काठमाडौं। सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले काठमाडौं महानगरपालिका–२६ को सहयोग र ठमेल पर्यटन विकास परिषद्को सहकार्यमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना गरेको हो ।
उक्त केन्द्रको आज बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरीले शुभारम्भ गर्नुभयो । कार्यक्रममा मन्त्री ठकुरीले सूचना केन्द्रले ठमेल मात्र नभई नेपालकै पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बागमती प्रदेशले चितवनपछि ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरेको जानकारी दिँदै उक्त केन्द्रबाट पर्यटकले नेपालको पर्यटकीय गतिविधिका बारेमा थाहा पाउने बताए । ठमेलमा सार्वजनिक शौचालय निर्माण गरिने उनले बताए ।
काठमाडौं महानगरपालिका–२६ का वडाअध्यक्ष ख्यामराज तिवारीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने भएकाले उनीहरुलाई सूचना केन्द्रबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेश सरकारले प्रदेशभित्रका सबै जिल्लाको पर्यटकीय गन्तव्यलाई समेटेर ‘ट्राभल बुक’ प्रकाशन गर्न लागेको जानकारी दिए । उहाँले पर्यटन सूचना केन्द्रलाई प्रविधिसँग जोडेर अगाडि बढ्न प्रदेश सरकार लागिरहेको उल्लेख गरे ।
पर्यटन कार्यालय काठमाडौंका प्रमुख भक्तबहादुर भण्डारी, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष धुव्र अधिकारी, पूर्वअध्यक्ष डा. रामशरण थपलिया, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेलगायतले पर्यटन सूचना केन्द्र स्थापना भएसँगै पर्यटकलाई सहज हुने तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए ।
आजदेखि सुरु भएको उक्त सूचना केन्द्रबाट पर्यटकलाई नेपालको पदमार्ग, यातायात, होटल, स्थानीय कला संस्कृतिलगायतका बारेमा जानकारी प्रदान गरिने बागमती प्रदेश पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख पवनकुमार पोखरेलले जानकारी दिए । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव (विमल) धमलाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचान चिनाउने ठमेललाई व्यवस्थित गर्न परिषद्ले काम गरिरहेको बताए। ठमेल क्षेत्रलाई चलायमान बनाउन आगामी दिनमा प्रदेश सरकारको साथ र सहयोग रहिरहने उनले विश्वास व्यक्त गरे। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






