वैभव वीरगंज प्रजातन्त्रकालपूर्व नै बसेको शहर हो । तत्कालीन प्रधानमन्त्री मोहनशमशेर जबराले बसाएको यो शहर नेपालका पहिला तीन नगरपालिकामध्ये एक हो । वीरगंज नाम रहनुभन्दा पहिले यस नगरको नाम गहवा थियो । गहवा हालको वीरगंजभित्र पर्ने एउटा पुरानो बस्ती हो– अहिले पनि वीरगंजको बीच भागमा गहवामाईको मन्दिर हुनुले यसको सार्थकता सिद्ध गर्दछ ।
इतिहासको यो वैभव बोकेको वीरगंज पछि आर्थिक–औद्योगिक नगरीको रुपमा विकास भयो भने अहिले आएर धार्मिक पर्यटनको माध्यमबाट थप समृद्ध हुने दिशातर्फ अग्रसर छ । जसले गर्दा वीरगंजका हालका राजनीतिक, सामाजिक र सांस्कृतिक नेतृत्व गरिरहेका अगुवाहरू वीरगंज महानगरपालिका र पर्सा बारा क्षेत्रमा रहेका धार्मिक पर्यटकीय गन्तव्यहरुको संरक्षन, संवर्धन प्रचारप्रसारमा लागिपरेका छन् ।
छठ पर्वमा लाखौँ मानिसको भीड लाग्ने घडिअर्वा पोखरी

वीरगंजको एउटा ऐतिहासिक पर्यटकीय स्थल हो घडिअर्वा पोखरी । घडिअर्वा पोखरीको उद्घाटन वि।सं। २०५६ साल पौष १३ गते मङ्गलबारका दिन तत्कालीन राजा वीरेन्द्रले गरेका थिए । पहिला यो एउटा पोखरी मात्र थियो त्यसपछि यसलाई व्यवस्थित गर्न थालियो । यस पोखरी परिसरमा छठ पर्वको बेलामा ठूलो मेला लाग्ने गर्दछ । घडिअर्वा पोखरी छठ पर्वकै पूजाका लागि लक्षित गरी निर्माण गरिएकाले वर्षेनि छठका बेला यसको महत्त्व बढ्ने गरेको छ । वीरगंज महानगरपालिकाले घडिअर्वा पोखरीलाई छठ पर्व र यसका व्रतालुलाई मध्यनजर गरेर बनाएको छ । छठकै लागि सूर्यमन्दिर, गङ्गा मातासमेतको मूर्ति पनि निर्माण गरिएको छ ।
तराई मधेसका जिल्लाका जलाशयहरू छठ घाटका रूपमा प्रयोग गरिन्छन् । त्यसैअनुरूप वीरगंजको घडिअर्वा पोखरी देशकै चर्चित छठ घाटका रूपमा प्रसिद्ध छ । आकर्षक छठघाट हेर्नका लागि मात्रै पनि दर्शनार्थी वीरगंज आउने गरेका छन् । यो पोखरी छठ पर्वको लागि किन पनि महत्त्वपूर्ण छ भने, पोखरीको बीचमा सूर्य भगवानको मन्दिर रहेको छ । सूर्यको मन्दिर भएकाले घडिअर्वा पोखरी छठ पर्वको लागि विशेष मानिन्छ ।
२० वर्षभन्दा अघिदेखि छठ पूजा व्यवस्थापन समितिमार्फत घडिअर्वा पोखरीमा विशेष सजावट हुने गरेको छ । त्यसरी नै प्रत्येक वर्ष छठघाटका रूपमा रहने घडिअर्वा पोखरीलाई विशेषरूपले सजाउने गरिन्छ । प्रत्येक वर्ष छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई र त्यसको भोलिपल्ट अर्थात अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिनका लागि व्रतालुहरू छटघाटको रूपमा व्यवस्थित गरिको उक्त पोखरीमा जाने गर्दछन् । त्यसैगरी व्रतालुहरूलाई सहजता दिनको लागि पोखरी प्रवेश गर्नुअगावै पण्डालहरू बनाएर, सुरक्षाको उचित प्रबन्ध गरी महानगरले व्यवस्था मिलाउने गरेको छ ।
छठ पर्वको समयमा विशेषरूपले सजावट गरिने घडिअर्वा पोखरी अरू समयमा पनि व्यवस्थित रहने गर्दछ । त्यसरी नै छठ पर्वको समयमा लाखौँ मानिसहरू आउने यस पोखरीमा अन्य समयमा पनि पर्यटकहरू आउने गर्दछन् । घडिअर्वा पोखरीमा चितवन, मकवानपुर, धनुषा, रौतहट, बारालगायतका जिल्ला र भारतका मोतीहारी, बेतिया, दरभङ्गाबाट दर्शनार्थी तथा पर्यटकहरू आउने गरेका छन् । धार्मिक र पर्यापर्यटन दुवै सम्भावना बोकेको यो पोखरी हरसमय पर्यटकहरूको आकर्षणको केन्द्र बन्न सक्छ । छठ पर्वको समयमा धार्मिक आस्थाका मानिसहरू आउने यस स्थानमा अन्य समयमा मनोरञ्जका लागि आउने पर्यटकहरूलाई पनि गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास वीरगंज महानगरले गरिरहेको छ ।
