काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५ः४५ बजेसम्म तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक तथा रुकुम पश्चिमको भेरी करिडोरलगायत सडकखण्डमा यातायात प्रभावित भएको छ ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइएको छ ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ ।
अरनिको राजमार्गका विभिन्न खण्ड अवरुद्ध
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं. २ कोदारी तथा लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
जिरोकिलोमा पहिरो खसेको तथा लिपिङ क्षेत्रमा सडक भासिएका कारण यातायात ठप्प भएको हो । यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पनि अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भेरी करिडोर र मध्यपहाडी लोकमार्ग पनि ठप्प
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरअन्तर्गतको जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।
त्यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोलानजिक पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।
अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकखण्डमा यात्रा नगर्न तथा सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






