पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता

रूपन्देही । लगातारको वर्षासँगै आएको पहिरोमा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुई दिनदेखि निरन्तर वर्षा भएपछि जिल्लाका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरोमा परी माथागढी गाउँपालिका–२ रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६ ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक विमल भट्टराईका अनुसार ठिमुरेमा पहिरोले घर पुरिएपछि बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस्तै, माथागढी–२ रुप्से रजौलीका चिदीको पनि पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाका कारण पाल्पाका ग्रामीण सडक तथा बस्तीहरू जोखिममा परेका छन् । कालीगण्डकी नदीमा आएको बाढीले स्याङ्जा र गुल्मी जोड्ने पक्की पुलसमेत बगाएको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको ड्याम नजिक रहेको उक्त पुल बाढीले बगाएको प्रहरीले जनाएको छ ।

बाढीका कारण पाल्पाको माडीफाँट डुबानमा परेको छ। झडेवा फाँटलगायतका क्षेत्रमा पानी पसेपछि धानबालीमा समेत क्षति पुग्ने अवस्था रहेको छ ।
माथागढी गाउँपालिका–४ झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । गाउँपालिका अध्यक्ष यम चिदीका अनुसार जमिन चिरिएसँगै स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ ।

लगातारको वर्षाका कारण जिल्लाका नदी तथा खोलानालामा पानीको सतहसमेत बढेको छ । सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै