानगरपालिका १७ मङ्गलबारे बजार क्षेत्रबाट करिब १४ किलोमिटर दूरीमा छ । मङ्गलबारेबाट धरान भञ्याङ्ग सात किलोमिटर, भञ्जाङबाट विष्णुपादुका मन्दिर दुई किलोमिटर र मन्दिरबाट वंशिला झन्डै छ किलोमिटरको दूरीमा पर्दछ । स्थानीयवासीले गरेको श्रमदान र धरान उपमहानगरपालिकाले चार लाख बजेटबाट विष्णुपादुका मन्दिरबाट माथि गाडी सवारी चल्न सक्ने पाँच किलोमिटर सडक निर्माण गरिएको छ ।
भिरको जोखिमपूर्ण बाटोमा कहीँ पनि टेवा पर्खाल र भित्ताबाट वर्षाको पानी बग्ने खोल्सा र नाला पनि छैन भने वर्षायाममा ठाउँठाउँमा जाने ससाना पहिरोले अवरुद्ध हुने गरेको छ । वंशिला नजिकै महाभारत डाँडा रहेको छ भने १५ सय मिटरको उचाइमा हिमालय ध्यान केन्द्र स्थापना गरिएको छ । यो डाँँडा महाभारत पर्वत शृङ्खलाको सुनसरी धनकुटा सिमानामा पर्दछ । ध्यान केन्द्रमा फर्पिङबाट आएका गुरु सोनाम लामाले यस क्षेत्रको मौसम आनन्ददायक रहेको बताएका छन । यस क्षेत्रमा पहाडी भेगको जस्तो हावापानी रहेको छ लामाको भनाइ छ । यसअघि यस क्षेत्रमा घाँस, दाउरा गर्ने, सिकार खेल्नेबाहेक कोही पनि पुग्ने गरेका थिएनन् ।
स्रोत: रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







