मध्यविन्दु। थारू समुदायका महिलाले मनाउने मुख्य पर्वका रूपमा रहेको जितिया पर्व शनिबारदेखि सुरु भएको छ तर यस वर्ष नवलपुरको थारू समुदायमा भने जितिया पर्वको कुनै रौनक छैन ।
गएका वर्षमा धुमधामले हर्षोल्लासका साथ मनाइने जितिया पर्व यस वर्ष देशमा उत्पन्न विषम परिस्थितिका कारणले प्रभावित बनेको छ । गएका वर्षमा नवलपुरमा जितिया पर्वको मुख्य दिनभन्दा केही दिनअघिबाट नै जितियाको रौनक सुरु हुन्थ्यो तर यस वर्ष नवलपुरका थारू समुदायमा जितियाको कुनै रौनक छैन । यस वर्ष थारू समुदायले घर घरमै जितिया मनाउँदैछन् । चेलीबेटी बोलाएर घर घरमा झाम्टा नाची सामूहिक रूपमा मनाइने यो पर्व यस वर्ष घरभित्रै सीमित भएको छ ।
गएका वर्षमा जितिया पर्व आउनुभन्दा हप्ता दिनअघिदेखि नै झाम्टा नाच, लाठी नाचलगायत सांस्कृतिक कार्यक्रम तथा प्रतियोगिता, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेर हर्षोल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै आएकोमा अहिले जेनजी आन्दोलनले देशमा उत्पन्न अवस्थाका कारण कार्यक्रम आयोजना नगरिएको थारू अगुवा इनरप्रसाद महतोले बताए।
ठाउँ र समुदाय अनुसार यस पर्व मनाउने चलन केही फरक रहेको थारू अगुवा बताउँछन् । जितिया पर्व मनाउनुको उद्देश्य मोक्ष प्राप्तिको कामनासँगै परिवारको कल्याण, सन्तानको सुखशान्ति र चिरायु हो । यस पर्वमा महिलाले उपवास र प्राचीन विधिद्वारा पूजाअर्चना गरी २४ देखि ३६ घण्टासम्म निराहार पानीसमेत नखाई थुक पनि ननिली व्रत बस्ने प्रचलन रहेको महतोले बताए।
तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिन नुहाएर घिरौँलाको पातमा तेल खँडी चढाउँदै सन्तानको शिरमा तेल दलेर सुखशान्ति एवं दीर्घायुको कामना गर्ने चलन छ । त्यसपछि सुहागन महिलाले माछा एवं कोदोको रोटी खाने र विधवा महिलाले भात, चिउरा, कोदोको रोटी खाने परम्परा रहेको अध्यक्ष महतो बताउछन् ।
शाकाहारी महिलाले नजिकको पोखरी, इनार, ताल वा कुवामा स्नान गरी गम्हरी (कोसाभित्रै फल्ने धान) को खिर वा भात पनि खाने गर्दछन् । जितिया पर्वको एकाबिहानै महिला आचमन शुद्धि गरेर घिरौँलाका पातमा तेल लगाई त्यसमाथि पिनाको अर्घ दिने प्रचलन रहेको छ । रातिमा घिरौँलाको पातमा चढाएको नैवेद्यस्वरूपको चिउरा, दही फलफूलसहित प्रसादका रूपमा खान दिने गरिन्छ ।
पर्वको अन्तिम दिन (पारनको दिन) बिहानै उठी व्रतालु महिला नदी, पोखरी, इनार तालतलैयामा स्नान गरी घर फर्केर बेसारको पातमा चिउरा, दही, फलफूल खान दिएर जितिया पर्व विधिवत् रूपमा समापन गरिने प्रचलन रहेको महतोले बताए।
यसैबिच जितिया पर्वको अवसर पारेर नवलपुरका दुई पालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन् । कावासोती र देवुचली नगरपालिकाले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै सोमबार परेको जितिया पर्वको अवसर पारेर सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