प्रकृतिको मनोरम दृश्य अवलोकन गर्न सकिने यस पोखरीमा मानिसहरूलाई बस्नको लागि साना साना कुर्सीहरूको व्यवस्था गरिएको छ । त्यसैगरी बोटिङको व्यवस्था पनि यहाँ गरिएको छ । दुई दशकभन्दा अघिबाट पोखरीलाई व्यवस्थित बनाउने कार्य थालनी गरिएको थियो । यसर्थ विगतको त्यही कार्यको फलस्वरूप आज घडिअर्वा पोखरी व्यवस्थित साथै पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गइरहेको छ ।
भारतीय पर्यटकलाई स्वागत गर्ने शङ्कराचार्य गेट

जगदगुरु शङ्कराचार्य श्री १००८ जयन्द्र सरस्वती स्वामीले २०३१ सालमा शिलान्यास गरेको गेट २०४४ सालमा उनैले उद्घाटन गरेका थिए । गेट निर्माणका लागि वीरगंजका उद्योगी व्यापारीहरूले सहयोग गरेका थिए । गेटको दक्षिणमा मितेरी पुल रहेको छ भने उत्तरमा रजतजयन्ती चौक रहेको छ । वीरगंज रक्सौल नाका स्थित शङ्कराचार्य गेट देशको प्रवेशद्वारको रूपमा परिचित रहेको छ ।
विगतमा गेट मुनिबाट समेत सवारी ओहोरदोहोर गर्ने गरेकोमा त्यसलाई बन्द गरेर अहिले महानगरपालिकाले पार्क निर्माण गरेको छ । गेटअगाडि राष्ट्रिय झन्डा राखिएको छ । भारतीय सीमातिरको भागमा नेपाल(भारत मैत्री सम्बन्ध झल्काउने दुई हात एकापसमा मिलाइरहेको साङ्केतिक चिन्ह स्थापना गरिएको छ । ती दुई देशको मैत्रीसम्बन्ध झल्काउने हातहरूमा नेपाल र भारतको राष्ट्रिय झण्डा पनि अङ्कित गरिएको छ । विगतमा अव्यवस्थाको मार झेलिरहेको यो गेट अहिले सेल्फी स्पटको रूपमा परिणत भएको छ ।
औद्योगिक तथा व्यापारिक नगरीको पहिचान बोकेको वीरगंजमा अवस्थित शङ्कराचार्य गेटमा रातको समयमा झिलिमिली देखिने गरेको छ । भारतको सीमावर्ती रक्सौल बजार हुँदै मितेरीपुल कटेपछि वीरगंज आउनुअघि मुख्य सडकमा शङ्कराचार्य गेट रहेको छ । गेटमा बनाइएका कलाकृतिले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
विगतमा सरोकारवालाहरूको उदशीनताका कारण अव्यवस्थित बन्ने गरेको शङ्कराचार्य गेट आज व्यवस्थित देख्न सकिन्छ । स्थानीय सरकार बनेपछि भने अवस्था फेरिएको देख्न सकिन्छ । विगतमा वीरगंज आउजाउ गर्नेहरूका कथनअनुसार विगतमा आफूले देखेको वीरगंज सफा नभएको, गुट्का र पान खाएर जथाभावी थुक्नाले शहरका सडक पेटी र अन्य संरचनाहरू पनि रातम्य थेग्लाहरूले कुरूप बनेका हुन्थे । तर वर्तमानको वीरगंजमा त्यस्ता कुराहरू देखिँदैनन् । यसरी नगर सफा भएसँगै नगरमा रहेका अन्य संरचनाहरू पनि चिटिक्क बनेका छन् । जसभित्र शङ्कराचार्य गेट पनि पर्दछ ।
विगतमा गेटमुनिबाट पनि सवारीसाधनहरू ओहोरदोहोर गर्ने गर्दथे । तर केहीवर्ष अघि गेटलाई सौन्दर्यकरण गरेर गेटमुनिको सडक बन्द गरेर पार्क बनाएपछि गेटको स्वरूप सुन्दर बनेको छ । गेटको माथि मध्यभागमा पशुपतिनाथलाई अङ्कित गर्ने मन्दिर रहेको छ । त्यसैगरी मन्दिरका विभिन्न भागमा विविध देवी देवताका चित्रहरूका साथै अरू विभिन्न कलाकृतिले गेटलाई शोभायमान बनाएका छन् । तिनै कलाकृतिको समग्रतामा नेपाल(भारत सीमा निकटमा खडा शङ्कराचार्य गेट आफ्नो कलात्मक छविको साथ दशकौँदेखि नेपाल चिनाइ उभिएको छ ।
अतिक्रमणबाट जोगाइएको रामजानकी मन्दिर

वीरगंज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा अवस्थित छ रामजानकी मन्दिर । लामो समयदेखि उक्त ऐतिहासिक मन्दिर अतिक्रमणमा पर्दै आएको थियो । गत वर्ष वीरगंज महानगरले मन्दिरमा भएको अतिक्रमण हटाएपछि रामजानकी मन्दिरको पुरानो शाख जोगिएको हो । आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारले मन्दिर अतक्रिमण गर्दै आएका थिए ।
विगत तीन दशकभन्दा अघिदेखि अतिक्रमणको मारमा परेको मन्दिर महानगरको पहलमा अतिक्रमणमुक्त भएपछि रामजानकी मन्दिरलाई सजावट गरिएको छ । भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राण प्रतिष्ठा भएकै दिन वीरगंजको महत्वपूर्ण पर्यटकीय स्थल घडिअर्वा पोखरीको दक्षिण ढोकातर्फ रहेको रामजानकी मन्दिरमा भगवान रामजानकीको मूर्ति स्थापना तथा प्राण प्रतिष्ठा गरिएको थियो । त्यसक्रममा वीरगंज र आसपासका मानिसहरूको ठूलो सङ्ख्यामा उपस्थिति रहेको थियो ।
रामजानकी हिन्दू आस्थाका भव्य प्रतीकहरू हुन् । यसर्थ विभिन्न दृष्टिले महत्वपूर्ण वीरगंजमा भएको रामजानकी मन्दिर धार्मिक पर्यटनको सम्भावनायुक्त स्थान बन्न सक्छ । त्यसको लागि महानगरको पहलमा अतिक्रमण मुक्त भएको रामजानकी मन्दिरलाई अरू सुलभ बनाएर श्रद्धालुहरूको प्रचुर उपस्थितिको केन्द्र बनाउन सकिन्छ । जसको लागि राज्यबाट भएका सकारात्मक कदमलाई निरन्तरता दिँदै अघि बढ्नु आवश्यक हुन्छ ।
विगतभन्दा आज पर्यटनका परिभाषा र आयामहरू बढ्दै गएको परिप्रेक्ष्यमा हिन्दू धर्मका बहुसङ्ख्यक मानिसहरूको आस्थाका प्रतीक रहेका रामजानकीको मन्दिरलाई उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सकेमा निश्चय नै धार्मिक पर्यटनको सम्भावनालाई अभिवृद्धि गर्न सकिन्छ । देशको महत्वपूर्ण नगरी वीरगंज छिमेकी भारतसँगको महत्वपूर्ण नाका पनि भएको हुँदा भारतबाट पनि ठुलो सङ्ख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । यसर्थ पनि वीरगंजको रामजानकी मन्दिर धार्मिक पर्यटनको लागि सम्भावनायुक्त गन्तव्य हो ।
पर्यटनका अन्य आयामहरूको प्रतिनिधित्व देशका हिमाली र पहाडी क्षेत्रले गर्न सक्छन् भने देशको तराई मधेसले उल्लेख्य मात्रामा धार्मिक पर्यटनको प्रतिनिधित्व गर्न सक्छ । जसलाई पुष्टि गर्ने आधार तराई मधेसमा भएका धार्मिक सम्पदाहरू हुन् र तिनै सम्पदाहरूको लहरमा वीरगंजको रामजानकी मन्दिरलाई पनि खडा गर्न सकिन्छ ।
वीरगंजको हरप्रहरको साक्षी घण्टाघर

वि.सं. २०३३ सालमा निर्माण भएको वीरगंज घण्टाघर बनाउन तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ र स्थानीय जनताले सक्रिय सहभागिता जनाएका थिए । घण्टाघर निर्माणको लागि तत्कालीन नगर पञ्चायतले जग्गा उपलब्ध गराएको थियो । तत्कालीन वीरगंज जेसिस र जापानिज जेसिसको पहलमा निर्माण भएको घण्टाघरको लागि जापानको प्रख्यात घडी उत्पादक कम्पनी सिकोले घण्टाघरका लागि घडी उपहार दिएको थियो । देशभरमै भिन्न शैलीमा बनेको यो घण्टाघर हरपल वीरगंजको लागि गर्वको विषय बनिरहने छ । कलात्मक शैलीको साथ शहरको मध्यभागमा अवस्थित अवस्थित वीरगंज घण्टाघर वीरगंजको पहिचान बनेको छ ।
काठमाडौँको झल्को दिने व्यस्त सडकको चौरस्तामा खडा छ वीरगंज घण्टाघर । घण्टाघर उभिएको चौबाटोमा काठमाडौँमा नदेखिने दुई चिज छन् अटो रिक्सा साथै खच्चरले तान्ने घोडा गाडी । प्यागोडा शैलीको साथमा अन्य कलाहरू पनि मिश्रण गरेर बनाइएको वीरगंज घण्टाघरको मध्यभागमा घडी देख्न सकिन्छ । घण्टाघरको शिरमा मन्दिरकै जस्तो गजुर राखिएको छ । अनौठो कुरा त के भने शहरको मध्यभागमा मन्दिर जस्तो देखिने संरचनाले नवआगन्तुकलाई खुल्दुली जगाउने काम गर्छ । तर त्यहाँ पुगिसक्दा मन्दिरमा हुने कुनै गतिविधि त्यहाँ देखिँदैन । खासमा यही रहस्यले वीरगंज घण्टाघरलाई आकर्षक देखाउने काम गर्दछ ।
साढे चार दशकभन्दा अघिदेखि वीरगंज शहरको साक्षी बनेर उभिरहेको घण्टाघर नेपाल तथा भारतका साथै फाट््टफुट््ट पश्चिमा मुलुकका पर्यटकहरूका लागि पनि ध्यान खिच्ने माध्यम बनेको छ । गर्मीयाममा दिउँसोको समयमा मानिसहरूको चहलपहल कम हुने घण्टाघर घाम ओझेल भएपछि साँझ अबेरसम्म घण्टाघरलाई निसानी बनाएर फोटो खिच्नेहरू पनि बाक्लै भेटिन्छन् । जहाँ बेसुरजस्तै गरेर चलिरहेका सवारीसाधनहरूको समेत पर्वाह नगरी मानिसहरूले फोटो खिचेको दृश्य पनि रोचक नै लाग्छ ।
नगरको मध्यभागमा नखोजी भेटिने घडीजडित मन्दिरजस्तो संरचना स्वभावैले पहिलोपटक वीरगंज पुगेका मान्छेहरूका नजर त्यहाँ सहजै परिहाल्छन् । यसर्थ यसलाई वीरगंज नगरको घडी घरभन्दा पनि अन्यथा हुँदैन । वरिपरि कम्पाउण्डले घेरिएर छरितो परिधिको माझ उभिएको कलात्मक घण्टाघरलाई अघिल्तिर स्थापित कमलको फूललाई सिञ्चित गर्दै निरन्तर निस्किरहेको पानीको फोहोराले अरू शोभायमान बनाएको छ । मधेस आन्दोलनभन्दा अघिदेखि नै मर्मतसंहारको अभावमा घण्टाघर अव्यवस्थित बनिरहेको थियो । त्यसरी नै भुकम्पको मारमा पनि यो परेकै थियो । त्यसमा अरू अव्यवस्था थप्ने काम मधेस आन्दोलनको समयमा पनि भइनै रह्यो । देशमा संविधान बनेपछि स्थानीय सरकार बन्यो त्यसपछि भने महानगरमा निर्वाचित नेतृत्वहरूले चासो देखाएर यसलाई व्यवस्थित गरेपछि अहिले पुन घण्टाघरको अवस्था फेरिएको छ । साथै महानगरकै पहलमा बन्द रहेको घडी पनि सञ्चालनमा आएको छ ।
वीरगंजमा पनि छ पशुपतिनाथ

काठमाडौँमा पशुपतिनाथ मन्दिर रहेको सबैलाई थाहा छ । तर वीरगंजमा पनि पशुपतिनाथ भगवानको मन्दिर छ भन्ने कमैलाई मात्र थाहा छ । वीरगंज महानगरपालिका वडा नम्बर १४ साविकको वीरगंज चिनी कारखानाको दक्षिणतर्फ चिनी कारखानाको जग्गाभित्र पशुपतिनाथ मन्दिरको सुन्दर संरचना छ ।
यो मन्दिर २०३८ सालमा तत्कालीन वीरगंज चिनी कारखानाका प्रमुख एवम् महाप्रबन्धक (सहसचिव) माधवराज उपाध्याय (भण्डारी) ले शिलान्यास गरेको मन्दिर हो । ४३ वर्ष पुरानो मन्दिर चिनी कारखाना अस्तित्वमा रहेको समयमा निकै भलिभातीले चलेको थियो । वीरगंज चिनी कारखानाका ९ सय २० जना तत्कालीन कर्मचारीलाई लक्षित गरी उनीहरूले बाहिर मन्दिर खासै जान नपरोस् भनी निर्माण गरिएको मन्दिर रहेको मन्दिरका पुजारी प्रल्हाद कोइरालाले बताए । उनी पहिलेको चिनी कारखानाका पुराना कर्मचारी हुन् । यो मन्दिर माधवराज भण्डारीको आमाको प्रेरणाले स्थापना भएको थियो ।
अस्तित्वमा रहेको समयमा चिनी कारखानाको पैसा राख्न वीरगंजका कुनै बैङ्कहरूले पनि नमान्नेसम्मको अवस्था थियो । कारण चिनी कारखानासँग यति धेरै पैसा हुन्थ्यो । यस्तो देखेकी महाप्रबन्धक भण्डारीको आमाले यत्रो पैसा भएको संस्थाको प्रमुख छस् । यसो लोकका लागि पनि हुने गरी एउटा मन्दिर बनाइदे राम्रो हुन्छ भनी सुझाव दिएकी थिइन् । उनी अलि धर्मकर्ममा बढी विश्वास राख्ने भगवानकी भक्त थिइन् मन्दिरका हालका मूल पुजारीले विस्तृतमा बताए । आमाको कुरा सुनेर सरकारी सहसचिवसमेत रहेका महाप्रबन्धकले पशुपतिनाथकै मन्दिर बनाउने निधोमा पुगेर यो मन्दिरको संरचना निर्माण भएको उनले थप बताए ।
चिनी कारखाना सञ्चालनमा रहेको समयमा मन्दिर निर्माणपश्चात वीरगंजकै चर्चित पुजारीलाई चिनी कारखानाले मूल पुजारीमा नियुक्त गरेको थियो । उमानाथ प्याकुरेल नाम गरेका व्यक्ति पशुपतिनाथ मन्दिरका मूल पुजारी थिए । त्यसै गरी नागेन्द्र झा सहायक दोस्रो पुजारी थिए । चिनी कारखाना बन्द भएपछि उनीहरू पनि आफ्नो पैसा सुविधा लिएर गए । उतिवेला मन्दिरमा अनुष्ठान हुने, चण्डी पाठ हुने भक्तजनलाई प्रसादी वितरण गर्नेजस्ता काम हुन्थे । तर कारखाना बन्द भएपछि यी सबै काम पनि बन्द भए अहिलेका पुजारी कोइरालाले खुलेर बताए ।
२०५९ सालमा नेपाल सरकारले वीरगंज चिनी कारखाना बन्द गरेका केही वर्षपछिदेखि कसैले फर्केर पनि हेर्न छोडेजस्तो अवस्थामा मन्दिरको अवस्था थियो । पहिले आफूले आस्था राखेको मन्दिरको अवस्था देखेर यसको रेखदेख गर्न थालेँ । मन्दिरमा पूजा गर्ने पैसासमेत चिनी कारखानाको बन्दपछिको व्यवस्थापन पक्षले खासै दिंदैन थियो । वीरगंज महानगरपालिकाको अहिलेको नेतृत्व आएपछि भने यसको संवर्धन र प्रचार-प्रसारमा बल पुगेको छ । महानगरपालिकाले बजेट विनियोजन गरेर मन्दिर परिशरमा मर्मत सम्हारका धेरै काम गरेको छ । मन्दिर परिशरमा ठूलो भव्य कार्यक्रम नै राखी साधु सन्त महन्थहरूलाई ल्याउने र प्रचारप्रसार गर्नेसम्मका धेरै काम भएका छन् । अहिले त शिवरात्रीलगायत धेरै चाडपर्वमा मन्दिरमा भक्तजनको ठूलो भीड हुने गरेको छ । बल्ल धेरै मानिसलाई वीरगंजमा पनि पशुपतिनाथ मन्दिर रहेको थाहा भइरहेको छ ।
अहिले त सीमापारि छिमेकी मुलुकका पनि भक्तजन र दर्शनार्थी तथा धार्मिक पर्यटक आउन थालेको स्थानीयले पनि बताए । मन्दिरसम्म आउने सडक र अगाडि पोखरी बनाउने कुरा भइरहेको थियो । केही डिष्टर्व भएको सुनेको छु पुजारी कोइरालाले चिन्ता जनाए । वीरगंज महानगरका महानगरप्रमुख नै यो मन्दिरको संरक्षण र धार्मिक पर्यटन प्रवर्धनमा सकृय छन् । अब पशुपति नाथको पनि कल्याण हुनेमा विश्वास जागेको पुजारी कोइरालाको भनाइ छ । यहाँ आस्था राखी गरेको कुरा सिद्ध हुन्थ्यो । अहिले पनि धेरै भक्तजनको मनोकामना पनि पूरा भइरहेको छ । उहाँहरूले पनि स्वयम् अनुभूति गर्न पाउनु भएको छ । आम मानिसको अस्था यो अर्थमा पनि बढेको छ । धार्मिक पर्यटन प्रवर्धन मात्र नभई भगवानको शक्ति नै प्राप्त भइरहेकोले स्थानीयको आकर्षण पशुपतिमा ह्वात्तै बढेको स्थानीयले बताए । धार्मिक पर्यटन प्रवर्धनमा यसले टेवा पुगिरहेको छ ।
विन्दवासिनी मन्दिर

पर्सा जिल्लास्थित वीरगंजभन्दा करिब ८ किलोमिटर पश्चिम वीरगंजको बाहिरी भागमा अवस्थित छ विन्दवासिनी मन्दिर । यो मन्दिरको स्थापना राणाकालमा भएको हो भन्ने गरिन्छ । राणा प्रधानमन्त्री जङ्गबहादुरले बनाएको भन्ने जनश्रुति रहेको छ । यस हिसाबले पनि यस मन्दिरको प्राचीनता झल्किन्छ ।
राज्यको पुनर्संरचनापछि यसै मन्दिरको नामबाट पर्सा जिल्लाको एक गाउँपालिकाको नामाकरण गरिएको छ । जो आज विन्दवासिनी गाउँपालिकाको रूपमा स्थापित भएको छ । देशका विभिन्न भागमा देवीका शक्तिपीठहरू रहेका छन् । तिनीहरूमध्ये पर्सा जिल्लाको विन्दवासिनी मन्दिर पनि एक हो । हरेक वर्ष बडादशैँको अवसरमा यहाँ विशेष मेला लाग्ने गर्दछ । बडादशैँको सातौँ दिन विशेष कार्यक्रम गरेर पर्साका अन्य शक्तिपीठहरूमा झैँ यस मन्दिरमा पनि फूलपाती भित्र्याइन्छ । यस अवसरमा आफ्ना मनोकामनाहरू पुरा हुने विस्वासका साथ श्रद्धालुहरूको बाक्लो उपस्थिति हुने गरेको छ । नवरात्रीको आठौँ दिन मन्दिरमा बलि दिने प्रचलन पनि रहेको छ । साथै बडादशैँको नवौँ दिन महानवमीको अवसरमा देवी नवदुर्गाका नौवटै स्वरुपको पूजाअर्चना गर्ने गरिन्छ ।
मन्दिर परिसरलाई सुन्दर ढङ्गले व्यवस्थित गरिएको छ । मन्दिरको परिसरभित्र भक्तजनहरूलाई बस्नको निम्ति फलामका बेन्चहरूको पनि व्यवस्था गरिएको छ । मन्दिरको प्रवेशद्वारको माथिपट्टि मन्दिरको नाम अङ्कित डिजिटल बोर्ड राखिएको छ । भव्य देखिने मन्दिर परिसरमा मूल मन्दिरलाई केन्द्र बनाएर मन्दिर परिसरभित्र गणेश, शिवपार्वती, संसारी मातालगायतका विभिन्न देवीदेवताका साना साना मन्दिरहरू पनि निर्माण गरिएका छन् ।
मन्दिरको प्रवेशद्वारमा घण्टा राखिएको छ । मूलमन्दिरको पछिल्तिर विभिन्न कार्यक्रम गर्नको लागि पण्डाल निर्माण गरिएको छ । त्यसैगरी मन्दिर परिसरमा धर्मशाला पनि रहेको छ । बिहानीको नित्य पूजा सकिएपछि विभिन्न पर्व र अवसरमा बाहेक मन्दिर बन्द रहने गर्दछ । नेपाली कलाको स्थापत्य शैलीको प्रयोग गरी मन्दिरको पुनर्निर्माण गरिएको छ । मन्दिरमा राजा महेन्द्र र रानी रत्नले ध्वजापाताले शृङ्गार गरेको एवम् मन्दिर मर्मत निर्माणमा सहयोग गरिएका कुरा पनि मन्दिरको अभिलेखमा उल्लेख छ । मूल मन्दिरभित्र अर्थात मन्दिरको गर्भगृहमा माता विन्दवासिनीको मूर्ती रहेको छ ।
देवीका उपासकहरू तथा शक्तिका पूजकहरूको विशेष आस्था रहने यस मन्दिरमा आसपासका जिल्लाबाट त श्रद्धालुहरू आउँछन् नै छिमेकी भारतका निकटवर्ती विभिन्न क्षेत्रबाट समेत देवीको दर्शन गर्न भक्तजनहरू आउने गर्दछन् । वीरगंजको निकटमै रहेको यस धार्मिक स्थलमा जान सहज रहेको छ । जसको लागि वीरगंजबाट पोखरिया जाने बसको उपयोग गरेर सजिलै यो मन्दिरमा पुग्न सकिन्छ ।
सिर्सिया सुख्खा बन्दरगाह

करिब २ दशकअघिदेखि सञ्चालनमा रहेको सुख्खा बन्दरगाह वीरगंज महानगरपालिका २५ स्थित सिर्सियामा रहेको छ । त्यसकारण यसलाई सिर्सिया सुख्खा बन्दरगाह भन्ने गरिन्छ । मुलुकको आर्थिक गतिविधिमा ठूलो भूमिका खेल्ने बन्दरगाहको रुपमा यो रहेको छ । वीरगंजस्थित सिर्सिया सुक्खा बन्दरगाह २०५७ सालदेखि निर्माण सुरु भई २०६२ सालदेखि सञ्चालनमा आएको हो । सुख्खा बन्दरगाहभित्र भन्सार कार्यालय, चारवटा सेड हाउस, टर्मिनल भवन, तौल जाँच गर्ने स्थल, दुईवटा बैङ्कका शाखाहरू, ६ लाइनमा फैलिएको भण्डारण क्षेत्र छ । यो सम्पूर्ण जग्गा मिलाएर यो बन्दरगाह ३८ हेक्टरको क्षेत्रफलमा फैलिएको छ । यस बन्दगाहमा एकै चोटीमा ४ हजार भन्दा बढी कन्टेनरहरू व्यवस्थापन र भण्डारण गर्नसक्ने क्षमता रहेको छ । भारतको कोलकाता र विशाखापटनम बन्दरगाहबाट रक्सौल हुँदै सोझै वीरगंज बन्दरगाहसम्म भारतीय रेलमार्फत मालबाहक कन्टेनरहरू आवतजावत गर्दछन् । रेल सञ्जालमा जोडिएको बन्दरगाहले नेपालमा कन्टेनर यातायातको करिब ५० प्रतिशत हिस्सा व्यवस्थित गर्दै आएको छ ।
सिर्सिया सुक्खा बन्दरगाहको निकटमै एकीकृत सुरक्षा जाँच चौकी पनि रहेको छ । जसमा सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीको बीचमा स्थानीय जनताहरूको स्वामित्व रहेको जग्गा छ । जुन जग्गाको मुअब्जा दिएर भिन्न परिसरको रुपमा रहेका सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीलाई एउटै परिसर बनाउनको लागि नेपाल सरकारको २०७३ पुस १७ को निर्णयले स्थानीयको जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो । सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकीबीच पर्ने कूल ६२ बिघा जग्गाको अधिग्रहण प्रक्रिया सङ्घीय सरकारले ७ वर्षअघि सुरु गरेको थियो । मुलुकको आर्थिक गतिविधिमा ठूलो भूमिका खेल्ने यी दुवै भन्सार विन्दुलाई जोडेर निर्वाध रूपमा सञ्चालन गर्न सरकारले यी भन्सारबीचको जग्गालाई अधिग्रहण गरी एक बनाएको हो ।
वीरगंज नेपालको सबैभन्दा महत्वपूर्ण व्यापारिक तथा पारवहन नाका हो । वैदेशिक व्यापारका लागि नेपालले प्रयोग गर्दै आएको समुद्री बन्दरगाहहरू कलकत्ता, विशाखापटनम पनि यहाँबाट नजीक पर्छ । यो बन्दरगाह भारतीय रेलमार्गसँग जोडिएको नेपालको एक मात्र बन्दरगाह हो । सिर्सिया सुख्खा बन्दरगाहको निर्माण विश्व बैंकको ऋण सहयोगमा निर्माण सम्पन्न भएको बन्दरगाह भारतको करिब २० करोडको अनुदान सहयोगमा रक्सौलदेखि कार्यालयसम्म रेललिङ्क स्थापना भई वि।सं। २०६१ मा नेपाल र भारतबीच रेलवे सम्झौता सम्पन्न भइ त्यसै विन्दुबाट विधिवत रूपमा बन्दरगाह सञ्चालनमा आएको थियो । सुरुवाती दिनदेखि केहीसाल अघिसम्म भारतको सरकारी निकाय, भारतीय कन्नकोर रेल–वेजले स्थानीय साझेदार हिमालयन टर्मिनल प्रा।लि। मार्फत सञ्चालन गर्दै आएको थियो । तर केही सालअघिबाट भने वीरगंज आन्तरिक सुख्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले पाएको छ ।
सुरुवाती दिनदेखि अहिलेसम्म भारतको सरकारी निकाय भारतीय रेलवेको अङ्ग कन्नकोर रेल–वेजले स्थानिय साझेधार हिमालयन टर्मिनल प्रा।लि। मार्फत सञ्चालन गर्दै आएको थियो । दुई दशकअघिदेखि सञ्चालनमा आएको बन्दरगाह सञ्चालन र व्यवस्थापनको जिम्मेवारी केहीसाल अघिबाट पहिलो पटक निजी क्षेत्रसँगको साझेधारीमा सञ्चालित रहेको छ ।
भिष्वा डाँडा

लुम्बिनीपछिको तराईमा बुद्धको प्रसिद्ध बुद्ध बिहार हो वीरगंज वौद्ध बिहार । बौद्ध धर्मालम्बीको श्रदा जोडिएको यो बिहार धार्मीक र पर्यटकीय स्थलको रूपमा प्रसिद्ध छ । सम्राट अशोक बिहारको पाटलीपुत्रबाट लुम्बिनी जाँदा आउँदा भिक्षुहरुलाई बास बस्न यस बिहारको निर्माण गरिएको मानिन्छ । भिक्षुहरू बास बस्ने भएकोले यस स्थान लाई भिस्वा भनिएको हो ।
दुई बिगाहा क्षेत्रफलमा लगभग १०० फिट अग्लो भिस्मा डाँडामा २० फिट अग्लो पञ्च बुद्धको ५ वटा बुद्ध मुर्तिहरु बनाइएको छ । पुरातत्त्व विभागले अनुसन्धान गरी यो पावित्र स्थलमा अवस्थित बौद्धबिहार नै रहेको प्रमाणित गरेको थियो । सोहीअनुसार तत्कालीन राजा विरेन्द्रबाट वीरगंज बौद्ध समिति गठन गरी समितिकै नाममा यो जमीनको लालपुर्जा प्रदान गरिएको थियो। पूर्व माननीय मुख्यमन्त्री लालबावु राउतले यसको विकासको लागि मास्टर प्लान र डिपिआर बनाई यस बिहारको विकासका निम्ति एक करोड सहयोग गरेका थिए । यस वर्षको मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रममा महानगपालिकासँग मिलेर भिस्वा बिहारको विकास गरिने योजना रहेको छ। तर बजेट विनयोजन नभएको अवस्थामा विकास काम हुन सकेको छैन। वर्तमान अवस्थामा मा लगभग २२ करोड लागत पर्ने गरी यसको डिपिआर पनि बनिसकेको छ ।
किम्बदन्ती
अशोक सम्राट बौद्ध धर्म प्रचारप्रसारमा जाँदा उनले गौतमबुद्धको अस्तु उनी जहाँ जहाँ बास बसेका थिए त्यही राख्दै हिँड्ने गर्थे । अशोक सम्राट बसोबास गरेको अरु धेरै ठाउँहरुमध्ये भिश्वा डाँडा पनि एक हो । जहाँ उनले आफू बस्दा अस्तु छोडेका थिए । त्यसकारण पनि भिश्वा डाँडा बौद्ध धर्मावलम्बीहरूको लागि पवित्र तीर्थस्थल मानिन्छ । त्यहाँ पिपलको बोटमुनि सानो मन्दिर ९चैत्य० छ जहाँ बुद्धको अस्तु रहेको भन्ने विश्वास गरिन्छ ।
कोनियामा मानव निर्मित ताल बनाउने तयारी

वीरगंजको वडा नं. १७ र १९ को सीमास्थित कोनियामा मानव निर्मित ताल बनाउने वीरगंज महानगरपालिकाको तयारी रहेको छ । जसका लागि डिपिआर तयार भएर लगानी जुटाउने काम भइरहेको वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमानसिंहले मुकामलाई बताए । उनले भने, ‘करिब २९ विघा क्षेत्रफलमा ताल बनाउने योजनाअनुरुप काम गरिरहेका छौँ । उक्त ताल तिलाबे नदी किनारमै रहेको सार्वजनिक जग्गामा बनाइने छ । यसअघि विभिन्न व्यक्तिले कब्जा गरेर आफूअनुकुल उपभोग गर्दै आएकोमा अहिले अतिक्रमण हटाएर महानगरको अधीनमा ल्याई ताल निर्माणका लागि उपयोग गर्न खोजिएको हो ।’ यसरी पर्यटकीय सुविधासम्पन्न र मनोरम पार्कसहितको ताल निर्माण हुँदा भारतीय तथा डोमेस्टिक पर्यटक लोभिन सक्ने नगरपालिकाको दाबी छ । जसले यहाँको आर्थिक अवस्थालाई चलायमान बनाउँदै त्यस क्षेत्रका नागरिकको आयआर्जनको बाटो खुल्ने विश्वास छ । करिब ५७ करोडको लागतमा निर्माण हुने कोनिया तालको डिपिआरसमेत तयार भइसकेको र लागानीको स्रोत जुटाउन लागि रहेको नगरप्रमुख सिंहले बताए ।
हर दिन अलख जगाउने अलखिया बाबा मठ

वीरगंज महानगरपालिकाको केन्द्र भागमा रहेको छ अल्खिया बाबा मठ । वीरगंजस्थित अलखिया रोडमा अवस्थित यस मन्दिरको आफ्नै महत्त्व र विशेषता रहेको छ । उक्त मन्दिरप्रति स्थानीय बासिन्दाहरूको विशेष आस्था रहेको देख्न सकिन्छ । मन्दिरको प्रवेशद्वारनिरै गजुरअघि भगवान शिवको ठूलो मूर्ति छ । मन्दिरको केन्द्रभागमा शिवलिङ्ग स्थापना गरिएको छ । भगवान शिवको प्रतीक त्यही शिवलिङ्गमा भक्तजनहरूले पूजा गर्ने गर्दछन् । मूल मन्दिरको द्वारकै अगाडि दायाँतर्फ घण्ट राखिएको छ । त्यस घण्टको निकटमै देवीको मूर्ति राखिएको सानो मन्दिर रहेको छ । त्यस मन्दिरको भित्तामा अन्य देवीदेवताहरूको मूर्ति छन् । मूल मन्दिरको भित्री भागको भित्तामा पनि अनेक देवी देवताका मूर्तिहरू अङ्कित रहेका छन् । मन्दिरको गर्भगृहमा पूजा गर्ने भक्तजनहरूलाई तिलक(प्रसाद वितरण गर्न एक पुजारी रहेको देख्न सकिन्छ ।
अलखिया बाबाको मन्दिरको सामुन्ने अघिल्तिर एउटा पण्डाल रहेको छ । त्यस पण्डालमा मन्दिरका मूल पुजारी अशोक पुरी बस्ने गरेका छन् । त्यसै स्थायी पण्डालबाट मन्दिरको आरती र भजन किर्तन गर्ने गरिन्छ । पण्डालका भित्ताहरू पनि हनुमानलगायत अन्य देवी देवताहरूका मूर्तिहरूले सजिएका छन् । पण्डालको दायाँतर्फ मन्दिरका मुल महन्त अशोक पुरी भक्तजनहरूलाई शिवको प्रसादको रूपमा भस्म लगाउँदै आशीर्वाद दिने गर्दछन् । त्यसैगरी पण्डालको वायाँतर्फ भजनमण्डली र वाद्यवादनहरू राखिएको देख्न सकिन्छ । र तिनै वाद्ययन्त्रहरूको माध्यमबाट साँझ र बिहानमा भजन किर्तन गर्ने गरिन्छ । मन्दिरको वायाँतर्फ सत्सङ भवन रहेको छ । सत्सङ भवनका भित्ताहरू पनि विभिन्न देवी देवताका मूर्तिहरूले सजिएका छन् । सत्सङ भवन २०२५ सालमा निर्मित भएको हो ।
मन्दिरका मूल महन्थ अशोक पुरीले भने, ‘यो मन्दिर त बहुत पुरानो हो । यस मन्दिरमा जति पनि महन्तहरू रहे सबैको समाधि यही मन्दिरमा भएको छ ।’ साँझको समयमा मन्दिर परिसरमा मानिशहरू खचाखच हुन्छन् । पूजा, प्रार्थना चलिरहेको हुन्छ । मन्दिरलाई गुञ्जयमान बनाउँदै भजन किर्तन र आरती चलिरहेको हुन्छ । गर्मीको याम भएकाले वीरगंजको गर्मी त बढेको थियो नै तर त्यो तातोपनको पनि प्रवाह नगरी भक्तजनहरू भगवान भोलेनाथको भजनमा झुमिरहेको देख्न सकिन्छ ।
मन्दिरका पुजारी अशोक पुरीका अनुसार यसअघि जति पनि बाबा यस मन्दिरमा महन्त बने सबैको समाधि यही मन्दिर परिसरमा रहेको छ । हरेक शिवरात्रीमा काठमाडौँको पशुपतिनाथ जाने बाबाहरू पशुपतिनाथ जाँदा र पशुपतिबाट फर्कंदा त्यस मन्दिरमा बस्ने गरेका छन् । हरदिनको साँझ र विहानमा अलख जगाइरहने अलखिया बाबाको मन्दिर शिवरात्रीको समयमा अलख निरञ्जनको ध्वनिले अझ गुञ्जयमान हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
भरत ढुंगाना






