काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति तथा जीवनपद्धतिको संरक्षण र उनीहरूले भोगिरहेका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज नेपालसहित विश्वभर विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ डिसेम्बर २३ मा हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मै भएकाले यही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन् । विश्वमा बोलिने अनुमानित सात हजार भाषामध्ये ठूलो हिस्सा आदिवासी समुदायले बोल्ने गर्छन् भने उनीहरूले करिब पाँच हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन् ।
आदिवासी जनजाति समुदायले आफ्ना विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी परम्परागत ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन् । उनीहरूको सामाजिक, सांस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
पहिचान, परम्परागत जीवनपद्धति, पुर्ख्यौली भूमि, क्षेत्र तथा प्राकृतिक स्रोतसाधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन् । इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र अहिले पनि उनीहरू विश्वका पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ ।
आदिवासी जनजातिको अधिकार संरक्षण तथा उनीहरूको विशिष्ट संस्कृति र जीवनपद्धतिको निरन्तरताका लागि विशेष उपाय आवश्यक रहेको अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्दै आएको छ । दिवसका अवसरमा आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति, परम्परागत ज्ञान, प्राकृतिक स्रोतसँगको सम्बन्ध तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न जोड दिइन्छ ।
विश्व आदिवासी दिवसले आदिवासी जनजातिले विश्व समुदायमा पुर्याएको योगदान र उनीहरूले भोगिरहेका चुनौतीप्रति ध्यानाकर्षण गराउँदै उनीहरूको अधिकार, पहिचान र सम्मान सुनिश्चित गर्न सरकार, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई थप प्रतिबद्ध हुन आह्वान गर्ने अवसर प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







