काठमाण्डौ । साउन लागेयता देखिएको एलपी ग्यासको अभाव अझै सहज हुन सकेको छैन । ग्यास लिन उपभोक्ता घण्टौँसम्म लाइन बस्न बाध्य छन् ।
तर नेपाल आयल निगमले भने बजारको मागअनुसार ग्यासको आयात बढाइएको जनाएको छ । निगमका अनुसार पछिल्लो २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिक टन एलपी ग्यास आयात भएको छ । यो महिनामा झण्डै ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अनुमान गरिएको छ ।
सामान्य अवस्थामा नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास आयात हुने गरेको छ । निगमको एलपी ग्यास विभागका निर्देशक विनितमणि उपाध्यायले आयात बढाइएकाले बजारमा देखिएको अभाव कम गर्न सहयोग पुग्ने बताएका छन् ।
ठूला चाडपर्वका समयमा ग्यासको अभाव हुन नदिन सरकारले भारतसँग तीन महिनाका लागि ग्यास आयातको कोटा बढाउन कूटनीतिक पहल समेत गरिरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन कायम गर्न मन्त्रालयले पहल गरिरहेको बताएकी छन् । यसअघि आधा सिलिन्डर मात्र उपलब्ध गराइँदै आएकोमा अहिले पूर्ण सिलिन्डर दिन थालेपछि बजारमा माग र आपूर्तिबीच असन्तुलन देखिएको निगमको भनाइ छ ।
नेपालमा हाल ५८ वटा एलपी ग्यास उद्योग सञ्चालनमा छन् । ती उद्योगको कुल भण्डारण क्षमता १० हजार १६६ मेट्रिक टन रहेको छ भने दैनिक १ करोड ७५ लाख सिलिन्डर फिलिङ क्षमता रहेको जनाइएको छ ।
ग्यासको आपूर्ति सहज बनाउन उद्योग, डिलर तथा बिक्री केन्द्रको अनुगमनलाई तीव्र पारिएको छ । शनिबार उद्योगमन्त्रीसहितको टोलीले काठमाण्डौको बालाजुस्थित नेपाल ग्यास उद्योग तथा टेकुस्थित निगम परिसरमा रहेका नेपाल, एसपी, एभरेस्ट, सुगम र श्रीराम ग्यासका बिक्री केन्द्रको निरीक्षण गरेको थियो ।
निगमले गठन गरेको क्विक रेस्पोन्स टोलीले ग्यास नपाएको भन्दै आएका ५०० भन्दा बढी उपभोक्ता गुनासो सम्बोधन गरेको जनाएको छ । वाणिज्य मन्त्रालय, निगम र निजी क्षेत्रका प्रतिनिधि सहभागी टोलीले उपभोक्ताको गुनासोका आधारमा ग्यास उपलब्ध गराउन सहजीकरण गरिरहेको आपूर्ति मन्त्रालयका शाखा अधिकृत दुर्गादत्त भट्टले बताएका छन् ।
निगमले ग्यासको आपूर्ति निरन्तर भइरहेको भन्दै आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






