चियाबारीसहित मनोरम प्राकृतिक छटासँग आनन्द लिनमात्र हैन इलामको संस्कृति, कला र धार्मिक स्थलले पनि पर्यटकलाई उत्तिकै लोभ्याउछ । वि.सं. १९२० मा नै चिया खेती सुरुभएको इलाम त्यसै पनि चियाको राजधानीकोरुपमा कहलिएको छ । यहाँ आउनेहरुले चिया रोपाईदेखि कटिङ अनि टिपाईसम्मको अवलोकन गर्न सक्छन् । त्यस्तै कारखानामा प्रशोधन गरेर विभिन्न प्रकारकामा वनाइने चियाको भेराइटीबारे ज्ञान लिन सक्छन् । नेपालकै जेठो इलाम चिया वगानसहित, कन्याम र अन्तुका वगानहरुमा धेरै पर्यटक पुग्ने गरेका छन् ।
इलाम वजारमा काठले वनेका पुराना प्रकृतिका घर, माइस्थान, नारायणस्थान, सिंहवाहिनी, सेतीदेवीलगायत धार्मिक स्थल, पुरानो चिया वगान र कारखाना, भालुढुङ्गालगायत यहाँका घुम्न लायक स्थान हुन् । धार्मिकस्थल कोल्वुङको पाथिभरामा पनि तराईवाट आउने श्रद्धालुको ताँती नियमित छ । मन्दिर दर्शनसँगै चिसो मौसममा घुमघामका लागि तराई र भारतको सिलिगुडी क्षेत्रवाट पनि त्यहाँ धेरै आइपुग्ने गर्छन् । पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपछि यहाँको मनसुन पर्यटनमा पनि सुधार भएको स्थानीयको बुझाई छ । पहाडकी रानी, सुर्योदयको जिल्ला, चियाको राजधानी जस्ता उपनाम जोडिएको इलाम पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । भौगोलिक बनोट, चिया, नगदेवालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, खेलकुदलगायतले यहाँको पर्यटनलाई जुरुक्कै बोक्न सक्ने संभावना उत्तिकै छ । सल्लघारीबीचको करफोक, पाँचथर सीमावर्ती राँके, पञ्चमी, चिसोपानी पञ्चमी, माङमालुङ, इलाम बजारलगायत थुप्रै स्थान पर्यटकीय गन्तव्यमा पर्छन । पूर्वी नयाँबजार, थुम्के डाँडा, हाँगेथाम, चोयाटार, जौवारी, मेघ्मा, तुम्लिङ, किरात धार्मिकस्थल माङसेवुङ लारुम्वा माबुथाम पनि पर्यटन विकासको क्रममा छन् ।
सन्दकपुर
उत्तरी सीमावर्ती सन्दकपुर क्षेत्र पूर्वाञ्चलकै प्रमुख पर्यटकीय गन्तव्य हो । सदरमुकाम इलामवट माईपोखरी माइमझुवा हुदै गोरुवालेवाट सन्दकपुर पुग्न सकिन्छ । त्यस्तै माबुवाट कालपोखरी हुदै मोटर चडेर पनि सन्दकपुर पुग्न सकिन्छ । सदरमुकामवाट सन्दकपुरको दुरी करिव ४५ किलो मिटर छ । त्यहाँ नेपाल तर्फ व्यवस्थित दुईवटा होटल छन् । भारत तर्फ सरकारी आवास गृह पाइन्छ । शेर्पा च्यालेट र सनराईज होटलले भारत भएर आउने पर्यटकलाई पनि बासको व्यवस्था गर्ने गरेका छन् । इलामवाट कम्तिमा ४ घण्टा मोटर यात्रा गरेर त्याँ पुग्न सकिन्छ । चिसो मौसमको आनन्दसँगै विभिन्न जडिवुटीको स्वाद लिन सकिन्छ । त्यस्तै चौरीको दुध, घिउ र छुर्पीले त्यहाँ पुग्नेलाई मोहित वनाउछ ।
तीनहजार छ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुरवाट सगरमाथा, कंचनजंघालगायत नेपाल भातर र घुटानका हिमश्रीङखला देख्न सकिन्छ । साथै यो क्षेत्र र जैविक विविधताले पनि महत्वपूर्ण मानिन्छ । रेडपाण्डाको प्रजनन् समयमा भारतले पर्यटकलाई प्रतिवन्ध लगाउने गरेकाले नेपाल भएर सहजरुपमा मोटरमा पुग्न सकिने अवस्था भए त्यहाँ पर्यटकको ताँती लाग्ने स्थानीय वताउछन् । सन्कपुर धार्मिक आस्थाले भरिएको कन्काई माईको उद्गम स्थल पनि हो ।
माईपोखरी
इलाम सदरमुकाम देखि १३ किलो मिटर उत्तरमा माइपोखरी अवस्थित छ । माइपोखरीमा रैथाने गलैचे, झ्याउ, रुख भ्यागुतो, ठकठके जस्ता दुर्लभ जन्तु र वनस्पति पाइन्छन् भने तीन सय वढी चराका प्रजाती पाइने विज्ञहरु वताउछन् । दुई हजार एक सय २१ मिटरको उचाईमा रहेको माईपोखरीमा दुई हेक्टर जलासय सहित १२ हेक्टर क्षेत्रलाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिएको छ । माईपोखरीमा होटलहरु खुलेका छन् । एक किलो मिटर टाढाको देउराली बजारमा पुगेर पनि होटलमा बस्न सकिन्छ । मध्य पहाडी क्षेत्रमै इलामको माइपोखरी पहिलो पटक रामसार क्षेत्र घोषणा भएको हो । रामसार क्षेत्रमा तीन सय वढी चराका प्रजाती पाइने विज्ञहरु वताउछन् । माइपोखरी नजिकसम्म कालोपत्रे सडक पुगेको छ । माइपोखरीको रमणीयतामा झुम्न देशविदेशवाट पर्यटक पुग्छन् । माइपोखरीमा हरिवोधनी एकादशीमा मेला लाग्छ । स्थानीयले संरक्षण गरि राखेको मारुनी नाचले आगन्तुकको मन लोभ्याउछ ।
ढापपोखरी
स्थानीय प्रयासमा गतिलो गन्तव्यको रुपमा पछिल्लो समय स्थापित स्थान हो चन्द्रपाल थेवे ढापपोखरी । सन्दकपुर गाउँपालिका वडा नं. ५ मा पर्ने ढापपोखरी इलाम सदरमुकामवाट २५ किलोमिटर उत्तरमा पर्छ । चियावारीसहित वरिपरिको हराभरा वातावरणले पोखरीको सौन्दर्य झनै थपेको छ । ५५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीलाई सिगार्न स्थानीय मरिहत्ते गरेर लागेका छन् । यो सिमसार क्षेत्रमा दुर्लभ हुँदै गएको सुनगोहोरोसहित विभिन्न प्रजातिका जिव र चराहरु पाइन्छन् । ढापपोखरी क्षेत्रमा व्यवस्थित होटल नभएपनि होमस्टेमा वस्न सकिन्छ । सडकको अवस्था उति राम्रो नभएकाले इलाम सदरमुकामवाट यहाँ पुग्न डेढ घण्टा जति समय खर्चनु पर्छ । नजिकैको हाँगेथाम र चोयाटार क्षेत्रमा दुर्लभ रेडपाण्डा पाइन्छ ।
नुनथलामा विभिन्न जातका पुतली पाइने गरेको छ । यहि गाउँको जौवारीवाट हिमश्रीङ्खलासहित विभिन्न स्थानको दृष्यावलोकन गर्न सकिन्छ । पोखरीवाट सन्दकपुर, जौवारीलगायत क्षेत्रमा पुग्न सकिने भएकाले यो उत्तरी पर्यटकीय क्षेत्रको संगमस्थल पनि हो । यहाँ खान र वस्नकालागि स्थानीयले होमस्टे सुरु गरेका छन् । कोभिडका कारण डुङ्गा वन्द भए पनि पुनः सञ्चालनको तयारी भइरहेको छ । यो पोखरी स्थानीयले पर्यटन विकास र वातावारण संरक्षणकालागि देखाएको अनुकरणीय उदाहरण पनि हो । वि.सं.१९६० तिरै छिमेकी गाउँ प्याङका समाजसेवी चन्द्रपाल थेवेका छोरा धनरुपले जमुना र सुलुवुङको बीचमा दार्जिलिङवाट लठ्ठासहित सामाग्री ल्याएर झोलुङ्गे पुल वनाएका थिए । उनैको सम्मानमा पोखरीको नामाकरण गरिएको हो ।
श्रीअन्तु
झुल्केघामको अवलोकनसँगै लोपन्मूख लेप्चा जातिको संस्कृति, अन्तु पोखरी, हराभरा चियाबारी र नगदेवालीवाट सुधारिएको जीवन शैली नियाल्नु नै अन्तु पुग्ने पर्यटकको चाहना हुन्छ । अन्तु र समालवुङका बासिन्दाले लगातार ८ पटकसम्म महोत्सव आयोजना गरेर अन्तुलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाइसकेका छन् । ७ हजार छ सय ३७ फुट उचाइमा रहेको अन्तु पुग्न मेची राजमार्गको फिक्कलवाट करिव १५ किलो मिटर सडक पार गर्नुपर्छ । त्यहाँ बस्न र खान पेइङगेष्टको अबधारणा अपनाइएको छ । सडक कालेपत्रे भएकाले पर्यटक जाने क्रम पनि बढेको छ । यहाँ होमस्टेमा स्थानीय परिकारको स्वाद चाख्दै सस्तोमा बस्ने व्यवस्था मिलाईको छ । फिक्कलवाट ४५ मिनेटमा अन्तु पुग्न सकिन्छ । यहाँ स्थानीयरुपमा उत्पादन हुने सागसब्जी, कोदोको रोटी, सिकुटी, चियाका विभिन्न परिकारलगायतको स्वाद चाख्न पाइन्छ । अन्तुवाट करिव १ घण्टा यात्रा गर्दा भारत पश्चिम वंगालको पर्यटकीय स्थल मिरिक पुग्न सकिन्छ । पछिल्लो समय हरियालीभित्र सुन्दर सहरकोरुपमा विकास भएको अन्तुमा तारे होटल पनि खुलेको छ ।
कन्याम
थुम्काथुम्कामा मौलाएको चियाबारीले ‘ग्रिनकार्पेट’ झै दृष्य देखिनु नै कन्यामको आर्कषण हो । चियाको पर्याय बनेको कन्याम कुनैवेला भनभोज स्थिलले मात्र चिनिन्थ्यो । अहिले भने कन्याम पूर्वकै प्रमुख गन्तव्यको रुपमा परिचित भइसकेको छ । मेचीराजमार्गले चिरेको कन्याम क्षेत्रमा स्काई वाकको व्यवस्था छ । यो क्षेत्रमा साना ठूला लगानीका दर्जनौ होटल रहेका छन् । विभिन्न जातजातिको भेषभूषामा सजिएर फोटो खिच्नेदेखि घोडामा सवार गरेर रमाइलो लुट्न आगन्तुक लालायित हुन्छन् ।
नेपालसहित भारत र पश्चिमा देशवाट पनि पर्यटकको वाक्लो उपस्थिती हुने गरेको छ । सडकलाई चौडा पार्दै चमकझमक वढाइएकाले पनि कन्यामको सुन्दरता वढेको देखिन्छ । तर यहाँको ऐतिहासिक चिया वगानमा क्षति हुँदै गएकाले भने कन्यामको पर्याय नै कुनै दिन गुम्छ कि भन्ने खतरा भने कायम नै छ ।
सिद्धिथुम्का
