मुकामको कोशी पर्यटन वर्ष विशेषाङ्कबाटः पाँचथर जिल्लाका पर्यटकीय गन्तव्य

पाँचथर कोशी प्रदेशको मध्य पहाडी जिल्ला हो । यस जिल्लाको क्षेत्रफल १२४१ वर्ग कि। मि। मा फैलिएको छ । पाँचथरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधता सम्पन्न पर्यटकीय स्थलहरू छन् । काबेली, तिम्बुपोखरी, महादेव स्थान, जोरपोखरी, आगेजुङ्ग गुम्बा, पाथीभरा देवीस्थान (याङनाम), सिद्ध देवीस्थान, गढी मन्दिर, थाक्ले मन्दिर, किरातहरूको प्रसिद्ध लुब्रेकुटी मन्दिर, महागुरु फाल्गुनन्दको मन्दिर ,यासोकको सिद्धदेबी, देउराली आदि पाँचथर जिल्लाका पर्यटकीय स्थलहरू हुन् ।

ऐतिहासिक दृष्टिले मुख्य पर्यटकीय स्थानहरूमा जोरसाल गढी, आहाल गैह्री, छाला सुकुवा डाँडा, उत्तरे, फौदार पाटी (अमरपुर), च्याखलेपाटी, जोरपाटी (एकतिन), सिम्राहा पाटी (रानीगाउँ), तीनधारे पाटी (फिदिम), जोरसाल पाटी (फिदिम), हेवाखोला पाटी (नाङ्गिन) आदि रहेका छन् ।

हामीले पाँचथर जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकीकरण गरेर कोशी प्रदेशले आयोजना गर्न लागेको भ्रमण वर्ष २०८२ का लागि तय गरेको स्लोगन ‘८२ का ८२ गन्तव्य’ मा यसरी समावेश गरेका छौँ ।

आगेजुङ गुम्बा 

आगेजुङ साङ्छ्यो बौद्ध गुम्बा पाँचथरको फालेलुङ गाँउपालिका- १ लसुनेमा अवस्थित छ । लामा दोर्जे लाङठ्योलले २०१५ सालमा स्थापना गरेको यो गुम्बा कोशी प्रदेशकै सबैभन्दा पुरानो गुम्बा मानिन्छ ।

२०४२ सम्म लामा दोर्जे लाङठ्योलले व्यक्तिगत तवरबाट गुम्बा सञ्चालन गरेका थिए। त्यसपछि गुम्बा संरक्षण समिति गठन गरी समितिको मातहत सञ्चालन हुँदै आएको छ । पछिल्लो समय गुम्बालाई सरकारबाटै सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । 
गुम्बाको संरक्षण र बौद्ध शिक्षा विकास तथा अध्यापनमा राज्यले बेवास्ता गर्दा गुम्बा ओझेलमा परेको आगेजुङ गुम्बाका लामा तेन्जिङ शेर्पाले बताए ।

तेन्जिङले २०४९ सालदेखि गुम्बामा लामाको जिम्मेबारी सम्हालेका हुन् । कुनैबेला पूर्वमै नाम कमाएको गुम्बा संरक्षणमा कसैले पनि चासो नदिएकाले ओझेलमा पर्दै गएको छ । भौगोलिक रूपमा निकै सुन्दर ठाउँमा रहेको यो गुम्बा बौद्धको ऐतिहासिक स्थल समेत हो ।

फालोटरतीन सीमाना क्षेत्र 

पाँचथर जिल्लाको ४४।३८ किलोमिटर भू-भाग भारतसँगको सिमा क्षेत्र पर्छ । पाँचथरको भू-भाग भारतको पश्चिम बङ्गाल र सिक्किम राज्यसँग जोडिएको छ । जिल्लाको याङ्वरक र फालेलुङ गाउँपालिकाले सीमा क्षेत्र छुन्छन् ।

सिमा क्षेत्र उच्च पहाडी तथा हिमाली क्षेत्र पर्छ । माथिल्लो भू-भाग त्यसै पनि रमणीय हुन्छ ।रहरलाग्दो डाँडाकाँडा, मनलाई फुरुङ्ग पार्ने नागी र चउर, स-साना पोथ्रा र बुट्यानको सुन्दरता, नाङ्गो आँखाले मनमोहक हिमालका दृष्यलाई नियाल्दै रमाउनुको आनन्द छुट्टै हुन्छ ।

सिमा क्षेत्रमा पर्ने खुला र रमणीयस्थल चारराते यहाँको आकर्षक पर्यटकीय गन्तव्य हो । नेपाल तथा भारतको पश्चिम बेङ्गाल र सिक्किम राज्यको त्रिकोणात्मक सङ्गमस्थल तीनसीमाना र फालोट सिमा क्षेत्रमै पर्छ । जहाँ सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्छ । सन्दकपुर-फालोट भारतीय पर्यटकहरूका लागि चर्चित ट्रेकिङ रुट हो ।

याङ्वरक गाउँपालिकामा पर्ने चिवाभञ्ज्याङ सिमा क्षेत्रको अब्बल पर्यटकीय गन्तव्य हो । चिवाबाट पहाडैपहाड भएर पूर्व-पश्चित जोड्ने पुष्पलाल मध्यपहाडि लोकमार्ग सुरु हुन्छ । पाँचथर-ताप्लेजुङ र सिक्किम सिमावर्ती क्षेत्रमा रहेको छ, तिम्बुङपोखरी । जुन पूर्वकै प्रशिद्ध तीर्थस्थलको रूपमा चर्चित छ ।

सिजनमा यहाँ नगन्य तीर्थयात्री आउने गर्छन् । जेठदेखि सुरु हुने तिम्बुङ तीर्थयात्राको सिजन साउन अन्तिमसम्म चल्छ ।
विश्वमै दुर्लभ रेडपाण्डाको बासस्थान सुन्दर प्राकृतिक छटाले सजिएको सिमा क्षेत्र दुर्लभ तथा लोपोन्मुख जङ्गली जीवजन्तुको बासस्थान पनि हो ।

उक्त क्षेत्रमा विश्वमै दुर्लभ रेडपान्डा (हाब्रे) पाइन्छ । रेडपान्डा नेटवर्कले स्थानीय साझेदार संस्थाहरूसँगको सहकार्यमा रेडपाण्डा संरक्षण अभियान चलाएको छ । पाँचथर, इलाम र ताप्लेजुङको उच्च पहाडी क्षेत्रलाई समेटी पिट करिडोर बनाएर संरक्षणको काम गरिएको करिडोरमा एक सयभन्दा बढी रेडपान्डा रहेको बताइन्छ । रेडपाण्डाको गणना गर्न राखिएको क्यामेरा ट्रयापिङमा दुर्लभ पाटे बाघसमेत भेटिएको थियो ।

जोरपोखरी 

सिंह र सिद्ध गरी दुईवटा पोखरी आमने सामने रहेकाले यी पोखरीलाई जोरपोखरी भनिएको हो । पछिल्लो समयमा सिंह पोखरीलाई भाले र सिद्धलाई पोथी भनेर वोलचालको भाषामा प्रयोग गर्न थालिएको छ । नेपाल सरकारले पर्यटकीय प्रबल सम्भावना भएका १०० स्थानहरूको पहिचान गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने कार्यक्रम अघि बढाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तव्यहरूमा परेपछि जोर पोखरीको चर्चा थप चुलिएको हो ।

झापाको विर्तामोडवाट इलाम, फिदिम हुँदै ताप्लेजुङ जोड्ने मेची राजमार्गले छोएका कारण यहाँ सहजै पुग्न सकिन्छ । हरेक वर्षको श्रावण १ गतेदेखि लगभग २ घण्टाको दुरीमा रहेको तमोर नदीबाट जल ल्याई शिवजीलाई चढाउने गरिन्छ । त्यसको लागि सबै गाउँपालिकाका इच्छुक व्यक्तिहरूलाई समावेश गर्ने गरी तालिका बनाई पानी ल्याउने र शिवलिङ्गमा चढाउने प्रचलन रहेको छ ।

यहाँका स्थानीयहरू आफूले तमोरबाट पानी ल्याई उक्त शिवालय मन्दिरमा चढाउन पाउँदा पुण्य प्राप्ति गरेको महशुस गर्दछन् । यो क्रम श्रावण महिनाभर चल्ने गर्दछ ।ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थल जोरपोखरीमा विभिन्न समयमा योगी तथा तपस्वीहरूले ध्यान जप गरेर सिद्ध प्राप्त गरेको एवम् यहाँ आएर तपस्या गरेकोले यस स्थानलाई सिद्ध स्थल मानिन्छ ।

याङ्वरक 

याङ्वरक उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका-४, थुर्पमा अवस्थित महत्त्वपूर्ण मुन्धुमी स्थल हो । याक्थुङ (लिम्बू) जातिले ‘युमारु’लाई आराध्यदेवीको रूपमा पुज्छन् । सर्वशक्तिमान्, निराकार देवीको रूपमा पुकार्छन् । उनै युमारु कहिले तरुणवयमा त कहिले बृद्धा स्त्रीमानवको रूप लिएर विभिन्न स्थानहरूमा प्रकट भई मानवजातिलाई ज्ञान, सिप, बुद्धि, विवेक दिएको प्रशंग मुन्धुममा वर्णित छ ।

मुन्धुममा वर्णन गरिए अनुसार युमारु डाँडापाखा, रनवन र पहाडपर्वतहरूमा घुम्दै आउँदा अहिलेको याङवरकमा आइपुगिन् । यस ठाउँमा पुगेपछि आफ्नो थुन्चे बिसाएर एकछिन सुस्ताइन् । र, यहाँको दबदबे हिलो सहितको पानीमा पैशा (सिक्का) हालिन् र अलप भइन् । त्यसैले यस ठाउँलाई याङवरक भनिएको हो । याक्थुङ (लिम्बू) भाषामा ‘याङ’ को अर्थ ‘पैशा’ र ‘वरक’ को अर्थ ‘पोखरी’ भन्ने हुन्छ ।

यहाँ निशानथान पनि छ । हरेक बर्ष बडादशैँको महानवमीको दिन यहाँ ठूलो मेला लाग्छ । निशान मेलाको नामले परिचित उक्त मेलामा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले लिम्बुवानलाई दिएका ‘श्रीजंगी’ र ‘श्रीकंफु’ नामका दुई निशान नचाइन्छ । याङ्वरकका सुब्बाहरूले २४९ वर्षदेखि उक्त निशान नचाउँदै आएका छन् । निशान हेर्न बडादशैँको महानवमीको दिन यहाँ दशौँ हजार मानिस जम्मा हुन्छन् ।

गुप्तेश्वर महादेव 

पाँचथरको याङ्वरक गाउँपालिकामा अवस्थित गुप्तेश्वर महादेवको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । पूर्वी पहाडका दर्शनार्थीले गुप्तेश्वर महादेवको दर्शनबाट मन शान्ति, धन र सन्तान प्राप्ति हुने विश्वास गर्दछन् । गुप्तेश्वर महादेव स्थानमा गुफाभित्र गोरुको स्वरूपका महादेव रहेको विश्वास गरिन्छ ।

निरन्तर पानी बगिरहने यो गुफाभित्र विभिन्न देवाकृतिहरू देख्न सकिन्छ । महादेव गुफाभित्र रहेको विश्वासका कारण यस स्थानलाई गुप्तेश्वर महादेव स्थान भन्ने गरिएको छ ।

उक्त स्थानमा वि.सं.। १९६५ सालतिर मन्दिर निर्माण भएको स्थानीयवासी बताउँछन् । उक्त स्थानमा इन्द्रावती मेला लाग्ने गरेको छ भने बालाचतुर्दशीका दिन सद्बिज छर्नेको घुइँचो हुन्छ । यहाँ निर्माण भएको मन्दिर पनि निकै आकर्षक र पृथक छ । कालो दाल पिसेर भिजाई सिमेन्टका रूपमा प्रयोग गरिएका कारण मन्दिरको संरचना दर्विलो रहेको छ ।

गुफाभित्र ढुङ्गाको दियो छ । गुफा करिब १५ मिटर लामो छ । कतिपयले यस स्थानमा नाग पनि भेटेका छन् भने कतिपय बेलुकीको समयमा गाई हिँड्डुल गरेको आवाज सुन्ने गरेको बताउँछन् ।

सुकेपोखरी

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को प्रचारका केही कार्यक्रम अघि सारिरहँदा सुकेपोखरी एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हुने निश्चित छ । लेकाली भुवनोट र भौगोलिक विशिष्टता सुकेपोखरीको प्रमुख आकर्षण हो ।

यस क्षेत्रमा सुकेपोखरीलगायत लोकहिल, नागढुङ्गा, महादेव गुफा, कुहिभीर जस्ता घुम्नका लागि उपयुक्त ठाँउहरू आसपासमा छन् । सुकेपोखरी क्षेत्रमा मौसमअनुसार दृश्य फरक हुन्छ । हिउँदमा हिमालसँगै खुल्ने सुकेपोखरीबाट आँखा अघि हिमाल देखिन्छ । वर्षा याममा शितल यो ठाँउ थुम्काथुम्की डाँडासँग पनि उत्तिकै सुरम्य देखिन्छ ।

गुराँसको सिजनामा विभिन्न प्रजातीका गुराँस फुल्छन् । सिजनमा टम्म हिँउ पर्छ। लेकाली जनजीवन आकर्षक छ। जङ्गल सफारीका लागि उपयुक्त थालो हो । छर्लङ उघ्रिएको आकाश, हरिया लोभलाग्दा डाँडाहरूसँग लुकामारी खेल्दै उठेको भुइकुहिरोले बनाएको आकर्षक दृश्य देखिन्छ ।

मेची राजमार्गको पौवाभञ्याङ छाडेपछि कच्ची बाटो हुँदै यहाँ पुगिन्छ।  पदयात्रा गर्न उक्तम हुन्छ । एक घण्टाको बाटो । फराकिला चउरा, साना बोटहरू बढो रमाइलो दृश्य छ। पदमार्गको विकास गरिएको छ ।

लब्रेकुटी र सिलौटी 

लब्रेकुटी र सिलौटी क्षेत्र प्राकृतिक र धार्मिक रूपमा चिरपरिचित छ । त्यही क्षेत्रलाई किरात धर्मको प्रमुख केन्द्र बनाउन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहले धेरै योजनाहरू सञ्चालन गर्दै आएका छन् । धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको लब्रेकुटी र सिलौटीमा प्राकृतिक सुन्दरताले सजिएको छ ।

पाँचथर जिल्लाको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाको सीमानामा पर्ने लब्रेकुटी र सिलौटी राष्ट्रिय विभुती महागुरु फल्गुनन्दको तपोभूमी, कर्मभूमी र समाधी स्थलको रूपमा पनि चिन्ने गरिन्छ । करिब तीन हजार रोपनी क्षेत्रमा फैलिएको लब्रेकुटी र सिलौटी शान्त र रमणीय स्थलका रूपमा परिचित छ ।

त्यस स्थानमा सडक, पार्क, भवन, कटेज, भ्यूप्वाइन्ट, गार्डेन, पदमार्ग र पोखरी निर्माण भइरहेको छ । लब्रेकुटी सिलौटी क्षेत्रमा वन्यजन्तु, जडीबुट्टी पाइनुको साथै त्यहाँबाट रमणीय हिमश्रृंखला प्रयाप्त देख्न सकिन्छ ।

समुद्र सतहबाट दुई हजार सात सय मिटर उचाइमा लब्रेकुटी र सिलौटी पर्दछ । यो मेची राजमार्ग नजीकै पर्ने भएको हुँदा आगन्तुकलाई आउन सहज पनि छ ।
र पुगिन्छ ।

सुम्हात्लुङ

पाँचथर सदरमुकाम फिदिम बजार नजीकै रहेको सुम्हात्लुङ मुन्धुमी स्थल मात्र नभएर लिम्बुवान नामकरणसँग जोडिएको महत्त्वपूर्ण ऐतिहासिकस्थल पनि हो । सुम्हात्लुङलाई मुन्धुमी भाषामा ‘सुम्जिरी सुम्हात्लुङ’ भन्ने गरिन्छ । सुम्हात्लुङको प्रशंग याक्थुङ (लिम्बू) समुदायले गर्ने सबैभन्दा ठूलो सामूहिक अनुष्ठान तङ्सिङ तक्मा गर्दा आउँछ ।

याक्थुङ (लिम्बू) अन्तर्गत पापोहाङभित्रका सात थरीहरू तुम्बापो, तुम्रोक, शेर्मा, आङदेम्बे, लाओती, इङ्वाबा, कुगेनाम्बाले आफ्नो माङ्गेन्ना यक (उत्पतीस्थल) को रूपमा सुम्हात्लुङलाई पुज्दछन् । याक्थुङ (लिम्बू) समाजमा व्यक्तिको नाममा गरिने सबैभन्दा ठूलो अनुष्ठान माङ्गेन्ना (शीर उठाउनी) गर्दा यी थरीहरूले सुम्हात्लुङको नाम दिनैपर्छ । अन्य धेरै आख्यानहरूमा समेत सुम्हात्लुङको प्रशंग आउँछ ।

इतिहास अनुसार ईशाको छैठौं, सातौं शताब्दीताका हालको पूर्वी नेपालमा पेदाप राज्य अस्तित्वमा थियो । फेदाप राज्यमा येत्हाङ (आठ राजा) हरूले शासन गर्थे । शासनसत्ता सञ्चालनको क्रममा उनीहरू निरङ्कुश बन्दै गए । येत्हाङहरूको निरङ्कुशता विरुद्ध यहिं सुम्हात्लुङमा चुम्लुङ (बैठक) बसेर दश सरदारहरूले युद्ध छेड्ने उद्घोष गरेका थिए । तनतीर तीनठाउँ तीन वटा आँपको रूख रोपे ।

तीन चुल्हो ढुङ्गा गाडेर देवस्थल स्थापना गरे । वल र शक्ति माँगे । प्रजाप्रति अनुदार निर्दयी र क्रुर येत्हाङहरूलाई परास्त नगरी कोहि पनि रणसंग्रामबाट नफर्किने कसम खाए । अन्ततः उनीहरूले विजय प्राप्त गरे ।

त्यसपछि फेरि यहिं सुम्हात्लुङमा चुम्लुङ बसेर धनुकाणको मद्धतले  विजय प्राप्त गरेको देशलाई (लिरु आबुआङ् मिङ् वान्दु) ‘लिम्बुवान’ नामकरण गरेको इतिहास छ ।मुन्धुमिक तथा ऐतिहासिक महत्त्वको सुम्हात्लुङलाई मुन्धुम तथा इतिहासको अध्ययन केन्द्रको रूपमा बिकास गर्न सकिन्छ ।

हिलिहाङ दरबार 

नेपाल एकीकरणको क्रममा वल्लो किरात र माझ किरातलाई कब्जामा लिएपछि गोरखाली फौज अरुणखोला तरेर तत्कालीन विजयपुर राज्य अन्तर्गतको पल्लो किरात प्रवेश गरे । नेपाल एकीकरण हुनुपूर्व यस क्षेत्रमा थुप्रै राजा रजौटाहरू थिए ।

भनिन्छ, प्रत्येक थुम्का(थुम्कामा छुट्टाछुट्टै राज्यहरू थिए । तीमध्ये हिलिहाङ योङहाङ याङ्वरक थुमका शक्तिशाली राजा थिए । उनले १८१४ देखि १८४४ सालसम्म ३० वर्ष शासन गरेका थिए ।

गोरखाली फौजले पूर्वी क्षेत्रका स(साना राज्यमाथि आक्रमण गर्दै याङ्वरक थुमको हस्तपुरगढीमा पुग्दा राजा हिलिहाङसँग १७ औँ पटकसम्म युद्ध गर्दा पनि हारजित नभएपछि लिम्बुवानलाई स्वायत्त अधिकार दिने गरी गोरखा(लिम्बुवानबीच सम्झौता भएको इतिहास छ ।

सम्झौतामा हिलिहाङ योङहाङ र उनका सन्ततिले हस्तपुर याङ्वरक (यक) मा शासन गर्न पाउने, शाह वंशीय राजालाई दाजु र लिम्बुवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने लगायतका बुँदाहरूमा सहमति गरिएको थियो ।

धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको हिलिहाङ दरबार समुन्द्र सतहबाट करिब १ हजार ९ सय मिटर उचाइमा अवस्थित छ । दरबार करिब १३ सय रोपनीको क्षेत्रफल फैलिएको छ ।

पुरातात्त्विक सम्पदाहरूको भग्नावशेष संरक्षण, जीर्णोद्धार, दरबार क्षेत्र पुग्ने कच्ची सडकसँगै हिलिहाङ खेलमैदान र राजाको शालिक निर्माण भएका छन् ।

हिलिहाङ दरबार परिसरबाट कञ्चनजङ्घा, कुम्भकर्ण हिमाल र पाथीभरा मन्दिर लगायत पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका थुप्रै रमणीय स्थलको दृश्यावलोकन पनि गर्न सकिन्छ । मेची राजमार्ग अन्तर्गत पाँचथरको सदरमुकाम फिदिम हुँदै ताप्लेजुङ जाने गाडी चढेर नाङ्गीको हिलिहाङ चोकमा उत्रे पछि करिब आधा घण्टाको पैदल यात्रा हिँडेर हिलिहाङ दरबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै