काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माक्र्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताएका छन् । एक सय ३१ औँ ‘माओ दिवस’का सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौतिका रुपमा रहेको उल्लेख गरे ।
अध्यक्ष दाहालले विकसित परिस्थितिको जगमा विचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति माओको जीवनकालको जस्तो छैन, माओपछि विश्व परिस्थितिमा निकै ठूलो फेरबदल आएको छ, साम्राज्यवादले नयाँनयाँ रणनीति र कार्यनीतिसहित आफूलाई टिकाइरहेको छ, हामी माक्र्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई जसरी रूपान्तरण गर्नुपथ्र्यो त्यो गर्न सकिरहेका छैनौँ, आजको मुख्य चुनौती यही हो ।”
माओको स्मरण गर्नुको अर्थ विचार र क्रान्तिलाई मौलिक ढङ्गले सोच्नु रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले माक्र्सवादीले यान्त्रिकता वा अन्धानुकरणमा जानु उपयुक्त नहुने विचार व्यक्त गरे । माओवादीको आठौँ महाधिवेशनले संश्लेषण गरेको कार्यदिशा पनि यही नै रहेको उनको भनाइ छ ।
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिँदै त्यसका लागि आफ्नो नेतृत्वको वर्तमान सरकार क्रियाशील रहेको बताए । उनले भने, “सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई उच्च प्राथमिकता दिएको छ, यसको अर्थ समाजवादको आधार तयार पार्नु हो । त्यसकै आधारमा अगाडि बढ्छौँ ।”
पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को समापनलगत्तै नयाँ अभियानको थालनी गरिने जनाउँदै अध्यक्ष दाहालले भने, “चार महिने अभियान पुस १६ गते समापन हुँदैछ, त्यसपछि हामी विचारको छलफल र अन्तरक्रियाका लागि जनतामा नै जान्छौँ, त्यसका लागि विचार केन्द्रित अर्को अभियान सुरू गर्छौं ।”
आजभन्दा १३१ वर्ष अघि चीनमा माओको जन्म भएको थियो । माओको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष दाहालललगायत नेताले माओको तस्वीरमा माल्यापर्ण गर्नुभएको थियो । सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






