काठमाडौं । मकवानपुर राज्य मध्यकालको नेपाल एकीकरणको पूर्व एक स्वतन्त्र र प्रख्यात राज्य थियो । इतिहासका पाना पल्टाएर हेर्ने हो भने कुनै समय मकवानपुर स्वतन्त्र राज्य थियो । यसको राजधानी मकवानपुरगढी थियो । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक एवम् पर्यटकीय महत्व बोकेको स्थान हो । नेपालका लागि यो गढी सदैव रणनीति महत्वको स्थानको रुपमा चिनिन्छ । मकवानपुरगढी दरबार हेटौँडादेखि १६ किलोमिटर पूर्व कान्तिपुरराज्यपथ सडकसँगै समुन्द्री सतहदेखि १०१७ मिटरको पहाडी उचाइको थुम्कोमा अवस्थित रहेको छ । सेन वंशीय राजाहरुले १३ औं शताब्दीको सुरुतिर यहाँ शासन गरेको इतिहास पाइन्छ । सेन वंशका प्रतापी राजा मणीमुकुन्दसेनकै नामबाट मुकुन्दपुर, माकन्दपुर मुकुनपुरको अपभ्रंश हुदै मकवानपुर नामाकरण भएको हो भन्ने जनविश्वास रहेको पाइन्छ । सेन वंशका मुकुन्द सेनका छोरा लोहाङसेनदेखि अन्तिम राजा दिगबन्धन सेन सम्मका राजाहरूले करिब ३०० वर्षसम्म मकवानपुर गढीलाई राजधानी बनाई शासन गरेका थिए । १३ औँ शताब्दीभन्दा अगाडि सेन वंशले राजकाज चलाउनका लागि भौतिक संरचना बनाएका थिए । नेपालको सबैभन्दा ठूलो गढी हो ।
मकवानपुर गढी राजा तुलासेनको राज्य कालमा निर्माण भएको विश्वास गरिन्छ । गढीको तीनओटा भाग रहेका छन् । ठुलोगढी, सानो गढी र ढुङ्गेगढी । ठूलो गढीमा दुई दुईओटा दरबार तथा पानीट्याङ्कीहरू रहेका छन् भने ठुलो गढीको दक्षिण र पश्चिमतर्फ करिब ३०० मिटरको दूरीमा सानोगढी र करिब २ किलोमिटर उत्तरपूर्वमा ढुङ्गेगढी रहेका छन् । पृथ्वीनारायण शाहले एकीकरणको दौरान उपत्यका विजय प्राप्त गर्न मकवानपुर राज्यको एकीकरण अत्यावश्यक ठानी वि.सं. १८१९ साल भदौ महिनाको ९ गते (ई.सं. १७६२ अगष्ट २१) को बिहानैबाट हमला गरी करिब आठ घण्टाको लडाई पश्चात मकवानपुरगढीमा विजय प्राप्त गरेका थिए । तत्पश्चात मकवानपुरगढीबाट पूर्वमा रहेको हरिहरपुरगढीमा गोर्खाली फौजले ४ अक्टोबर १७६२ का दिन कब्जा गरे पश्चात् मकवानपुर राज्यको अन्त भएको थियो । नेपाल एकीकरण शुरु भएदेखि वर्तमान नेपाली सेनाको स्थापना भएको हो । नेपाल अङ्ग्रेजको युद्धमा नेपाली फौजले देखाएको बहादुरीका कारण अङ्ग्रेजहरुले सेनामा भर्ना गरी गोर्खाली सेनाको नामाकरण गरेका थिए ।
मकवानपुर राज्यको पराजयपछि राजा दिगबन्धन सेनको सहयोगार्थ गुरगिन खाँको नेतृत्वमा आएका करिब २५०० (पच्चिस सय) मुगल सेनाका फौजलाई गोर्खाली सेनाले वि.सं. १८१९ माघ १० गते परास्त गरेका थिए । उक्त लडाईमा मुगलका करिब १७०० ( सत्रसय ) फौज र गोर्खाली फौजतर्फ करिब ३० (तीस) जनाको मृत्यु भएको थियो र करिब पाँच सय बन्दुक , दुई थान तोप हात पारेका थिए । उक्त लडाईको जीत पश्चात गोर्खाली सेनाले ठूलो सङ्ख्यामा आधुनिक हतियार हात पारेको थियो । उक्त लडाईको सम्झनामा मकवानपुरगढी दरबारमा प्रत्येकवर्ष माघ १० गते विजय उत्सव मनाउने गरिएको छ ।
ई. सं. १८१४ सालदेखि १८१६ सालसम्म भएको नेपाल अङ्ग्रेज युद्धको समयमा अङ्ग्रेज फौजले मकवानपुरगढीमा हमला गरेका थिए । सुगौली सन्धीको हस्ताक्षर गर्न नेपाल पक्षबाट ढिलाइका कारण पुन: अङ्ग्रेजहरू असन्तुष्ट भई अक्टरलोनीको नेतृत्वमा दोस्रो पटक तराई हुदै मकवानपुरगढीमा हमला गरेका थिए तथापि गढीलाई भने कब्जा गर्न सकेका थिएनन् । मकवानपुरगढीले एकीकरण अभियाननलाई साकार पार्न तथा विदेशी सेनाहरुलाई धपाई देशलाई जोगाउन तथा नेपाललाई स्वाधीन राष्ट्रको रूपमा विश्वसामु उभ्याउन महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ । लोहाङ सेनसहित मकवानपुरमा राघव सेन, हरिहर सेन, शुभ सेन, माणिक सेन, हेमकर्ण सेन र दिग्बन्धन सेन गरी सात पुस्ताले करिब ३०० वर्ष शासन सञ्चालन गरेका थिए । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन थिए । उनले जम्मा २ वर्ष मात्र शासन गरेको इतिहास पाइन्छ ।
गढीको बीचभागमा वंशगोपालको मन्दिर छ । वंशगोपाल श्रीकृष्णको मन्दिर हो । वंशगोपालको मुर्तिलाई साङ्लाले बाधिएको छ । वि. सं. १९९० सालको भुकम्पमा परी वंशगोपालको अग्लो मुर्ति ढलेर हात भाँचिएको हुनाले फेरि नढलोस् भनि साङ्लाले बाधेको भन्ने विश्वास पाइन्छ भने अर्को तर्फ इतिहास हेर्दा सेन वंशीय शासनकालमा भगवानको पाउमा तोरीको फूल टाँसिएको देखेपछि वरिपरिका बासिन्दाले पुजारीलाई जानकारी गराएछन् । पुजारीले चियोचर्चो गर्दा भगवान रात्रीकालीन समयमा घुम्नका लागि निस्कनु हुदो रहेछ । चितवनको तोरीबारी घुमेर बिहान फर्कने गर्दा उहाँका पाउमा तोरीको फूल टासिएको तथ्य फेला पारेका कारण भगवान उक्त स्थान छाडेर कहीं नजाउन् नत्र अनिष्ट हुन्छ भनि साङ्लाले बाधेर राखेको हो भन्ने किंवदन्ती मन्दिरका पुजारी चन्द्रप्रसाद घिमिरेबाट जानकारी भयो । उहाँका अनुसार द्वापर युगमा भगवान श्रीकृष्ण रात्रीकालीन समयमा चितवनको तोरी माडी आउने हुनाले चितवन माडी नाम रहन गएको हो भनि बताए ।
वि . सं . १७९५ तिर पृथ्वीनारायण शाहको विवाह हेमकर्ण सेनकी छोरी इन्द्र कुमारीसँग यसै दरवारमा भएको थियो । उनका जेठान दिगबन्धन सेन थिए । पृथ्वीनारायण शाह र दिगबन्धन सेन बीच ठाकठुक परेपछि दिगबन्धनले उल्टो सलामी दिएका थिए । पृथ्वीनारायण शाहको विवाह एक राजनीतिक योजना थियो तर जेठानसँग विवाद परेपछि उनले काठमाण्डौंका मल्ल राजाहरूलाई कमजोर पार्न मकवानपुरमाथि जीतहासिल गर्नु थियो । सेन वंशमा धेरै सन्तान भएकाले किचलो बढ्दै जाँदा राज्य कमजोर हुदै गयो र पृथ्वीनारायण शाहले मकवानपुरमा विजय प्राप्त गरे ।
करिब ११०० वर्ष लामो इतिहास बोकेको भए पनि सत्ताच्युत हुनुपरेका कारण कतिपय इतिहास गर्भ मै लुकेका छन् । भारतको टिस्टा कामाख्यामाई मन्दिरसम्म राज्य विस्तार गरेका थिए । पाल्पाका राजा मुकुन्दसेनले आफ्नो जीवनको उत्तरार्र्द्वमा जीवनराजर्षी रुपमा बिताए । उनले रिडी, देवघाट, बराहक्षेत्र, हरिहरक्षेत्र प्राचीन धार्मिक क्षेत्रहरुमा तपस्या गर्दै हिडेका थिए भन्ने जनविश्वास रहेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अमेरिका–इरान युद्ध अन्त्यतर्फ, सम्झौतामा हस्ताक्षरको तयारी
- विश्वकपमा स्कटल्यान्डको विजयी सुरुआत, समूह ‘सी’को शीर्ष स्थानमा उक्लियो
- चीन भ्रमणमा निस्कँदै परराष्ट्रमन्त्री, कूटनीतिक भेटघाटमा केन्द्रित रहने
- आज देशका विभिन्न क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार



ट्रेन्डिङ
खबरमुकाम






