इलाम । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् ।
इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ । स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए । सो हाइड्रोपावरले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटकपटक झुक्याएका कारण हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उनले बताए । “खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत उहाँहरूले छोड्नु भएको छैन,” भण्डारीले भने ।
सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो । माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ । स्थानीयवासीले सोमबार रातिदेखि नै जाग्राममा बसेर उत्पादन बन्द गराएका हुन् ।
सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ । माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ । हाइड्रो सञ्चालकले स्थानीयका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाइ छ । सोमबार राति ११ बजेदेखि नै हाइड्रोतर्फ गएको पानी खोलातर्फ कटाइदिएको जनाइएको छ ।
हाइड्रोका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताए । उनले हाइड्रोको गेटसमेत बन्द गरेकोे जानकारी दिए। स्थानीयवासीले पटकपटक माग बढाउने गरेको उनको भनाइ छ । पछिल्लो समय शेयर लगानीमार्फत ५० हजार बढी सञ्चालक रहेको हाइड्रोको एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको हाइड्रोले जनाएको छ । उत्पादन बन्द भएपछि सो हाइड्रोले दैनिक पाँच लाख बढी घाटा बेहोर्नुपर्छ । हाइड्रोपावर सात दशमलव आठ मेघावाट क्षमताको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति
- आजको मौसमः केही क्षेत्रमा वर्षा र पश्चिमी तराईमा गर्मी हुने
- यस्ता छन् विश्वको सबैभन्दा ठूलो नोबेल पुरस्कारबारे रोचक तथ्य....
- ओरालो लागेको मृग बने मास्टर सेफ सन्तोषः नियत खराब थिएन नियति खराब भइदियो
- ललितपुरमा गोली चल्योः तीन जना लागुऔषध तस्कर पक्राउ



ट्रेन्डिङ
खबरमुकाम





