भोजपुर - पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो । समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७र८७ बाट उद्यान निर्माण थालिएको हो । यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो । त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ । उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको रु ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ ।
उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ । उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिए । दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ । यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए ।
त्यस्तै यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उनको भनाइ छ । यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको उनले जानकारी दिए । “उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ”, उनले भने, “उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ । खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्नेछन् ।”
उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए । यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उनको धारणा छ । “बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ”, प्रमुख शाहले भने, “उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ ।”
यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताए । यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उनको भनाइ छ । “यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ”, अध्यक्ष राईले भने, “यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । उद्यान निर्माणले यसको थप उजागर हुन्छ । संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







