कांग्रेस एकताका लागि नैनसिंह महरको नयाँ अभियान, साउन २० मा राष्ट्रिय भेला

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो मतभेद अन्त्य गर्दै संगठनलाई सुदृढ बनाउन ‘देश र कांग्रेस जोड्ने अभियान’ सुरु गर्ने घोषणा गरेका छन् । अभियानअन्तर्गत साउन २० गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी उनले दिएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा महरले पार्टी आन्तरिक विवादका कारण कमजोर बन्दै गएको र जनताका मुद्दा ओझेलमा परेको टिप्पणी गरे । यस्तो अवस्थामा कांग्रेसलाई पुनः एकताबद्ध बनाउने उद्देश्यले दबाबमूलक अभियान अघि बढाइएको उनको भनाइ थियो ।

उनले वर्तमान राजनीतिक परिस्थितिमा प्रमुख प्रतिपक्षी दल आफ्नै आन्तरिक विवादमा अल्झिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै राष्ट्रिय मुद्दामा प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम र एकताबद्ध कांग्रेस आवश्यक रहेको बताए ।

महरले सुनसरीबाट सुरु भएर मधेस प्रदेशका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै हिंसामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरे । साथै घाइतेको उपचार र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

उनका अनुसार साउन २० गते बिहान ११ बजे काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने राष्ट्रिय भेलामा देशभरका स्थानीय तह, प्रदेश तथा संघीय निर्वाचन क्षेत्रका प्रतिनिधि, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका करिब दुई हजार सहभागी रहने अपेक्षा गरिएको छ ।

अभियान कुनै व्यक्ति वा गुटको स्वार्थका लागि नभई कांग्रेसलाई जनतासँग पुनः जोड्ने उद्देश्यले सुरु गरिएको महरले स्पष्ट पारे । देशभित्र देखिएका विभिन्न चुनौती र विभाजनकारी गतिविधिप्रति सजग रहँदै राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य–मान्यता र कांग्रेसको संस्थागत सुदृढीकरण अभियानको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

अभियानले कांग्रेसको १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन अनुशासन समिति, निर्वाचन समिति तथा सदस्यता छानबिन समितिलगायत महत्त्वपूर्ण निकायमा सबै पक्षको सहमतिपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

महरले पार्टी नेतृत्वलाई व्यक्तिगत अहम् त्यागेर एकताका लागि अग्रसर हुन आग्रह गर्दै आवश्यक परे आफूहरू केन्द्रीय सदस्यको पदसमेत त्याग्न तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा नेता रञ्जित कर्णसहित नेपाली विद्यार्थी संघका पूर्वउपसभापति पुष्पकमुमार शाही लगायतका अन्य नेताहरूको पनि उपस्थिति रहेको थियो । अभियानले राष्ट्रिय भेलापछि देशव्यापी हस्ताक्षर अभियान तथा थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै