Dark

काठमाडौंबाट सबैभन्दा नजिकको ट्रेकिङ गन्तव्य ‘फिकुरी’

नुवाकोट जिल्ला ऐतिहासिक, प्राकृतिक, धार्मिक एवम सांस्कृतिक पर्यटनको हिसाबले महत्वपूर्ण छ । यस जिल्लामा विभिन्न ऐतिहासिक तथा धार्मिक सम्पदाहरु रहेका छन् । प्राकृतिक सुन्दरताको खानी नै भन्दा अत्युक्ति नहोला । नुवाकोटमा धेरै पर्यटकीय गन्तव्यहरु छन् । जिल्लाको किस्पाङ गाउँपालिकामा अवस्थित फिकुरी डाँडा भने अझै गुमनाम जस्तै छ । धार्मिक एवम सांस्कृतिक पर्यटनको सम्भावना बोकेको फिकुरी डाँडा प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ ।

करिब ३८०० मिटरको उचाइमा रहेको फिकुरी डाँडाबाट दुधजस्ता हिमालको दन्तै लहर देखिन्छ । लाङटाङ, गणेश, दोर्जेलाक्पा, मनास्लु, अन्नपूर्ण र तिब्बती हिमसृङखला आँखैमा टाँसिन आइपुग्छन् । आकाश उघ्रिएका बेला डाँडाबाट काठमाडौं उपत्यका, गोसाईंकुण्ड र त्रिशुली बजार छयाङ्गै देखिन्छ ।

हिमालय दर्शनका लागि आकर्षक फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा समेत जोडिन सकिन्छ । फिकुरी काठमाडौंबाट सबैभन्दा नजिकको नयाँ ट्रेकिङ गन्तव्य हो । छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि यो उपयुक्त ट्रेक हो ।

त्यस क्षेत्रमा तामाङ समुदायको बसोवास रहेकोले सो समुदायको भाषाबाट नै डाँडाको नामाकरण भएको पाइन्छ । तामाङ शब्द ‘फिक्युबा’को नेपालीमा अर्थ हुन्छ–धनीडाँडा । पहिलापहिला फिकुरीलाई फिक्युबा भनिन्थ्यो । समयक्रममा अपभ्रंस हुँदै जाँदा ‘फिकुरी’ भन्न थालियो । ईश्वरको आशिर्वाद पाएको फिकुरी प्राकृतिक सौन्दर्यको मुहान हो । जैविक विविधताको भण्डार पनि । पुर्खाले ठिकै नाम दिएछन्–धनीडाँडा भनेर

डाँडामा बसेर घन्टौंसम्म हिमालसँग लुकामारी खेलिरहुँ झैं लाग्छ । सिरसिरे बतासमा फनफनी नाचुँनाचुँ झैं लाग्छ । सूर्योदय र सूर्यास्तका बेलामा त आकाशमा उडिरहेका चराको पृष्ठभूमिमा सिन्दुरे हिमालको दृश्य,अहँ शब्दमा वर्णन गर्नै सकिन्न ।

बौद्ध मन्त्र लेखिएका झण्डाहरू (लुङ्दार र दर्जु)ले डाँडा रंगीन देखिन्छ । धार्मिक हिसाबले समेत फिकुरीको ठूलो महत्व छ । हिन्दू र बौद्धमार्गीको साझा तिर्थ हो फिकुरी । डाँडामा भगवान बुद्ध र महादेव बसेका छन् । त्यहाँ बौद्ध माने र महादेव मन्दिर छन् । डाँडामा जनैपूर्णिमाका दिन ठूलो मेला लाग्छ । मेलामा लामा, झाँक्री र तिर्थालुको भिड हुन्छ । ढ्याँग्रो ठोक्दै झाँक्रीहरू भगवानको अर्चना गर्छन् ।

कसरी पुग्ने ?

काठमाडौं–टोखा–त्रिशुली–५४ किमि रहेको छ । त्रिशुली–मानेगाउँ ७ किमि गरी जम्मा ६१ किमि बस यात्रामा ५ घन्टा सम्म लाग्छ । पहिलो दिनमा मानेगाउँमा वास बस्न पुग्छ । मानेगाउँबाट ६ घन्टा पदयात्रामा भाल्चे पुग्छ र दोस्रो बास भाल्चेमा हुन्छ । भाल्चेबाट ८ घन्टा उकालोमा फिकुरीडाँडामा पुग्न सकिन्छ । तेस्रो बास फिकुरीमै हुन्छ । मानेगाउँ र भाल्चेमा होमस्टे सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै