बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता

बागलुङ । अविरल वर्षापछि बागलुङका विभिन्न स्थानमा गएको पहिरोमा परी पछिल्लो दुई दिनमा १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आइतबार मात्रै तमानखोला र निसीखोला गाउँपालिकामा नौ जनाको मृत्यु भएको हो । 

शनिबार ताराखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको थियो । तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको छ । सोही स्थानमा पहिरोले आठ घर बगाएको प्रहरीले जनाएको छ ।

त्यस्तै, तमानखोला–४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको छ । हस्तवीरकी श्रीमती भने पहिरोमा परी बेपत्ता भएकी छन् ।

निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज, आठ वर्षीय मुकेश र तीन वर्षीय निशान विक रहेका छन् ।

निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको छ ।

यसअघि शनिबार ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार पूर्वसूचनाका कारण थप मानवीय क्षति हुनबाट जोगिएको हो । पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाली सेनाको हेलिकप्टरसहित सुरक्षा अधिकारीको टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै