• वि.सं २०८२, कात्तिक १ शनिबार
  • Saturday, 18 October, 2025
  • युनिकोड
  • Live

मानसरोवर कैलाश दर्शन गर्ने पर्यटकको सङ्ख्या छ हजारभन्दा बढी

हुम्ला। यसवर्ष हुम्ला जिल्लाको सिमकोटबाट हिुल्सा हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय र अन्य देशका पर्यटकहरुको सङ्ख्या छ हजार कटेको छ । चिनीयाँ सरकारले हिल्सा नाका भारतीय धार्मिक पर्यटकहरुका लागि खुल्ला गरिपछि कोरोना यताको सबैभन्दा बढी पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेका हुन् ।

यसवर्ष मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरुको सङ्ख्या छ हजार ४२ जना पुगेको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए । जसमध्य पाँच हजार ७१७ जना भारतीय र ३२५ जना अन्य देशका पर्यटक रहेको उनले बताए । मानसरोवर कैलाश पुग्ने पर्यटकमा तीन हजार ३३४ जना पुरुष र दुई हजार ७०८ जना महिला पर्यटक जिल्लामा भित्रिएका छन् । पर्यटकहरु भित्रिने सयम अझै बाँकी नै भएका कारण यो सङ्ख्यामा अझै वृद्धि हुने देखिएको छ ।

एक दिनमा १६४ उडान

पर्यटकहरु भित्रिन थालेपछि एक दिनमा १६४ वटा उडान भएको नागरिक उड्यायन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहले बताए । यसमा हवाई जहाजले नेपालगन्जबाट पर्यटक ओसार्ने कार्य गर्छ भने सिमकोट विमानस्थलबाट हिल्साका लागि हेलिकोप्टरहरुले उडान भर्ने गर्छ । यसका लागि सिताका दुई वटा, ताराका दुई वटा र समिट एयरका तीन वटा जहाज उडान भर्ने गर्ने छ भने ६ वटा हेलिकोप्टर हिल्साका लागि उडान भर्ने गर्छ ।

मौसम सफा भएमा बिहान ६ देखि ७ बजेबाट उडान भर्न सुरु हुने गरेको छ । यदि मौसम ढिलो खुल्दा दिउँसो १२ बजेपछि मात्र उडान हुने गर्छ ।

१७ वटा होटेलले काम पाए

पर्यटकको धेरै आउन थालेपछि यतिखेर हिल्सा र सिमकोटक होटल भरिभराउन हुन थालेको पर्यटन व्यवसायी मिनबहादुर तामाङले बताए । यस क्षेत्रका होटेलहरु मौसमी रुपमा चल्ने गर्छन । यो सिजनको कमाईले वर्षभरि धान्नुपर्ने अवस्था होटेल व्यवसायीलाई रहेको छ । सिमकोटमा दस र हिल्सामा सात वटा होटेल सञ्चालनमा छन् ।

भरियालाई पनि फाइदा

पर्यटकीय मौसम सुरु भएपछि सिमकोट र हिल्सामा भरियाहरुलाई पनि फाइदा भएको सिमकोट विमानसस्थलमा भारी बोक्ने कार्य गर्दै आउनुभएका हंसे नेपालीले बताए । यसरी भारी बोकेर कमाई गर्ने भरियाहरु दुवै स्थानमा गरी ५० भन्दा बढी रहेका छन् । सिमकोट विमानस्थलबाट होटेलसम्म एउटा झोला बोकेको भरियाले ५० रुपियाँ र हिल्सामा हेलिप्याडबाट दुई देशको सिमानासम्म प्रति झोला डेढ सय रुपियाँ भाडा लिने गर्दै आएका छन् ।

हुम्लाको तरकारी बिक्री

हुम्लामै उत्पादन भएको तरकारीले पनि बजार पाउन कठिन नभएको तरकारी उत्पादन गर्ने किसान रुपेन्द्र रोकायाले बताए। गत वर्षसम्म यतिधेरै पर्यटकहरु नआएका कारण उत्पादन भएको तरकारीले बजार नपाएको अनुभव सुनाउँदै उनले यो वर्ष समस्या भोग्नु नपरेको बताए। पहिले जिल्लामा तरकारी उत्पादन नहुने भएका कारण पर्यटकीय सिजनमा होटेल व्यवसायीले तरकारी हवाई मार्गबाट नेपालगन्ज र सुर्खेतबाट ल्याउनुपर्ने अवस्था रहेकोमा अब भने जिल्ला मै किसानले उत्पादन गर्न सुरु गरेपछि यसले बजार पाउन पनि सहज भएको उनले बताए ।

                                                                                                             राजन रावत 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै