कोशी प्रदेशको ताप्लेजुङ जिल्लास्थित पाथीभरालाई संसारभर छरिएर रहेका नेपाली हिन्दू धर्मावलम्बीहरू संसारकै शक्तिशाली शक्तिपीठ मान्छन् । हिन्दू धर्मावलम्बीहरू संसारकै शक्तिशाली शक्तिपीठ मानिने यस पाथीभरा मन्दिरमा वर्षेनि लाखौँका सङ्ख्यामा भक्तजनहकरू दर्शन तथा पूजा गर्ने उद्धेश्यले आउने गरेका छन् । पाथीभरा देवीको उत्पत्तिसम्बन्धी थुप्रै किम्बदन्तीहरू छन् । यहाँ हामीले अद्भूत रामायणमा उल्लिखित दशानन रावणको प्रसङ्गका बारेमा सङ्क्षिप्तमा चर्चा गरेका छौँ ।
लङ्कापति दशानन रावणका दाजु सय शिर भएका अर्का शतानन रावण थिए । तिनै लोकलाई आफ्नो मुङ्ग्रीमा राखिबसेका ती अति शक्तिशाली र अद्भुत रावण हिमालय पर्वतमै बस्थे । यसको विस्तृत वर्णन अद्भुत रामायणमा गरिएको छ ।
ती अद्भुत रावण वा शतानन रावण दशानन रावणभन्दा धेरै गुणा शक्तिशाली थिए । महिलाबाहेक पुरुषका हातबाट उनको मृत्यु हुँदैनथ्यो । उनलाई कसैले पनि युद्धमा पराजय गर्न सक्दैनथे । रक्तबीजको जस्तै जति थोपा रगत भुइँमा खस्यो त्यति उस्तै शरीर र शक्ति भएका नयाँ योद्धा प्रकट भई युद्ध गर्न सक्थे ।
राम र रावणको घनघोर युद्ध भयो । रामले रावणको हत्या गरी लङ्कामाथि विजय हासिल गरे । त्यो खबर उनका दाजु शताननले थाह पाए । लगत्तै उनले आकाशबाट वाणवर्षा गरे । उनीसँग रामका सेना एक छिन पनि टिक्न सकेनन् । राम लक्षण मुर्छित भए भने हनुमानबाहेक अरु सेनापति लगायत सम्पूर्ण सेनाको हताहती भयो । यो खबर लिएर हनुमान सीतासमक्ष पुगे ।
बर सुनेर सीता रिसाइन् र कालीको रूप धारण गरिन् । महालक्ष्मी, महासरस्वती र महाकालीलगायत सम्पूर्ण देवी र संसारका सम्पूर्ण मातृशक्तिहरूलाई आव्हान गरिन् । सबै मातृशक्तिहरू आ(आफ्ना हतियार र शक्ति लिएर कालीमै समाहित भए । संसार नै डगमगाउने महाशक्तिरूपिणी देवी शतानन रावणसँग युद्ध गर्न रणभूमिमा पुगिन् ।
देवीको हुङ्कारले तीनै लोक त्राहीमाम भयो । सबै देवताहरू युद्ध मैदानको आकाशमा गई नियाल्न थाले । ब्रह्मा, विष्णु महेश्वरले पनि सावधानीपूर्वक युद्धलाई नियालिरहेका थिए । सुरुमा एउटी महिला एक्लै मैदानमा देख्दा शतानन खित्का छाडेर हाँसे । एउटी महिलाले उसको सामना गर्न सक्छिन् भन्ने कुरा उनले कल्पनासम्म पनि गरेका थिएनन् ।
यसैबीच काली र दानवबीच घमासान युद्ध भयो । देवीले शताननले हानेका सबै निशाना र हतियारलाई निस्तेज बनाइदिइन् । यो युद्धले पुरै संसार त्राहीमाम भयो । दानवले बीचमा मायावी शक्तिको पनि प्रयोग गरे भने उनका सयौँ प्रतिरूपलाई देवीसँग युद्ध गर्न पठाए । यसरी महादेवीले सबै प्रतिरूपहरूको खड्गले छेदन गर्दै रगत भुइँमा झर्न नदिई हावाबाट सिधै निलेर संहार गरेको कुरा अद्भूत रामायणमा पढ्न पाइन्छ ।
शतानन रावणको मृत्यु भैसकेपछि माता कालीको रिस शान्त भएन । उनी हुङ्कार गर्दै पहाडका चुचुरा र थुम्का थुम्कामा टेकेर हिँडिन् । संसार नै डगमगाएर प्रलय होलाजस्तो भयो । पृथ्वी र अन्य ग्रहहरूले पनि आफ्नो बाटो बिराउन थाले । तिनीहरू एक अर्कामा ठोकिएलान् कि भन्ने त्राहिमाम भयो । सारा सृष्टि नै प्रलय होला कि जस्तो भयो ।
त्रिदेवलगायत सम्पूर्ण देवताहरूको वृहत सभा बसेर परामर्श भयो । पहिला रक्तबीजको मृत्युपश्चात पनि यस्तै हाहाकार भएको थियो । त्यति बेला पनि शिवको आराधाना गरी शिव भुइँमा सुतेको र त्यसमा देवीले थाहा नपाई आफ्नो पाउ राखे पछि देवीको रिस क्रमशः शान्त हुँदै गएको बारे चर्चा भयो । त्यसपछि सबैले शिवको आराधाना गरे । शिवजी डाँडामा आएर शवासनमा सुतिदिए । माता कालीले उनका छातीमा पाउ राख्न साथ क्रमशः रिस शान्त हुँदै गयो । संसार क्रमशः आफ्नो लयमा फर्कियो । सबैले देवीको जय जयकार गरे ।

यस सम्बन्धमा अद्धूत रामायणमा यसरी वर्णन गरिएको छः
सर्वभारसहोदेव सीतापादतलेस्थित । शवरूप विरूपाक्ष स्थिताभूतधराचरा । ।
- अद्धूत रामायण, त्रयोविंसति सर्ग (६९/७०) श्लोक
त्यसपछि माताकाली युद्ध मैदनमा फर्किइन् । यसैबीच हनुमानको ठूलो अनुनयपछि भगवान रामको होस आयो । माता कालीले भगवान रामलाई दर्शन दिई बरदान माग भनिन् । भगवान रामले पनि युद्धमा मरेका सबै योद्धा बाँचून् र सीतामाताले सधैँ उनको हृदयमा बास गरुन् भनी वरदान मागे । माताले तथास्तु भनी बरदान दिइन् । माता काली त्यसपछि सबै देवीहरूको रूप र शक्ति फिर्ता गरी आफ्नो वास्तिक स्वरूपमा फर्किइन् । त्यसपछि राम, सीता, लक्ष्मण र अरु सेनासहित अयोध्या फर्किए ।
माता कालीको रिस शान्त भएको ठाउँ भनेको नै अहिले पाथीभरा माता बिराजमान भएको स्थान हो । भगवान् शिव सभापोखरी क्षेत्रमा शवासनमा सुतेको देखिन्छ । देवीले एउटा पाउ अहिले पाथीभरा माता भएको स्थानमा र अर्को पाउ पारीको डाँडामा सुतेका शिवको छातीमा राखेको अनुमान लगाउन सकिन्छ । यसरी शिवको छातिमा पाउ राखिसकेपछि संसारका सम्पूर्ण देवी तथा मातृशक्तिहरूको शक्ति अहिले पाथीभरा माता बिराजमान भएको स्थानमा केन्द्रित भई विश्वकै सबैभन्दा शक्तिशाली शक्तिपीठको उत्पत्ति भएको कुरा शास्त्रमा उल्लेख गरिएको छ । हामीले पाथीभराबाट हेर्दा सुतेका शिव र उनका छातिमा देवीको पाउ स्वरूपको सभापोखरीको आकृति देखिन्छ ।
माथि उल्लेखित तथ्यका आधारमा सहस्र शीर्ष रावणलाई मार्न सीताले धारण गरेको स्वरूप शान्त भएको वा शक्ति सन्चिति भएको स्थान पाथीभरा र कालीलाई शान्त गर्न शिव सुतेको शवरूप शिवस्थान नै शव पोखरी, शिव पोखरी वा सभापोखरी हो ।
पूजा विधि
माथिल्लो फेदीदेखि नजीकै कान्छी देवीको थान छ । पूजा विधि यहीँबाट सुरु हुन्छ । यसैको छेउमा देवीका वाहन सिंहको प्रतीक बनाएर राखिएको छ । जसले द्वारपालको काम गरेको अनुभूति दिन्छ । यही ठाउँमा तामैतामाको द्वार बनाउन लागिएको छ । पैदल मार्ग हिँड्ने सबै ठाउँमा ढुङ्गाको सिलिङ छ । वृद्धवृद्धादेखि बालबालिकासम्मलाई हिँड्न सहज बनाउनका लागि छोटो सिँढी राखेर बनाइएको छ । देवीको उत्पत्ति हुँदाका बखत पाथीभरामा सानो मूर्ती थियो । यो अहिलेसम्म पनि छ । जहाँ देवीको वास्तविक रूप सहजै नियाल्न सकिन्छ । खुला चौरको बीचमा प्राकृतिकरूपमा रहेकी देवीको दर्शनका लागि वार्षिक तीन लाखको हाराहारीमा तीर्थयात्री जान्छन् ।
मन्दिर पुग्नुअघि बाटामा लहरै घण्टी झुण्ड्याइएका छन् । पाथीभरा मन्दिरको प्रवेशद्वारबाट सुरु हुन्छ दुईतिर घण्टीसँगैको मार्ग । दायाँ(बायाँ दुवैतिरका घण्टी बजाउँदै मन्दिरमा प्रवेश गर्छन् । यसैको माथिल्लोपट्टि किरात समुदायको माङहिङ बनाइएको छ । यहाँ पूजा आराधनाका लागि किरात धर्मावलम्बीहरू जाने गरेका छन् । मन्दिर हातामा बौद्ध मन्त्र लेखिएका झन्डाहरू फरफराइ रहन्छन् । यहाँ पुग्दा यस्तो अनुभूति हुन्छ यो सबै धर्मावलम्बीहरूको सङ्गमस्थल हो ।
मन्दिरको दोस्रो प्रवेशद्वारमा पुगेपछि पूजा स्थलमा प्रवेश गरिन्छ । सबैभन्दा अग्रभागमा गणेशको मूर्ती छ । मूल पूजा विधि यहीँबाट सुरु हुन्छ । यसको बायाँतिर महादेवको मूर्ती छ । उनको पहिचान गराउने नाग, नन्दी जस्ता आकृति पनि छन् यहाँ । यसको अगाडिपट्टि हवन कुण्ड भवन छ । भवनभित्र बसेर हवन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
पाथीभराको उत्पत्तिदेखि नै यहाँ भक्तजनले घण्ट, त्रिशूल चढाएका छन् । अहिलेसम्म पनि त्यो क्रम जारी छ । त्यसलाई मन्दिर परिसरको ठाउँ ठाउँमा झुण्ड्याइएको छ । मन्दिर परिसर पुग्ने जो कोहिका लागि यो निकै आकर्षक बन्छ ।

कसरी जाने ?
काठमाडौँदेखि सुकेटारसम्म हवाईजहाज अथवा ताप्लेजुङ सदरमुकाम फुङलिङसम्म बसमा जान सकिन्छ । ताप्लेजुङको फुङलिङ बजारबाट पाथीभरा मन्दिर १९ दशमलव ४ किलोमिटरको दुरीमा छ । तर, अहिले फेदीसम्म कच्ची बाटो भएका कारण सबारी साधन अर्थात जीप जाने गर्दछन् । फेदीबाट ५ घण्टाको उकालो चढेर मन्दिरमा पुगिन्छ ।
समुन्द्र सतहबाट ३,७९४ मिटर उचाइमा रहेको छ । आवत जावत गर्न कठिन हुने भए पनि दर्शनार्थीको घुइँचो लाग्ने गर्छ । पाथीभरा लोकप्रिय हुँदै जानुमा मन्दिर रहेको स्थान, त्यहाँको वातावरणको साथै धार्मिक आस्थाको पनि त्यतिकै ठूलो भूमिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
गीता भुसाल