सदरमुकाम इलाम बजारवाट २० किलो मिटर पश्चिममा अवस्थित सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमश्रिङखला तराईका फाँटलगायतको दृष्यावलोकन गर्न अब्बल छ । ऐतिहासिक खान्द्रुङ गुफा, पञ्चमी बजार, अजम्बरी डाँडा पनि पर्यटकीय महत्वका छन् । यहाँ खानबस्न पेइङ गेष्टलाई आधार मानिएको छ ।
आठ किलो मिटर टाढाको मंगलवारे बजारमा होटल लजको व्यवस्था छ । यहाँ उत्पादन हुने, कोदो, सखरखण्ड, सिलाम, फपर जस्ता उत्पादनको स्वाद चाख्न सकिन्छ । झापाको विर्तामोडवाट माइनगरपालिका हुँदै वेलासे भएर पनि सिद्धिथुम्का पुग्न सकिन्छ ।
लारुम्बा
झापाको दमकवाट २५ किलोमिटर उत्तरमा रहेको लारुम्बा धार्मिक पर्यटकीय स्थल वन्दै गएको छ । किरात धर्म गुरु आत्मनन्द लिङ्देनको बसोबास भएको यो क्षेत्र सहर झै विकास भएको छ । यहाँ किराँत धर्मका श्रद्धालु र किरात धर्मको खोज अनुसन्धानका लागि देश विदेशवाट आउने गर्छन । जाँडरक्सीलगायत मदिराजन्य समाग्रीको प्रयोग गर्न नपाउनु, माशुमंश नखानु यहाँको मूख्य विक्षेशता हो । आगन्तुकलाई स-साना होटल र होमस्टेमा राख्ने गरिएको छ ।
लारुम्बावाट माङसेवुङ गाउँपालिकाकाको माङमालुङ, गजुरमुखी धाम पनि नजिक पर्छ । यी दुवै स्थान र धार्मिक र पर्यटकीय महत्वका छन् । इलाम सदरमुकामवाट यो स्थान ५० किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ ।
पानीटार
झट्ट देख्दा कन्याम झै लाग्ने पानीटार इलामको अर्कषक गन्तव्यको रुपमा विकास हुँदै गएको छ । देउमाई नगरपालिकामा पर्ने पानीटारमा घुमघाम र वनभोजलागि आउनेहरुको संख्या वाक्लिएको छ भने राजधानीलगायत विभिन्न कलेजवाट शान्त वातावरणमा अध्ययन र अनुसन्धानका लगि आउने क्रम पनि उत्तिकै छ । थुम्काथुम्कामा मौलाएको रमणीय चियाबारीले मन छोएपछि धेरैको भावना पग्लने गरेको छ । प्राकृतिक सौन्दर्यको आनन्द लिने धेरैले पानीटार यात्रा गर्ने गरेका छन् । सदरमुकामवाट २५ किलोमिटर पश्चिममा रहेको पानीटारको मुख्य विक्षेशता चिया वगान र हरियाली वातावरण, ग्रामिण जीवन शैली र दृष्यावलोकन नै हो ।
पानीटारका डाँडाकाँडावाट जिल्लाका विभिन्न स्थानसँगै तराईका फाँटसमेत देख्न सकिन्छ । यस क्षेत्रमा छरिएर रहेका विभिन्न जातजातिको संस्कृतिले पनि यो क्षेत्र महत्वपूर्ण छ । झापाको विर्तामोडवाट करिव ५० किलोमिटरको दुरी पार गरेर माइ नगरपालिका हुँदै पनि पानीटार पुग्न सकिन्छ ।
टोड्के भरना
सन्दकपूर गाउँपालिका भित्रको सास्कृतिक, जैवीक विविधता, सिमसार , खोलानालासँगै अग्ला झरना पर्यटकका आकर्षक गन्तव्य हुन् । सन्दकपूर २ मा अवस्थित टोड्के झरना इलामको अग्लो झरना हो । पर्यटकको आकर्षण बढेसँगै सडक र पदमार्ग निर्माणको कामले झरना पुग्ने पर्यटकको संख्यामा वृद्धि आएको छ । अग्लो भिरबाट छङछङ गर्दै पानी खसेको रोमान्चित दृश्यमा पर्यटक रमाउने गरेका छन् । सन्दकपूर गाउँपालिकासँगै टोड्के झरना इलामको सबैभन्दा अग्लो झरना हो । झरनामा नेपाल, भारतको कलकत्तासँगै तेस्रो मुलकका पर्यटक पनि पुग्न थालेका छन् । २ सय ८० फिट अग्लो टोड्के झरना १० वर्ष अघि नेपालको दोस्रो अग्लो झरनामा सुचिकृत भएको थियो ।
पर्यटक आवागमन हुन थालेपछि झरना पुग्ने सडक, पदमार्ग र पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
झरनाको पानीमा देखिने सप्तरङ्गि इन्द्रेणिको मनमोहक दृश्य लोभैलाग्दो हुन्छ । टोड्के झर्नाको रोमाञ्चित दृश्य सन्दकपूर ४ माबुको सायङ्बा गाउँबाट पनि उत्तिकै मञ्जाले देख्न सकिन्छ । अशोज, कात्तिक, चैत्र र बैशाख महिनामा धेरै पर्यटकहरु टोड्के झरना पुग्ने गरेका छन् । टोड्के झरना पुग्न इलाम बजारदेखि बिब्ल्याटे माइपोखरी देउराली हुँदै उकालिनुपर्छ । झरना नजिकै ठुलो टार भएकाले यो झरनाको नाम धप्पर राखिएको हो । आन्तरिक पर्यटक झरना हेर्न पुग्न थालेपछि स्थानीयबासीका घरहरुमा होमस्टे संचालित छन् ।
मेची राजमार्गको पुवाखोला बजारबाट ३ किलोमिटर र रामसार क्षेत्र माईपोखरीबाट ३ किलोमिटर पार गरेपछि छाँगे झरना पुगिन्छ । अग्लो पहरामा रहेको झरनामा हिउँद वर्षातनै ठुलो पानी हुन्छ । पर्यटकीय आकर्षणको केन्द्र रहेकाले अहिले आन्तरिक पर्यटक झरनामा रमाउन पुग्न थालेका छन् । आकर्षण झरना रहेकाले सन्दकपूर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण गरेको छ । झरनामा आन्तरिक र बाह्य पर्यटकहरु पनि आउने भएकाले पर्यटनका माध्यमबाट ग्रामीण क्षेत्रको आयस्तरमा वृद्धि गर्ने गाउँपालिकाको योजना छ ।
पहराको बिचबाट निस्किने सन्दकपूर ५ जमुना मझुवाको पाहा खोला झरनाको झनै दृश्य रोमाञ्चित छ । झरनाको रोमाञ्चित दृश्यमा रमाउन पर्यटकहरु पुग्ने गरेका छन् । जमुना इङ्ला सडकमा पर्ने पाहा खोला झरनामा आन्तरिकसँगै बाह्य पर्यटक पुग्न थालेका हुन् । पाहा खोला झरनाको छवैको कपुर डाँडामा अर्को साहसिक पर्यटन रक क्लाम्बिङ्गको संम्भावना छ । पाहाखोला झरनासँगै रहेको नुनथला क्षेत्र पुतलीहरु पाइने प्रख्यात ठाउँ हो । पर्यटक आकर्षण गर्ने झरनासँगै जैविक विविधताले महत्वपूर्ण सन्दकपूर गाउँपालिका नदी र खोलाहरुको मुहान क्षेत्र हो । कोशी प्रदेशको उर्भर भुमी झापा जिल्लाको सिचाई र खानेपानीको मुख्य श्रोत माई नदीको मुहान सन्दकपूर २ को सन्दपूर डाँडामा पर्दछ ।
रेडपाण्डा
प्रकृति, सस्कृति, जैविक विविधता, चराहरु र वन्यजन्तु इलाममा पर्यटक आकर्षण गर्ने माध्यम बनेका छन् । इलामको उत्तरी गाउँपालिका सन्दकपूर लोपउन्मुख वन्यजन्तु, चराहरुको बासस्थानको क्षेत्र मानिन्छ । सन्दकपूर भित्रका घना जंगलमा बास बस्ने वन्यजन्तु र चराहरुको दृश्यावलोकनमा विश्वभरबाट पुग्ने पर्यटक संख्या पनि बढ्दो छ । शहरको कोलाहलबाट सयौँ कोष टाढा प्रकृतिमा रमाउन आइपुग्ने पर्यटकहरुले असंख्य चराहरु र वन्यजन्तुको दृश्यबाट रमाउने गरेका छन् ।
सन्दकपूर भित्रको जंगल आफ्नो बासस्थान बनाएको लजालु स्वभाव, लोपउन्मुख र आकर्षक वन्यजन्तु रेडपाण्डा पर्यटकको आकर्षण बनेको छ । सन्दकपूर ५ को आहालभञ्ज्याङदेखि सन्दकपूर १ को अधिकारीबाससम्म रेडपाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो । समुद्र सतहबाट २ हजार मिटरमाथिको क्षेत्र रेडपाण्डाको चरन क्षेत्र हो । रेडपाण्डाको बसोबासले गर्दा सन्दकपुर गाउँपालिकामा ५ स्थित चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, अधिकारीबास वन क्षेत्रमा पर्यटक घुमफिरको क्षेत्र हो । विश्वमा लोपउन्मुख सुचिमा सुचिकृत रेडपाण्डाको अवलोकनकै लागि देश विदेशका पर्यटक चोयाटर पुग्नेको संख्या बढ्दो छ ।
रेडपाण्डा ९३ देखि एक सय १० सेन्टिमिटर हुन्छ । तीनदेखि ६ केजीसम्मको तौल हुने पाण्डा नेपाल भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । दुर्लभ र संकटापन्न सुचिमा सुचिकृत रेडपाण्डा नेपालका २३ जिल्लामा पाइने गरेपनि धेरै पर्यटक तान्नेमा इलाम जिल्ला पर्दछ । सन्दकपुर-५ जमुनाको चोयाटार, हाँगेथाम, हिले, ४ नम्बर वडाको माबुथाम र पद्मसंभव सामुदायीक वनमा रेडपाण्डा पर्यटन फस्टाएको छ । विश्वमा १० हजारको संख्यामा रहेका रेडपाण्डा सुन्दकपुर गाउँपालिका क्षेत्र आसपास २ सय ५० को संख्यामा रहेको अध्ययनमा उल्लेख छ । रातो पाण्डा १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वार्षिकरूपमा कमै मात्र तापक्रम घटबढ हुने १ हजार ८०० देखि ४ हजार ८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ । यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय; काठमाडौं शाखा
- जेनजी आन्दोलनमाथि भएको दमनप्रति नेसनल प्याब्सनको आक्रोश, सहादत प्राप्त विद्यार्थीलाई श्रद्धाञ्जली
- एनआईसी एशिया बैंकका ग्राहक महानुभावलाई उपचार गर्दा १० प्रतिशतसम्म छुट सुविधा उपलब्ध
- केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्बन्धमा
- थःने या (माथिल्लो टोलको जात्रा)
- सानिमा बैंकको दराजसंग दशैं धमाका योजनाका लागि सहकार्य
- महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट
- दसैंमा नाचिने सख्या नाच थारू बस्तिमा सुरू