नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम

चितवन । नारायणी नदी र रिउ खोलामा पानीको सतह खतराको बिन्दुभन्दा माथि पुगेपछि चितवनका नदी तथा खोला तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देवघाटस्थित नारायणी नदीमा जलसतह १०.११ मिटर पुगेको छ । नारायणीमा ९ मिटरलाई खतरा र ७.३ मिटरलाई चेतावनीको तह मानिन्छ । पछिल्लो समय जलसतह निरन्तर बढिरहेकाले नदी आसपासका तल्लो भूभागमा कटान तथा डुबानको जोखिम बढेको हो ।

भरतपुर महानगरपालिका–१७ र २८ का नदी तटीय क्षेत्रमा पानी पस्न थालेकाले स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

यस्तै, बनकट्टास्थित रिउ खोलामा पनि जलसतह ४.६२ मिटर पुगेको छ । रिउ खोलामा ३.८० मिटरलाई खतरा र ३.४० मिटरलाई चेतावनीको तह मानिन्छ । पछिल्लो मापनमा पानीको सतह केही घटे पनि अझै खतराको सीमाभन्दा माथि रहेको विभागले जनाएको छ ।

दुवै नदी तथा खोलामा पानीको बहाव उच्च रहेकाले नदी किनार तथा आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै