ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलाअन्तर्गत रहेको ब्रड पिक हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव फेला परेको छ ।

ब्रड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित १० जना सम्पर्कविहीन भएका थिए । शुक्रबार म्यालोरी गाइसको शव भेटिएसँगै बेपत्तामध्ये तीन जनाको पहिचान भएको हो ।

यसअघि ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी र नेपालका पुरबहादुर गुरुङको शव पनि पहिचान भइसकेको छ ।

पाकिस्तानको अल्पाइन क्लबले सुरुमा ब्रड पिक क्षेत्रमा चारवटा शव फेला परेको जनाएको भए पनि पछि आफ्नो विवरण सच्याउँदै दुईवटा शव र एउटा मानव शरीरको अंग मात्र फेला परेको स्पष्ट पारेको थियो ।

स्थानीय गिलगिट–बाल्टिस्तान सूचना विभागका अनुसार कानुनी प्रक्रिया पूरा गर्न पहिचान भएका तीन जनाको शव हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ ।

बीबीसीका अनुसार ३९ वर्षीय म्यालोरी गाइस अमेरिकाको टेक्सास राज्यस्थित सान एन्टोनियोका निवासी थिए ।

हिमपहिरोमा परेका १० सदस्यीय टोलीमध्ये अझै सात जनाको अवस्था अज्ञात रहेको छ । पाकिस्तानको अल्पाइन क्लबका अनुसार ड्रोनमार्फत ब्रड पिक क्षेत्रमा केही व्यक्तिहरू देखिए पनि उनीहरूको अवस्था यकिन हुन सकेको छैन ।

उद्धार टोलीले शनिबार पुनः खोज तथा उद्धार अभियान सञ्चालन गर्ने जनाएको छ । त्यसपछि मात्रै बेपत्ता रहेका पर्वतारोहीहरूको अवस्थाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै