Dark

मनमोहक हिमाल र गुरुङ जीवनशैलीको संगम- ‘क्रपुडाँडा’

हाम्रो ताङतिङ गाउँ आन्तरिक पर्यटन केन्द्र बन्दै गएको छ। यहाँबाट देखिने हिमाल र गुरुङ जीवनशैलीले मोहित बनाउँछ । गाउँमा चहलपहल बढ्दै जाँदा ताङतिङको शिर ‘क्रपुडाँडा’मा पनि भिड लाग्न थालेको छ ।  

हिउँ खेल्न पोखराबाट नजिकैको गन्तव्य हो क्रपु (२,९४० मिटर)। सधैं हिमालसँग आँखा जुधाउँछ क्रपु । डाँडामा पुग्नेहरू फर्किन मान्दैनन् । क्रपुले  मोहनी जालमा बाँधिराख्छ। क्रपुको नाम गुरुङ भाषाबाट रहन गएको हो भन्ने जनश्रुति छ । ‘क्र’ भनेको गुरुङ भाषामा ‘टाउको’ हो । अग्लो उच्च भागमा रहेको हुनाले तथा ‘क्र’ टाउको जस्तै शिरमा रहेको हुनाले यो ठाउँको नाम क्रपु रहन गएको हो ।

क्रपुडाँडा

डाँडाबाट लमजुङ र कास्कीका धेरै गामबेसी देखिन्छन् । राती बिजुलीको उज्यालोमा खुलेको पोखरा झलमल्ल देखिन्छ । बिहानै सूर्योदय हेर्न पाइन्छ । एकै ठाउँमा उभिएर अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे, लमजुङ हिमाल, मनास्लु  हिमाललगायत दर्जनौ हिउँचुलीसँग पिरती गाँस्न पाइन्छ । 

क्रबुमा वर्षैभरि घुम्न सकिन्छ। बर्खामा भुईंफूल, असोज–कात्तिकमा छर्लङ्ग  हिमाल, मंसिरदेखि फागुनसम्म हिउँ तथा हिमाल र चैतबैशाखमा लालीगुराँसको सौन्दर्यमा गम्किन्छ क्रपुडाँडा ।  

लालीगुराँसको वैंशमा रमाउन पनि पाइन्छ । गुराँसको घारी बिचमा छ, क्रपु ।  लेकाली खर्कहरू, चराचुरुङ्गीको चिरबिरले बर्डवाचिङ टुरिजमको सम्भावना उजागर गरेको छ ।

अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः आइरहने हिउँ पहिरो हेर्नलाई पनि क्रपुडाँडा पुग्नु पर्छ । पुसदेखि फागुनसम्म ताङतिङ मास्तिर बाक्लो हिमपात हुन्छ । त्यतिबेला हिउँ खेल्न पोखरा र आसपासबाट सयौं युवा आउँछन् । 

क्रपुमा पुग्दा तन र मनमा ऊर्जा मिल्छ । व्यस्त दैनिकीबाट ह्याङ्आउट हुने सुन्दर गन्तव्य हो, क्रपुडाँडा । डाँडा नजिकै धर्मशाला छ । क्रपुबाट १० मिनेट पदयात्रामा कुत्मीडाँडा (३,०९० मिटर) पुगिन्छ । 

कुत्मीडाँडा नेचुरल भ्यूटावर हो । कास्कीको मादी गाउँपालिका–२ ताङतिङ गाउँको शिरमा रेहेको क्रपु स्वर्गको टुक्रै हो । यो लमजुङ र कास्कीको सीमामा पर्दछ । 

पर्यटकीय गाउँ ताङतिङ(१,६६५ मिटर), प्राकृतिक तथा ऐतिहासिकस्थल नौचुडाँडा (२,०४७ मिटर), नौलाचे (२,२०० मिटर) हुँदै क्रपुमा पुगिन्छ । क्रपु जाने बाटोमा आँखा अगाडि हिमाल, लालीगुराँसको घारी तथा हरियाली बाक्लो जंगलको स्वाद लिन सकिन्छ । 

यात्रामा चराचुरुङ्गीको चिरबिर, जंगली जनावरको आवाज मज्जाले सुन्न पाइन्छ । घना वनजंगल, चिसो हावापानी, हिमालसँगको सामिप्यता, सुन्दर गुरुङ गाउँ यात्राको विशेषता हुन् । 

जब ताङतिङ पुगिन्छ, तब मन फुरुङ्ग हुन्छ । मनमा उत्साहको दियो बल्छ । क्रपुमा पुगेपछि त झन् नाचुँनाचुँ लाग्छ । 

क्रपुडाँडा लमजुङ र कास्कीको ट्रान्जिट पनि हो । लमजुङ र मनाङ पदयात्रा, तमुहरूको आदिम थलो क्हाेंलासोथर र दूधपोखरी जानलाई पनि क्रपुडाँडाको बाटो प्रयोग गर्न सकिन्छ । 

पोखराबाट ताङतिङ, क्रपु, चोरोडाँडा (३,३०० मिटर) हुँदै खोला क्लि ताङतिङ पदमार्ग, ताङतिङ, क्रपुडाँडा याङ्जाकोट पदमार्ग तथा क्रपुडाँडाबाट लमजुङका सुन्दर गाउँहरु सिङ्दी, पसगाउँ, भुजुङ घनपोखरा घलेगाउँ हुँदै बेसीसहर पुग्न सकिन्छ ।

कास्कीको याङ्जाकोट, भाचोक, वार्चोक तथा लमजुङको सिङ्दीबाट पनि पदयात्रामा क्रपु पुग्न सकिन्छ । 

ताङतिङ चम्किसक्यो । छोटो समयमै ताङतिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन हामी सफल भएका छौं । अब क्रपुुलाई चम्काउँदैछौं । मादी गाउँपालिकाको सहयोगमा क्रपुडाँडामा पर्यटन पूर्वाधार विकासका काम हुँदैछ । 

ताङतिङमा १४ वटा होमस्टे र ७ वटा होटल सञ्चालनमा छन् । विशेष गरेर शुक्रबार र शनिबार आन्तरिक पर्यटक खचाखच हुन्छन् । क्रपुडाँडामा पनि खाना र बासका लागि टेन्ट सुविधासहितका ३ वटा होटल खुलिसके ।  

पर्यटकीय राजधानी पोखरा नजिकैको ताङतिङ र क्रपुडाँडा घुम्न सबैलाई चुल्हे निम्तो छ है !

कसरी पुग्ने ?
पोखराको काहुँखोलाबाट ताङतिङसम्म सार्बजनिक बस तथा जीप चल्छन्। २१ किलोमिटर कच्ची सडकमा अढाई घण्टा बस यात्रा वा डेढ घन्टा जीप यात्रा। मोटरबाइक गाउँमै पुग्छ । ताङतिङबाट हिँडेर क्रपुडाँडा पुग्न ४ घन्टा, जीप वा बाइकमा १ घण्टा लाग्छ । 

(प्रकाश गुरुङ्ग, हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक एवं पर्यटन अभियन्ता गुरुङ ‘ताङतिङ मेरो गाउँ’ पुस्तकका लेखक हुन्।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै